संविधान अनुसार सम्मान व्यवहार नभएको दष्टिविहिनको गुनासो



काठमाडौं।

नेपालको संविधानमा सबै नागरिकको समान अधिकार रहने उल्लेख गरिएको छ तर व्यवहारिक रूपमा पहुँचवालाहरूलाई गरिने व्यवहार र पहुँच नभएका व्यक्तिलाई गरिने व्यवहार भिन्न रहेको दष्टिविहिन, श्रवणदृष्टिविहिन, बहिरा, सुस्त मनस्थिति भएका बालबालिका, ज्येष्ठ नागरिक, महिलाहरूलाई गर्ने व्यवहारले प्रस्ट देखिन्छ ।

यस्तै व्यक्तिहरुको अधिकारको विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउने र नेपालमा छरिएर रहेका श्रवण दृष्टिविहीन व्यक्तिहरू र उनीहरूका अभिभावकहरूलाई एकीकृत बनाएर कार्य गर्न बहिरा दृष्टिविहीन अभिभावक समाज गठन गरिएको समाजका अध्यक्ष लाक्पा नोर्बु शेर्पा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ यो सुनाई तथा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरूको संस्था हो । सुनाई तथा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण तथा संवर्द्धनका साथै उनीहरूलाई दिवा सेवा समेत दिने उद्देश्यले यो संस्था वि. सं. २०६३ सालमा स्थापना गरिएको हो ।

यो संस्थाको मुख्य काम: श्रवणदृष्टि विहीनहरुको वर्तमान अवस्था पत्ता लगाइ अध्ययन, अनुसन्धान गर्ने, गराउने र सो बारे अभिभावक एवं जनसमुदायमा प्रचार प्रसार गर्ने रहेको संस्थाका सहजकर्ता करुणा महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ श्रवणदृष्टि विहीन भएका व्यक्ति र अभिभावकहरूको लागि विशेष शिक्षा, स्वास्थ्य उपचार, तालिम, हक हित संरक्षण गर्ने गराउने उद्देश्यले मध्य बानेश्वर , काठमाडौँमा यो संस्थाले दिवा सेवा सञ्चालन गर्दै आएको छ । दातृ निकायको सहयोगमा सञ्चालित यो संस्थामा काठमाडौँ उपत्यकाका ३३ जना बाल बालिकाहरुले सेवा लिँदै आएका छन् । सम्पूर्ण व्यवस्थापन संस्थाले गर्नुपर्ने भएकाले सीमित बालबालिकालाई मात्र सेवा दिन सकिएको उहाँले बताउनुभयो ।

यो संस्थाको मुख्य परियोजना श्रवण दृष्टिविहीन भएका व्यक्तिका लागि स्वस्थ जीवन जिउन सकुन भन्ने रहेको र सहयोगी संस्थाले ४ वर्षका लागि सहयोग गर्दै आएको छ । यसको अवधि २ वर्ष पार गरिसकेको र नेपालमा यो परियोजनाको साझेदार संस्थाहरू कोसी बहिरा महासंघ (मोरङ), नेपाल नेत्रहिनसंघ (रुपन्देही), श्रवण दृष्टिविहीन अभिभावक समाज (काठमाडौं) र श्रवण दृष्टिविहीन संघ नेपाल (कास्की) रहेका छन् । जसमा काठमाडौँ उपत्यकामा मात्र डेकेयर सेवा सञ्चालन सम्भव भएको छ । यस्ता बालबालिका तथा ज्येष्ठ सदस्यका विषयमा कुनै सर्वमान्य र विश्वव्यापी परिभाषा हालसम्म बनेको छैन ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको धारा १ अनुसारः “अपाङ्गता भएको व्यक्ति” भन्नाले “शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घ असक्तताद्वारा सृजित विभिन्न अवरोधहरुसंगको अन्तक्रियाको कारणले समाजमा अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति भन्ने सम्झनुपर्छ ।”

