सँगै बाच्न नपाएपछि झापामा प्रेमी प्रेमिका एउटै रुखमा झुन्डिए 



भद्रपुर। 

झापाको दक्षिणी क्षेत्र कचनकवलमा प्रेमी प्रेमिका एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

कचनकवल– ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुवै जनाले आत्महत्या गरेको पाइएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डिएसपी पाठकले बताउनुभयो । प्रेम सम्बन्ध हो कि भन्ने अनुमान लगाइएको उहाँले जनाउनुभयो ।

मृतक राजेशका मामा रघु गणेशका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाउनुभएको छ ।
करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुले  बताउनुभयो । केटीको बुबाले डेढ वर्ष अघि जिल्ला प्रहरीमा केटाविरुद्ध जबरजस्ती करणी मुद्दा हालेका थिए । मुद्दापछि प्रहरीले दुवैजनालाइ नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनापछि केटालाई प्रहरीले पुर्पक्षका लागि थुनमा राखेको थियो भने केटीलाई परिवारको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

प्रहरीमा मुद्दा परेपछि नेपाली काङ्ग्रेसका नेता एवं  वर्तमान प्रदेश सभा सदस्य भूमिप्रसाद राजवंशीको रोहवरमा केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको उहाँले बताउनुभयो । मुद्दा पश्चात् दुवै जना आ–आफ्नै घरमा बस्दै आइरेको उहाँले जानकारी दिनुभयो ।

हाल मृतक र भाइ कुखुरा फारम गर्दै आइरहेकोमा  मङ्गलबार विहान दाजु ओछ्यानमा फेला नपरेपछि खोज्दै जाँदा दुवै जना झुन्डिएको अवस्थामा फेला परेको मृतकका भान्जालाई उदृत गर्दै उहाँले जनाउनुभयो  । उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोजेको हुनसक्ने उहाँले जनाउनुभयो । पोष्ट मार्टमका लागि शव मेची प्रादेशिक  अस्पताल भद्रपुरमा लगिएको छ ।

गत  साउनमा कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेका थिए । दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।  घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो घटना घटेको स्थानीयवासी बताउनुहुन्छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्