चन्द्रनिगाहपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण हुने



रौतहट । मधेश प्रदेशमै पहिलो पल्ट रौतहटको चन्द्रनिगाहपुरमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण हुने भएको छ । चन्द्रपुर नगरपालिका वडानम्बर ४ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकैको स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण हुने भएको हो ।

मधेश प्रदेशको नबप्रबर्दन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण हुने भएको छ । २ करोड १४ लाखको लागतमा जेष्ठ मसान्तसम्म निर्माण पूरा गरिसक्ने लक्ष्यका साथ कार्य अघि बढाइएको चन्द्रपुर नगरपालिकाको योजना शाखाका ईन्जिनियर महेश बोहोराले बताउनु भयो ।

चन्द्रपुर क्षेत्र भित्रका विद्युतीय गाडी र यस क्षेत्रको राजमार्ग हुदै चल्ने सवारी साधनको लागि निर्माण हुने विद्युतीय चार्जिङ्ग सेन्टरले लाभ पुर्याउने छ । आधुनिक सुबिधा सम्पन्न चार्जिङ्ग सेन्टरमा कम्पाउण्डवाल, आधुनिक बिधुतीय गाडी चार्ज हुने, प्रतिक्षालय, बालबालिकाको लागि खेल्ने स्थान, शौचालय लगायतका पुर्बाधार रहने ईन्जिनियर बोहोराले बताउनु भयो ।

विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण भएपछि साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्दछ भने नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमता अनुसार एकदेखि डेढ घण्टासम्ममा पूर्ण चार्ज भई गुडाउने मिल्ने छ । स्वेशदमै उत्पादित बिधुतको आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन विद्युतीय चाजिङ्ग सेन्टरले सघाउन पुर्याउने छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण भएपछि विद्युतीय सबारी साधनको माग बढन जाने विश्वास लिनु भएको छ । उहाँले विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकास हुने बताउनु भयो ।

विद्युतीय चाजिङ्ग सेन्टरमा एक सेटमा २ वटा गाडी एक साथ चार्ज हुने, ई रिक्साको लागि ६ वटा चाजिङ्ग प्वाईन्ट र दुई पाङ्गे विद्युतीय सबारी साधनको लागि ५ वटा चार्जिङ्ग प्वाईन्ट राखिनेछ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफलेले विद्युतीय सवारी साधनको माग बढिरहेको बेला चाजिङ्ग सेन्टरले सबारी धनीलाई लाभ पुग्ने बताउनु भयो । उहाँले नगरको विकासमा समेत चाजिङ्ग सेन्टरले अर्थ राख्ने भएको हँदा यसको निर्माणमा तीव्रता दिइने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्