नेपालको अपाङ्गता अधिकार ऐन २०७४ ले अपाङ्गतालाई यसप्रकार शारीरिक अपाङ्गता,दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तस्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता,अटिज्म सम्बन्धी अपाङ्गता र बहुअपाङ्गता गरी १० वटा वर्गमा विभाजित गरेको छ ।

सोही अनुरुप गंभिरताको आधारमा अपाङ्गतालाई ४ प्रकारमा विभाजन गरी परिचय पत्रको व्यवस्था गरेको छ । जसमा पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति अरुको सहायता लिएर पनि आफ्ना सामान्य दैनिक कृयाकलापहरू आफै गर्न नसक्ने । जस्तै खाने, उठने ,बस्ने, दिसा पिसाब गर्ने, सुत्ने, लगायत शरीरका अंगहरू चलाउने आदिका लागि निरन्तर रूपमा सहयोगीको आवश्यक परिरहने अवस्था भएका व्यक्तिलाई लक्षित गरी रातो कार्डको व्यवस्था गरिएको छ । यस्ता व्यक्तिलाई परिचय पत्रका आधारमा राज्यद्वारा तोकिएको मासिक भत्ता र स्वास्थ्य सेवा प्रदानमा सहुलियत गरिएको छ ।

दोस्रो वर्गमा अति अशक्त अपाङ्गतालाई निरन्तर अरुको सहायता लिएर आफ्ना सामान्य दैनिक क्रियाकलाप गर्नुपर्नेलाई जनाउँछ । जस्तै पूर्ण दृष्टिविहीन, पूर्ण वहिरा, ह्वीलिचयर प्रयोग गर्नुपर्ने व्यक्ति, कम्मरदेखि तल पुरै नचल्ने वा अङ्ग नभएको अवस्थाका व्यक्ति , दुवै हात पाखुरा मुनी पुरै गुमाएका, दुवै खुट्टा गुमाएका, सिकाइमा समस्या भएका व्यक्तिलाई वर्गीकरणका आधारमा क बर्गका अपाङ्गता भन्ने जनाउँछ ।

त्यसैगरि ख बर्गाका गंभिरताको आधारमा अपाङ्गताको वर्गीकरण गरिएका मध्यम अपाङ्गता  कृत्रिम अङ्ग वा सहायक सामग्रीको प्रयोग गरी आफ्नो दैनिक कामहरू आफै गर्न सक्नेलाई जनाएको छ । जसको घुँडा मुनिको अंगमा मात्र प्रभाव परेको हुन्छ । खुट्टामा समस्या भएपनि स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने, कुर्कुच्चा भन्दा मुनिको भाग नभएको, मेरुदण्डमा समस्या भई ढाड कुप्रीएका, हत्केलाभन्दा मुनि कम्तीमा बूढी औँला र चोर औँला नभएका, तीव्र भकभके व्यक्ति, तीनफीट भन्दा मुनिका होचापुडका व्यक्ति, श्रवणयन्त्र प्रयोग गरेर मात्र सुन्न सक्ने, लेन्स वा म्याग्निफायरको प्रयोगले मात्र अक्षर पढ्न सक्ने व्यक्तिलाई परिभाषित गरिएको छ । त्यसैगरि सामान्य अपाङ्गतामा शरीरका अङ्गहरूमा सामान्य समस्याहरू रहको भएतापनि दैनिक जीवन संचालनमा खासै कठीनाइ नभएका हात वा खुट्टा केही छोटो भएका तर हिँडडुल गर्न सक्ने । ठुलो अक्षर पढन सक्ने न्युन दृष्टियुक्त व्यक्ति, हत्केला मुनिका कम्तीमा चोर औँला र वुढिऔँला भएकालाई जनाउँछ । त्यस्तै खुट्टाका औँलाका भागहरू नभएका, श्रवणयन्त्र नलगाई पनि ठुलो आवाज सुन्न सक्ने, सिक्न सक्ने अवस्थाका तर सिकाइमा ढिलो हुनेलाई जनाउँछ । श्रवण दृष्टिविहीन अपाङ्गता सुनाइ तथा दृष्टि सम्बन्धी अपाङ्गता एकै व्यक्तिमा हुने गर्दछ ।

