पदका लागि नै राजाको विरोध गरिएको हो ?



नेपाल सरकारले यो वर्ष पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवको उपलक्ष्यमा सरकारले धेरै वर्षपछि बिदा दिने निर्णय गरेको हो । माओवादी सरकारमा आएपछि यो बिदा कटौती गरिएको थियो । अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मुलुकको ड्राइभिङ सिटमा बसेका छन् । प्रधानमन्त्री दाहालले नै पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

२०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्दा कमान्डर प्रचण्ड थिए । त्यतिखेर सर्वसाधारणले राजाको फोटो घरमा झुन्ड्याएर राख्यो भने माओवादीले सजाय दिन्थ्यो । जसको घरमा राजाको फोटो हुन्थ्यो उसले धेरै कष्ट खेप्नुपथ्र्यो । कि धूलोपीठो हुने गरी कुट्ने, कि कालोमोसो दल्ने । कतिपयलाई चारपाटे मुडेका पनि छन् । कसैलाई बाँधेर लडाउँथे त आफ्नो पार्टीमा लिएर जान्थे ।

जरिबाना पनि छुट्टै छ । राजतन्त्रको विरोध गर्दै आएको पार्टी हो माओवादी । माओवादीका कार्यकर्ताहरुले राजालाई जनताको रगत चुस्ने जुका भएको बताउँदै आएका थिए ।उनीहरु जसरी पनि राजा फाल्नुपर्नेमा थिए, जसका लागि तिनले जनयुद्धको घोषणा गरे । जसरी भए पनि राजालाई विस्थापन गराउने भनेर माओवादीहरु लागिपरेका थिए । राजाको परिवारलाई नेपालबाटै लखेट्ने अडान लिएर माओवादी आएको थियो । राजाको फोटो घरमा राखेकै भरमा माओवादीका कार्यकर्ताले कति सर्वसाधारणलाई मारे । कतिलाई अंगभंग बनाए । एकदमै कठिन सजायहरु पनि दिने काम भयो । तर, अहिले आएर प्रचण्डको रुप नै फेरियो ।

उनले पुस २७ गते सार्वजनिक बिदा दिए । तर, हिजो राजाको फोटो राखेकै भरमा सीधासाधी जनताले ज्यान गुमाउनुप¥यो । आजको परिस्थिति नै फेरिएको छ । जनताले ज्यान गुमाए, त्यो अब फर्काएर ल्याउन सक्छन् ? कतिपयले मर्ने गरी कुटाइ खाए, कति अंगभंग भए । प्रचण्डले यसको भर्पाइ गर्न सक्छन् ? हिजो जनयुद्धको नेतृत्व गर्ने पनि प्रचण्ड थिए, आज देशको प्रधानमन्त्री पनि उनी नै छन् । पदका लागि मानिसले केसम्म गर्दो रहेछ भन्ने त यहाँबाट स्पष्ट भइसकेको छ ।

नैतिकता छ भने प्रचण्डले तत्काल पदबाट राजीनामा दिनुपर्छ । हिन्दू राज्यको खुंखार विरोध गर्ने प्रचण्डले कुन दिनबाट नेपालमा राजतन्त्र चाहिन्छ भन्न बेर लगाउँदैनन् । केही समयपछि उनले लोकतन्त्र खारेज गर्नुपर्छ, हिन्दू राज्य ल्याउनुपर्छ भन्न थाल्छन् । पदका लागि यो तत्काल भन्न पनि बेर लाग्दैन ।विगतमा उनकै निर्देशनमा त उनका कार्यकर्ताहरुले ज्यान लिएका हुन् । दण्डसजायको घोषणा गर्ने पनि प्रचण्ड । राजा सामान्ती हो, राजालाई देश निकाला गर्नुपर्छ भन्ने पनि उनै त हुन् । आज त्यही राजाको जन्मोत्सवमा बिदा दिनुपर्छ भन्ने र दिने पनि उनै हुन् ।

प्रचण्डले जनतालाई कतिसम्म भ्रममा पारेका रहेछन् भनेर बुझ्न जरुरी छ । उनलाई हिजो पनि पद प्यारो थियो, आज पनि पद नै प्यारो छ । यसअघि पनि थु्रपै पार्टी आए र गए । पुस २७ गते सार्वजनिक बिदा दिनुपर्छ भनेर राप्रपाले धेरै अघिदेखि माग गर्दै आएको थियो । तर, कुनै सरकारले पृथ्वीजयन्तीको अवसरमा बिदा दिएको थिएन । उनकै पालामा बिदा दिने निर्णय भएपछि जनता आश्चर्यचकित बनेका छन् । अरुले त दिन्न भनेपछि माओवादीलाई बिदा दिन किन हतारो ? उनी जनता र राष्ट्रका लागि आएका रहेछन् त ? अहिले आएर सबै छर्लङ्ग भइसकेको छ ।

