बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ



बारा। 

प्रहरीले अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि लामो समयदेखि लुकीछिपी बस्दै आएका ३३२ जना प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि बारा जिल्ला अदालतमा बुझाएको छ ।

जसमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी बिगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

बिगो, जरिवाना तथा कैद असुलउपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जबरजस्ती करणी, लागुऔषध लगायत जघन्य तथा बहुविवाह, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिटलगायत मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बैंकिङ कसुर ठगी मुद्दामा ६ वर्ष ५ महिना १० दिन सजाय पाएका कलैया १ बस्ने विजय दास, हातहतियार तथा खरखजना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय पाएका निजगढका वासु चौधरी, बैङ्किङ कसुर मुद्दामा ७ लाख जरिवाना फैसला पछि फरार सिम्रौनगढका तेजाजुल अन्सारी लगायत पक्राउ परेका हुन् ।

अदालतबाट कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम घुमिरहँदा समाजमा नराम्रो सन्देश जाने, अपराधीहरुको मनोबल बढेर थप अपराध गर्न प्रोत्साहित हुने हुँदा फरार विशेष अभियान नै सञ्चालन गरेर फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

फरार प्रतिवादी पक्राउ गर्नका लागि बारामा रहेका ५१ वटै युनिटबाट प्रहरी परिचालन गरिएको थियो । १५ दिन अघिबाट निगरानी गरेर आइतबार र सोमबार उनीहरुलाई पक्राउ गरिएको थियो ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयबाट २० जना, सिमरा, निजगढ, कोल्हबी, सिम्रौनगढ, बारागढी लगायतका १० वटा इलाका प्रहरी कार्यालयबाट १०÷१० जना र अन्य युनिटहरुबाट समेत प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनमा सघाउन आग्रह गर्दै बारा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई १ हजार ३ सय ५७ जना फरार प्रतिवादीको लिष्ट प्रहरीलाई पठाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्