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार श्रवणदृष्टि विहीनता एक फरक अपांगताको वर्गको रूपमा परिभाषित गरिए जसअनुसार “सुनाइ सम्बन्धी र दृष्टि सम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपांगताको संयुक्त अन्तरक्रिया रहेको व्यक्तिm” भन्ने परिभाषित गरिएको छ ।

विश्वमा यस्ता व्यक्तिहरू कुल जनसंख्याको शून्य दशमल्भ ४ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा ९ हजार ७ सय १४ जना अर्थात् कुल जनसंख्याको सुत्य दशमल्भ ३७ प्रतिशत रहेको छ । जसमा काठमाडौँमा ३ सय ९ जनामा महिला १ सय ६२ जना पुरुष १ सय ४७ जना रहेका छन् ।

१) श्रवण दृष्टिविहिनका विभिन्न प्रकार तोकिएको छ ः क) जन्मजात ख) पछि भएका रहेका छन् ।
२. सुनाइ तथा दृष्टिमा रहेको क्षमता आधारमा  क) पूर्ण दृष्टि विहीनता र पूर्ण बहिरा ख) पूर्ण दृष्टि विहीनता र आंशिक सुनाइ ह«ास (सुस्त श्रवण) ग) पूर्ण बहिरा र अल्पदृष्टियुक्त घ) आंशिक सुनाइ ह«ास(सुस्त श्रवण) र अल्पदृष्टियुक्त, ङ) कार्यात्मक सिमितताका आधारमा
श्रवणदृष्टि विहीनता व्यक्तीको सिकाइमा पार्ने प्रभाव कार्यात्मक सीमिततालाई परिपूर्ति नियाल्दा ५ वर्ष माथि उमेरकालाई ९५ समस्या हुन्छ भने इन्द्रियको आधारमा स्वाद, गन्ध, स्पर्शबाट ५ प्रतिशत प्रभाव पर्ने भएकाले शरीरको गति र स्थिति सन्तुलन कायम गर्ने समेत बाधा पर्ने गरेको प्रधान बताउनुहुन्छ । यस्ता व्यक्तिलाई सञ्चार, दैनिक जीवनयापनमा, शिक्षा प्राप्त गर्न समेत कठिन हुने गरेकाले यस विषयमा राज्यले गम्भीर भएर मानवीय भावले सोच्नुपर्ने संस्थाका अध्यक्ष शेर्पाको ठम्याई छ ।

आफू र संसारको बारेमा समेत थाहा नहुनु, एकै ठाउँमा बसिरहनेले शरीरको बृद्घि र  विकासमा असर परेको छ । त्यसैगरि संचारमा समस्या,कुनै कुराको जानकारी नहुनु, इन्द्रियहरुबाट सूचना पाउन गाह«ो हुनु । व्यक्तिगत विकासमा ढिलोपना आउनु, अटिजम बच्चाको जस्तो व्यवहार हुनु, सिकाइको तरिका एकदमै फरक हुनु, केही कुराको पृष्ठपोषण दिन नसक्नु, समयको ख्याल नहुनु, कुनै कुरालाई छुन डराउनु । आगामी कामको बारेमा पूर्वानुमान गर्न नसक्नु, जसको कारण दिक्कता बढ्नु, एक आपसमा व्यक्तिगत सम्बन्ध विकास नहुनु, आफ्नो लिङ्ग छुट्याउन नसक्नु जस्ता गम्भीर समस्या ग्रस्त अवस्थामा गुज्रीएका छन् ।

