दुवै चिकित्सकको सपना अधुरै, १० महिने बच्चा छिनभरमै विलीन



काठमाडौं 

आइतबार पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा परि राष्ट्रिय ट्रमा सेन्टरका अर्थाेपेडिक सर्जन ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उहाँकी ३६ वर्षीय धर्मपत्नी डा. सोना दिवाकरका साथ १० महिनाका नाबालक छोराको समेत ज्यान गएको छ ।

माघेसंक्रातिको छुट्टी पोखरा घरमा मनाएर फर्किएपछि एक महिना पछि डा. श्रेष्ठ स्पाइन सर्जरी सम्बन्धी फेलोसिप गर्न सिंगापुर जाने तयारीमा हुनुभएको ट्रमा सेन्टरका डा. विनाेद सेरचन बताउनुहुन्छ ।

ट्रमा सेन्टरका सिनियर तथा साथीहरूसँग आफू धेरै काठमाडौँ नबस्ने स्पाइनल सर्जरी विषयमा विशेषज्ञता हासिल गरेपछि पोखरामै बस्ने योजना बनाएको बताउने गर्थे तर उनी कहिल्यै नफर्किने गरी पोखरामै अस्ताए । डा.श्रेष्ठलाई ‘सिंगापुर जनरल हस्पिटलले एक वर्षका लागि फेलोसिप प्रदान गरिसकेको थियो’ डा.शेरचन भन्नुहुन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाटै अर्थोपेडिकमा पिजी गर्नुभएका श्रेष्ठ सोही अस्पतालमा विगत ३ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।

श्रेष्ठसँगै ज्यान विमान दुर्घटना ज्यान गुमाउनुभएकी उहाँकी श्रीमती डा. सोनाले चितवन मेडिकल कलेजबाट एमबिबिएस गर्नुभई विशेषज्ञ चिकित्सकका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी-एमएसको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण समेत भइसक्नुभएको थियो ।

दुवै चिकित्सकको सपना अधुरै रहेसँगै १० महिने बच्चाको समेत छिनभरमै विलीन भए ।  आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये डा.श्रेष्ठ, उहाँको श्रीमती र बच्चाको सनाखत भएको बुझिएको छ । पोखराको बिमानस्थल नजिकै सेती खोचमा भेटिएको ६८ जना यात्रुको शवमध्ये केहीको सनाखत भैसकेको र अन्यको पनि सनाखत क्रमशः हुँदै गएको प्रहरीले जनाएको छ । विमानमा चालक दलका चार सदस्य सहित कुल ७२ जना रहेको उडान प्राधिकरणले जनाएको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले शोक वक्तव्य जारी गर्दै नेपाल चिकित्सक संघका आजीवन सदस्य डा.सुशील श्रेष्ठ लगायत डा. सोना दिवाकर, उहाँका १० महिने शिशु, डा.गणेश थापाको असामयिक निधन प्रति संघ र सम्पूर्ण परिवार स्तब्ध भएको जनाएको छ ।

विज्ञप्तिमा दुःखद घटनाले संघका साथै मुलुक नै स्तब्ध भएको जनाएको छ । यो अपूरणीय क्षतिप्रति दुःख व्यक्त गदै दुर्घटनामा दीर्वगत चिकित्सकहरूको असामयिक निधनले नेपाल चिकित्सा क्षेत्रका उज्ज्वल नक्षत्र गुमाएको  भनिएको छ । संघले सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार तथा आफन्तजनहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्