एसियाकै पहिलो सुरुङ मार्गको पुनर्निर्माण अन्तिम चरणमा



वीरगन्ज  । 
निर्माणको क्रममा अवरोध नआए एसियाकै पहिलो भनिएको  महेन्द्र राजमार्गसँग जोडिएको बारा  र हेटौँडाको सीमा स्थल चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण यही माघ महिनाभित्रमा सकिने भएको छ ।यातायात निर्देशनालय बागमती प्रदेशका इन्जिनियर बिजय केसीका अनुसार अब उक्त सुरुङ  पाँच मिटर मात्रै खन्न बाँकी रहेको छ ।
मुख्य काम आउटलेट(बाहिरिने) पोर्टलको प्वाइन्ट पत्ता लगाएर रिकन्ट्रक्सनको काम सम्पन्न भएको इन्जिनियर केसीले बताउनुभयो  ।  ‘ब्रेक थ्रो गर्न पाँच मिटर मात्रै बाँकी छ, त्यसमा चारदेखि पाँच वटा रिप हालेपछि ब्रेक थ्रो हुन्छ,’ इन्जिनियर केसीले भन्नुभयो । त्यसपछि सामान्य काम अलिअलि सर्किट र स्ट्रेनिङ्गको काम मात्रै बाँकी रहने उहाँले बताउनुभयो ।
सुरुङ बागमती प्रदेश सरकारको ३ करोड ३९ लाखमा पुनः निर्माण भएको हो । माउन्टेन इन्फ्रा कम्पनीले जिम्मा पाएको यो सुरुङ मार्ग पुनर्निर्माणको शिलान्यास तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्नु भएको थियो । यो सुरुङ तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेर राणाको पालामा निर्माण भएको थियो ।
तत्कालीन नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वको इन्जिनियरिङहरूको टोलीले  सुरुङ बनाइएको थियो । मदेश प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने सुरुङ मार्गबाट वि.सं. २०२० सम्म सवारी चल्ने गरेका थियो । राणाकालीन समयमा यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीम फेदीसम्म समान ओसार्थ्यो ।
कस्तो थियो सुरुङ, कस्तो बन्दै छ ?
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइन अनुसार ५ सय मिटर लम्बाइको सुरुङ मार्ग बनेको थियो । सुरुङ २ दशमलव ५ मिटर चौडा र ३ मिटर अग्लो थियो । डिपिआर अनुसार पुनर्निर्माण सम्पन्न हुँदा सुरुङ मार्गको आकार खुम्चिने इन्जिनियर केसी बताउँछन् ।
उनका अनुसार सुरुङको उचाइ २ दशमलव ९ मिटर र चौडाइ २ दशमलव ४ मिटर हुनेछ । स्विस भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा यो सुरुङ मार्गबारे चर्चा समेत गरेका छन् । उनैले यसलाई ‘एसियाकै पहिलो मानव निर्मित सुरुङ हुन सक्ने’ बताएका हुन् । जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग भूकम्पपछि थप जीर्ण बन्न पुगेको थियो ।
सर्वसाधारणलाई सुरुङ प्रवेशमा रोक लगाइएको थियो । पुनः निर्माणपछि मानिससँगै स–साना सवारी सुरुङमा चलाउन सकिने इन्जिनियर केसीको भनाइ छ । यो सुरुङ निर्माण भएपछि भने आन्तरिक तथा बाहिरी पर्यटन प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण  हुने यहाँका होटेल ब्यवसायीहरुको पनि बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्