उनलाई प्रधानमन्त्री भन्नुपर्दा जनताकै शिर निहुँरिन्छ । हिजो त्यत्रो जनताका छोराछोरी मरे । राजतन्त्र फ्याँक्नका लागि जनताका छोराछोरीले कति दुःख पाए । कति दिदीबहिनीको सिउँदो पुछियो । कति छोराछोरी टुहुरा बने । कमाएर ल्याउने उमेर भएका छोराछोरीले ज्यान गुमाउँदा बाबुआमाको दिन कसरी गुज्रियो होला ? प्रचण्डले यो सोचेनन् ।पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुहुन्न भनेर यसअघिका पार्टीले अडान कसेका थिए । यो दिन बिदा दियो भने शहीदहरुको अपमान हुन्छ, लोकतन्त्र खेर जान्छ भन्ने धारणा यसअघिका पार्टीका थियो ।

यस दिन छुट्टी दियो भने हिजो आन्दोलनमा घाइते भएकाहरुको घाउ थप बल्झिन्छ भनेर सरकारले बिदा दिएन । तर प्रचण्डले दिए, किन ? गम्भीर प्रश्न त उठिसकेको छ । प्रचण्डले विश्वासको मतका लागि यो निर्णय गरेका हुन् ।राप्रपालाई सरकारमा ल्याउनका लागि उनले घुँडा टेके । अहिले आएर प्रचण्डको दिमागी खेल त सबैले बुझिसके । तर, हिजो त्यत्रो जनतालाई किन बोका मारेझैँ मारेको ? जनताका छोराछोरीको बिनासित्ती रगत किन बगाएको ? राजनीति परिवर्तन गर्छु, देशमा विकास गर्छु, नेपालमा विदेशी ऋण भित्रिन दिन्न, देशमा विदेशी हस्तक्षेप हुनुहुँदैन, जातभातमा देखिएको भेदभावमा अन्त्य गर्छु, देशमै रोजगारीको सिर्जना गर्छु भनेर उनले जनयुद्ध शुरु गरेका थिए ।

एक दशक चलेको जनयुद्धमा धेरै नेपालीले ज्यान गुमाए । स्कुलमा पढ्न गएका बच्चाहरुलाई समेत आन्दोलनमै लैजाने काम भयो । दोहोरो भिडन्तमा पारेर जनताका छोराछोरी मरे । आफ्नो छोराछोरीलाई लुकाइछुपाइ पढाए । उनका छोराछोरी त आज ठूलो ठाउँमा छन् तर ती सीधासाधी जनताको यसमा के दोष ? शहीद भएका परिवारहरुले न कुनै पद पाए, न जागिर नै पाए । राजनीतिमा माथि जान पनि उनीहरु असफल भए । तिनले क्षतिपूर्तिसमेत पाएका छैनन् । यस्ता व्यक्तिले पनि देश बनाउँछ ? शहीदका परिवारलाई उनले कहिले फर्किएर हेरे ? भोकभोकै रन्थनिएर हिँडेका छन् ।

शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास सबैबाट उनीहरु वञ्चित भए । कतिपय बच्चाले बाबुआमा गुमाएका छन् । ती टुहुरा बालबालिकाका लागि प्रचण्डले के गरे ? अरुलाई सकाएर कतिन्जेल आफ्नो परिवारलाई माथि ल्याइरहने ? आज पनि कतिले आफ्नो शरीरबाट गोली निकाल्न सकेका छैनन् । किनकि उनीहरुसँग पैसा छैन । तर, प्रचण्डलाई के मतलब ? महँगो गाडी चढेका छन्, महँगा लुगा लगाएका छन् ।

राम्रो ठाउँमा बस्न पाएका छन्, मेवा मिष्ठान्न खान पाएका छन् । हिजो चप्पल किन्न सक्ने अवस्था नभएका उनको आज करोडौंको सम्पत्ति छ । तर ती गरिबहरुसँग के छ ? बिहान–बेलुका भाँडामा हाल्न चामल छैन । एकछाक खानलाई जनताले कति दुःख पाएका छन् ? उनले त्यो देखेनन् । जनताको प्रयोगबाहेक अरु केही भएन । १७ हजार नेपालीको आँसुले प्रचण्डलाई सरापेको छ । त्यत्रो मान्छेले बगाएको रगत अवश्य पनि उनलाई लाग्नेछ । आफूलाई राजनीतिज्ञ भन्ने प्रचण्डसँग राजनीति गर्ने क्षमता नै छैन कि कसो !

कहिले केपी ओली त कहिले शेरबहादुर देउवाको शरणमा पुगेर पद मागिरहेका हुन्छन् । जनयुद्धको बेलामा एमाले, राप्रपा र कांग्रेसको कार्यकर्ता देख्न नसक्ने माओवादी आज उसैसँग टाँसिएको छ । कि चन्दा माग्ने, कि कालोमोसो दल्ने । त्यतिखेर यो व्यापक चलेको थियो । अब प्रचण्डलाई के सजाय दिने ? आफ्नै कार्यकर्ता मार्नेलाई कांग्रेस, एमाले र राप्रपाले साथ दिएको छ । माओवादीलाई त कारबाही गर्नुपर्ने होइन र ? प्रचण्ड त कानुनको कठघरामा हुनुपर्ने होइन र ?

भनिन्छ, ‘पाप धुरीबाट कराउँछ ।’ उनको राजनीति र पार्टी दुवै सखाप भइसकेको महसुस भएको छ । अब पालो अन्य पार्टीको । झापा आन्दोलनमा मान्छे मारेको सजाय केपीले पनि भोगिरहेका छन् । मान्छे मारेर कहिल्यै पनि राजनीति हुँदैन भनेर बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्