कूटनीतिक नियोग तथा राजनीतिक दलसँगको भेटघाटमा कडाइ

सशस्त्र प्रहरीद्वारा स्थायी आदेश जारी



काठमाडौं । 

सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक पार्टीको नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ ।

यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले सो स्थायी आदेश जारी गरेको हो । यसबाट आफूखुसी भेटघाट गर्ने परम्पराको अन्त्य हुनेछ भने भेटघाट गर्नुपरेमा आचारणसम्बन्धी स्थायी आदेशनुसार अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी कर्मचारीले सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने पनि उहाँले जानकारी दिनुभयो ।यसै गरी कूटनीतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कूटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने पनि स्थायी आदेशमा उल्लेख छ । साथै सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कका लागि र विभिन्न सञ्चारमाध्यसँग सम्पर्क एवं अन्तरवार्ताका लागि दुईवटा स्वीकृतिको निवेदन फारामसमेत जारी गरेको छ ।

भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कित अधिकृतले फारमअनुसारको निवेदन आफू कार्यरत कार्यालयबाट सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृति लिनुपर्नेछ, भने राजपत्र अनङ्कित कर्मचारीले आफू कार्यरत कार्यालयमार्फत सिलसिलेवार मानवस्रोत विभाग प्रमुखको स्वीकृति लिनुपर्ने र सो स्वीकृतिको जानकारी मानवस्रोत विभाग प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनुपर्ने आदेशमा उल्लेख छ ।

यसरी स्वीकृति लिई गरिएको भेटघाट तथा सम्पर्कको जानकारी सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्नेछ । यसका साथै सो स्थायी आदेशमा विभिन्न सञ्चारमाध्यमा सम्पर्क तथा सूचना आदनप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्ने छ भने मातहत इकाइका सूचना अधिकारीहरूले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने छ ।

सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीबाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले सञ्चारमाध्यममा कुनै पनि सूचना सम्प्रेषण गर्नुपरेमा वा अन्तर्वार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिएअनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्तामार्फत सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्नेछ ।

यसका साथै सशस्त्र प्रहरी कर्मचारीले सांगठानिक तथा व्यक्तिगत विषयमा कुनै पनि पीरमर्का, गुनासो तथा सुझावहरू भएमा बाह्य व्यक्ति तथा नियकाहरूमा सम्पर्क नगरी सशस्त्र प्रहरी प्रवक्ताको मोबाइल नम्बर ९८५१२७२००७, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको मोबाइल नम्बर ९८५१२६०७३६, गुनासो÷सुझाव फारम भरेर दिन सकिने आचरणसम्बन्धी स्थायी आदेशमा व्यवस्था गरिएको छ ।

सो आचरणसम्बन्धी स्थायी आदेश कडाइका साथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत इकाइलाई निर्देशन दिनुका साथै कुनै पनि कर्मचारीले आचरणसम्बन्धी स्थायी आदेशविपरीत काम गरेको पाइएमा सशस्त्र प्रहरी नियमावलीबमोजिम विभागीय सजाय गरिने संगठनको नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्