कक्षा १ मा लिइने प्रवेश परीक्षामा प्रतिबन्ध

सरोकारवाला भन्छन्: गोलाप्रथा गरी भर्ना गर्नु उचित



काठमाडौं । 

कक्षा १ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिन प्रतिबन्ध लगाइएको छ । प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा मानसिक तनाव हुने भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ मा प्रवेश परीक्षा नलिन सो निर्णय गरेको हो ।

सो निर्णयसँगै प्रवेश परीक्षा लिएर भर्ना गर्ने ठूला विद्यालयमा समस्या पर्ने देखिएको छ । अघिल्लो वर्ष अभिभावक महासंघलगायत संस्थाले कक्षा १ मा प्रवेश परीक्षा दिएर ६ वर्षको बच्चालाई मानसिक तनाव दिएको भन्दै परीक्षा नलिन विद्यालयलाई आग्रह गरेको थियो ।

सो आग्रह उल्लंघन गर्दै उपत्यकाका केही ठूला विद्यालयले कक्षा १ मै प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका थिए । ‘अब कुनै पनि विद्यालयले कक्षा १ मा प्रवेश परीक्षा लिन रोक लगाउन सबै जिल्ला शिक्षा समन्वयन इकाइलाई निर्देशन दिएका छौं’ –शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले भन्नुभयो । उहाँले भर्ना लिन गोला प्रथा वा अन्य विधि अपनाउन आग्रह गर्नुभयो । ‘शिशु कक्षामा पढेको अनुभव र बच्चाको आचरणको आधारमा भर्ना लिने व्यवस्था गर्नुपर्छ, अनाहकमा साना बालबालिकालाई मानसिक यातना दिनु उचित हुँदैन’ –उहाँको भनाइ थियो ।

केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने काम भएमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्र्देशन दिएको छ ।

शिशु विकास केन्द्रको अवधारणाअनुसार स्थापना भएका मन्टेस्वरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरूमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने एवं यस्तै प्रकृतिका गृहकार्य दिने र कतिपय विद्यालयले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको केन्द्रको भनाइ छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भर्खरका बच्चालाई तनाव दिएर प्रवेश परीक्षामा सहभागी गराउनु गलत प्रवृत्ति भएकाले यसलाई नियन्त्रण गर्न निर्देशन जारी गरेको बताउनुभयो । विगतमा प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गरेको आरोप लगाउँदै मन्त्रालय र केन्द्रमा दर्जनौं उजुरी पर्ने गरेका थिए ।

विगतका उजुरी र अभिभावकको आग्रहअनुसार आगामी शैक्षिकसत्रबाट प्रवेश परीक्षा लिने व्यवस्था खारेज गर्न केन्द्रले निर्देशन दिएको प्रवक्ता शर्माको भनाइ छ ।प्याब्सनका अध्यक्ष डीके ढुंगानाले प्रवेश परीक्षा लिनुभन्दा पनि कक्षा १ मा भर्ना हुन आएका सबै विद्यार्थीको आचरण र शिशु कक्षाको अनुभवलाई आधार मानेर गोला प्रथाबाट भर्ना गराउनु उचित हुने बताउनुभयो । उहाँले विद्यार्थी र अभिभावकलाई तनाव हुने खालको कक्षा १ मा कुनै पनि प्रवेश परीक्षा लिनु उपयुक्त नभएको धारणा राख्नुभयो ।

कक्षा १ को प्रवेश परीक्षा हुनु केही महिनाअघि विभिन्न इन्स्टिच्युटले तयारी कक्षाका नाममा बालबालिकालाई महिनौंदेखि घोकाउने कण्ठ गराउने गरेका छन् । यस्तो क्रियाकलाप हुन थालेपछि बालबालिकाको सिर्जनात्मकता र अन्तर्निहित प्रतिभामा हानि पुग्ने जस्ता कार्य हुने गरेको भनी सरोकारवाला र विज्ञहरूसमेतबाट गुनासो आएको हुँदा मन्टेस्वरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी मात्रै होइन कुनै पनि सरकारी विद्यालयले पनि कक्षा १ मा प्रवेश परीक्षा लिने व्यवस्था हटाउनुपर्ने बताउनुभयो । केन्द्रले जारी गरेको सूचनाले कक्षा १ मा भर्ना हुन लागेका विद्यार्थी र अभिभावकलाई राहत मिलेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो– ‘कक्षा १ मा भर्ना हुँदा सकभर घर पायक विद्यार्थीलाई अवसर दिनुपर्छ ।’ टाढाबाट भर्ना हुन आउने अनि कक्षा १ मा प्रवेश परीक्षा लिएर मानसिक तनाव दिने काम तत्काल बन्द गर्नु उपयुक्त रहेको उहाँको भनाइ छ । प्याब्सन अध्यक्ष ढुंगानाले निजी विद्यालय लक्षित निर्देशन भए पनि यसलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले पढाइ के हो भन्ने विषयमा पूर्ण जानकारी नभएको बच्चालाई प्रवेश परीक्षा लिनुभन्दा पनि उनीहरूको आचरण र विगतको शिशु कक्षाको अनुभवको आधारमा भर्ना लिनु उचित भएको बताउनुभयो ।

केन्द्रले जारी गरेको निर्देशनमा गर्भावस्थादेखि ८ वर्षसम्मको उमेर प्रारम्भिक बालविकासको समय भएको र यस उमेर समूहका बालबालिकालाई सर्वाङ्गीण विकास हुने खालका क्रियाकलापहरूमा बढी संलग्न गराउनुपर्ने उल्लेख गरिएको छ ।राष्ट्रिय शिक्षा नीति, २०७६, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र सोको नियमावली २०७७, शिक्षा ऐन २०२८ र नियमावली, २०५९ विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ र आधारभूत तह ९ कक्षा १–३० को पाठ्यक्रम २०७६ ले शिशुविकास केन्द्र, प्रारम्भिक बालविकास पूर्वप्राथमिक शिक्षा र आधारभूत तह ९ कक्षा १–३ मा बालबालिकाको भर्ना, विकास तथा सिकाइ क्रियाकलाप सञ्चालन, विकास तथा सिकाइको मूल्याङ्कन एवं स्तरीकरण सम्बन्धमा स्पष्ट मार्गदर्शन गरेको अवस्थामा कक्षा १ मा प्रवेश परीक्षा नगर्न केन्द्रले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्