यस्तो समस्या हुनुका मुख्य कारणहरूमा गर्भअवस्थामा लाग्ने रोग रुबेला, टोक्सोप्लास्मोसिस    (विरोलो वा सुँगुरको दिसाका माध्यमबाट सर्ने) रोग, यौन रोग जस्तै एच.आई.भी., चोटपटक: कतैबाट खस्नु,वा दुर्घटनामा पर्नु पनि हो । त्यसैगरी जन्मजात श्रवणदृष्टि विहीनता हुने कारणहरु भने चार्ज सिनड्रोम, आँखामा प्वाल हुनु, मुटुमा खराबी अथवा प्वाल हुनु, एउटा वा दुवै नाक बन्द हुनु, बच्चाको शारीरिक विकासमा हृास आउनु, बच्चाको लिङ्ग नहुनु, कानमा समस्या आउनु, ड्राउन सिनड्रोम जन्मिँदै अतिरिक्त क्रोमोजमले गर्दा मानसिक र शारिरीक दुवै प्रभाव हुने गरेको पाईएको महर्जन बताउनुहुन्छ । त्यसैगरि  ३७ हप्ता भन्दा कम समयमै जन्मनु, समयअगाबै जन्मेका बच्चाको आखाँ र कानको विकास नभएको पाइयो । त्यतिमात्र नभै समय नपुगी जन्मीएका बच्चालाई इन्क्युवेटरमा राख्दाँ अक्सिजन मात्रा बढि वा कम भएमा आखाँ र कानमा क्षति पुग्ने गरेको विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन् ।

यसका साथै मस्तिष्क पक्षघात स्नायु तथा मस्तिष्कको राम्रो विकास नहुनु, उमेरका कारण, सङ्क्रमण, कान पाक्ने, कानको जालिमा समस्या हुने, आँखामा मोतीबिन्दु, आँखामा जलविन्दु, आँखाको प्रेसर बढ्नु, मष्तिकमा असर पर्नु, मेन्निजाईटिस हुनु, मस्तिष्क पक्षघात, टाउकोमा चोट लाग्नु जस्ता यस्ता समस्या हुने गर्दछ ।

जन्मदै पुर्ण सुनाइ सम्बन्धी अपाङ्गता भएर जन्मनु, सिधा हिँडाइमा असन्तुलन हुनु, श्रवण यन्त्रको प्रयोग गर्दा केही मात्रामा मात्र वा कुनै फाइदा नहुनु, १८ महिना भन्दा अगाडि आफै  हिँड्न नसक्नु, १० वर्ष भित्र रतन्धो हुने, आँखाको पर्दामा धब्बा वा दाग बढ्ने (रेटिनाईटिस पिगमेन्टोसा), उमेरसंगै दृष्टिको क्षमता घट्ने जस्ता समस्या देखिएमा आफ्ना बालबालिकालाई चिकित्सकको सल्लाह अनुसार विशेष हेरचाह गरी तालिम दिने लगायतका व्यायाम गराएको खण्डमा उस्को दैनिक सहज हुन सक्ने शेर्पा बताउनुहुन्छ ।

यतिमात्र नभै सिन्ड्रोमको दोस्रो चरणको असरले गर्दा पनि जति उमेर बढ्दै गयो उति नकारात्मक असर पार्दै जान्छ र सञ्चारको माध्यमा साङ्केतिक भाषा हुन्छ । मध्यम देखि गम्भीर सुनाईमा समस्या हुन्छ । युवा अवस्थामा आँखाको रेटिनामा समस्या हुदै अन्तिममा पुरै श्रवणदृष्टिविहिन हुन पुग्छ । जन्मिदा सुनाई र हेराइमा समस्या हुँदैन, युवावस्थामा पुग्दा सुनाईमा समस्या हुन्छ । वयस्कअवस्थामा पुग्दा बहिरा हुनु, १३–१४ वर्षको उमेरमा रतन्धो, ३० वर्ष सम्ममा दृष्टि गुम्दै अन्तमा ३५–४० वर्षमा पुरै श्रवणदृष्टिविहिन हुने जस्ता गम्भीर समस्या हुने गरेको शेर्पा बताउनुहुन्छ । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ र उहाँको बच्चा पनि यही समस्याको सिकार हुनुभएकोले संस्थानै स्थापन गरी संस्थागत रूपमा सेवामा जुटेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्