प्रदेश १ मा ४ सदस्यीय मन्त्रिपरिषद् गठन

माओवादीद्वारा शपथ नै बहिष्कार



विराटनगर ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

एमालेका मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्रनम्बर ४ को प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । लिम्बू भने जसपाकी समानुपातिक संसद् हुनुहुन्छ ।

आइतबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोमबार सपथ ग्रहण गर्दै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको हो । सोमबार नै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराउनुभएको हो । प्रदेश १ को सरकारमा नेकपा माओवादी केन्द्र तत्काल नजाने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

आइतबार साँझ गठबन्धनका केन्द्रीय नेताहरूले प्रदेश १ एमालेलाई दिने निर्णय गरेसँगै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरू सरकारमा नजाने घोषणा गर्नुभएको थियो । उहाँले पार्टीका अन्य संसदहरूसँग सल्लाह नगरी सरकारमा नजाने घोषणा गरेपछि माओवादीमा विवाद देखिएको थियो ।

सरकारमा सहभागिताका विषयमा बसेको बैठकले आलोपालोको प्रतिबद्धता नभएसम्म सरकारमा नजाने निर्णय गरेको माओवादी प्रदेश १ का सचिव तथा प्रदेश संसद् गणेश उप्रेतीले जानकारी दिनुभयो । बैठकले सरकारमा सहभागी नहुने निर्णय पार्टीको केन्द्रीय कमिटीलाई जानकारी गराउने उहाँले बताउनुभयो । यस्तै, माओवादीले मुख्यमन्त्री हिक्मत कार्कीको शपथ ग्रहण बहिष्कार गर्ने निर्णयसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्