सङ्कटमा शालिग्राम शिला

संरक्षणमा तीन जिल्लाका प्रमुखहरुको चासो



स्याङ्जा।

हिन्दु धर्मावलम्बीहरुले शालिग्राम शिलालाई भगवान विष्णुको अवतारको रुपमा पूजाआजा गर्दै आएका छन् । दुई प्रदेश र तीन जिल्लाको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । एशियामै कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिलाको महत्त्व र संरक्षण नहुँदा लोप हुने अवस्थामा छ । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन तीनवटै जिल्लाका सरोकारवालाले चासो देखाएका हुन् ।

एशियाकै ठुलो शालिग्राम शिला अहिले सङ्कटमा छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, संगमस्थलका पालिकाका प्रमुख तथा सरोकारवाला भेला भएर शालिग्राम शिला तथा सेतीवेणी क्षेत्रलाई संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा अवस्थित सेतीवेणी बजार तथा शालिग्रामको संरक्षण, बजार एवं बस्ती व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वपक्षीय भेला गरिएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेती वेणीमा रहेको शिला कालीगण्डकी नदी र सेती खोलाका कारण निकै सङ्कटमा परेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भन्नुभयो, “यस क्षेत्रको संरक्षणका लागि प्रदेश तथा केन्द्रीय सकारसँग समन्वय गरेर बृहत् योजना तयार गर्ने तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न निर्णय गरेका छौँ” । शिलाको दर्शनका लागि देश तथा विदेशबाट हिन्दूधर्मावलम्बी आउने गरेका छन् । पर्वत र स्याङ्जाको सिमाना रहेको सेतीखोलाले धार परिवर्तन गरेपछि शिला जोखिममा परेको छ । “पछिल्लो समय गुल्मीको भागतर्फ कालीगण्डकीले बालुवा थुपारेका कारण पनि शिलाको आडैबाट नदी बगिरहेको छ”, पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले भन्नुभयो, “शिला र दशनार्थी घुम्ने ठाउँ जोखिममा छ ।”

धर्मिक तथा पर्यटकीय हिसाबले परिचित शालिग्राम शिलाको संरक्षणमा यसअघि कसैले चासो नदेखाएको स्थानीयको आरोप छ । वर्षायाममा कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौँ दिनसम्म डुबाउने गरेको छ । शिलाको परिक्रमास्थल भत्किएको वर्षौँ भएको छ । अहिलेसम्म मर्मत हुन सकेको छैन । कुन जिल्लाले मर्मत गर्ने र संरक्षण गर्ने भन्नेबारे अन्योल हुँदा यसको उचित संरक्षण र संवर्द्धन हुन नसकेको पर्वतका समन्वय प्रमुख विष्णुराम विकले बताउनुभयो ।  नेपालकै ठुलो विद्युत् परियोजना कालीगण्डकी ए निर्माण पश्चात् यो शिला थप चर्चित भएको हो । बाढीका कारण यहाँका स्थानीयवासी वर्षाको समयमा सधैँ त्रासमा रहन्छन् । यसको दिगो समाधानका लागि योजना बनाउन लागिएको स्याङ्जाका समन्वय प्रमुख श्रीप्रसाद जिटीले बताउनुभयो । “स्थानीय तहको बजेटले मात्रै यसको संरक्षण सम्भव छैन, त्यसैले बृहत् गुरुयोजना निर्माण गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

विद्युत् निर्माणका लागि कालीगण्डकी परियोजनाले बनाएको बाँधको जलाशयमा चल्ने स्टिमरले समेत यो शिला चर्चामा आएको छ । गुल्मीका समन्वय प्रमुख द्रोणबहादुर खत्रीले तीन जिल्लाको संमस्थल भएकाले तीनवटैको सहकार्यमा यस क्षेत्रको समस्या समाधान गर्न आफूहरू सक्रिय रहेको बताउनुभयो । गल्मीका प्रजिअ पुण्यविक्रम पौडेलले भन्नुभयो, “सेतीवेणी शिलामा वर्षाको समयमा क्षति नपुग्ने गरी संरचना बनाउन जरुरी छ । त्यसका लागि स्थानीय तहको सक्रियतामा विस्तृत योजना बनाउनतर्फ हाम्रो ध्यान गएको छ ।” इन्जिनबाट चल्ने नेपाली पानीजहाज चढेर मिर्मिबाट सेतिवेणी पुग्न सकिन्छ । शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवा बनाउने योजना गल्याङ नगरपालिकाको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले संयुक्तरुपमा शिला शालिग्रामको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सानो नेपाली पानीजहाजमा चढेर घुम्न पनि पाइने तथा शिलाको दर्शन पनि हुने भएपछि यहाँ दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । स्याङ्जाका समन्वय समितिका संयोजक श्रीप्रसाद जिटी, पर्वत समन्वय समितिका संयोजक विष्णुराम विकलगायतले पनि तीनवटै जिल्ला मिलेर शिलाको संरक्षणमा काम गर्ने सहमति भएको बताउनुभयो । शिलाको दर्शन गरेमा मात्रै पनि मागेको वर पाइने जनविश्वास रहिआएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना निर्माणका क्रममा बनाइएको बाँधका कारण पनि शिला शालिग्रामको दर्शन गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले भन्नुभयो, “स्टिमरको यात्राले शालिग्रामको महत्त्व झनै बढेको छ, घुम्न आउनेको संख्या पनि बढ्दो छ ।” शालिग्राम शिलामा हरिशयनी, हरिबोधिनी एकादशी, माघे सङ्क्रान्ति, वैशाखे सङ्क्रान्ति र बाला चतुर्दशीमा ठूलो मेला लाग्छ । पछिल्लो समय भारतीय तीर्थयात्री समेत आउने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्