भारत ‘अदृश्य खेलाडी’ बन्दै गर्दा अमेरिका र चीन खुलेरै मैदानमा  



काठमाडौं ।

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको एकक्षत्र शासनपछि (सन् १९४९–१९७६) सामूहिक नेतृत्वबाट विश्व सामु उदाएको चीन, पुनः केन्द्रीकृत नेतृत्वमा फर्कदैछ (सन् २०२२ अक्टोबर) । राष्ट्रपति सीको कार्यकालको सुरुदेखि नै (सन् २०१३) सक्रिय कूटनीतिमार्फत चीनले छिमेक र टाढा आफ्ना गतिविधि विस्तार गर्ने कार्य योजनाबद्ध रुपमा अघि बढाएको देखिन्छ । नेपालमै हेर्ने हो भने पनि विगतमा ‘शान्ति कूटनीति’ अवलम्बन गरेको चीनले केही वर्ष यता आफ्नो सक्रियता निकै बढाएको प्रत्यक्ष देख्न सकिन्छ ।

साउथ चाइना सीको बढ्दो आर्थिक एवं सामरिक महत्वका बीच चीनको नेपालमा बढ्दो सक्रियता र गतिविधिलाई मध्यनजर गर्दै विश्वशक्ति राष्ट्र अमेरिका पनि खुलेरै मैदानमा उत्रिएको छ । फलस्वरुप विगत २/३ वर्ष यता अमेरिका र चीनबीच चलेको होडबाजी र दोहरी नेपाली राजनीतिक, कूटनीतिक वृत्तमा चर्को रुपमा देखा परिरहेको छ । अर्कोतिर, दशकौंदेखि नेपाली राजनीतिको निर्णायक मोडमा प्रत्यक्ष देखापर्ने भारत भने केही समय यतादेखि ‘प्रयाग राजको त्रिवेणीमा’ सरस्वती नदी लुप्त भए जस्तै ‘अदृश्य खेलाडी’ को सक्रिय भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।

चीनको हालको सक्रिय कूटनीति ‘पञ्चशीलको सिद्धान्त’ र ‘छिमेकी राष्ट्रको आन्तरिक मामिलामा दखल नदिने’ घोष्ति नीतिसम्मत देखिँदैन । नेपालका सबै राजनीतिक पार्टी र जनताको न्यानो माया पाई आएको चीनलाई खुल्ला रुपमा नेपालका कम्युनिष्ट पार्टीहरू एक पार्ने, फुट्न नदिने र फुटे पुनः जोड्ने’ खेलमा सक्रिय देखिनु र नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धका विषयमा टीका टिप्पणीमा उत्रनु उदेकलाग्दो देखिन्छ ।


हिजो भारतले नेपालमा अपनाएको हस्तक्षेपकारी कार्यबाट नेपालमा भारत विरोधी भावना उजागर भई हालका वर्षमा भारतले त्यसमा सुधार गर्दै गएको तथ्यलाई नजर अन्दाज गरी त्यस्तै बाटोमा हिँड्न मित्र राष्ट्र चीन किन अग्रसर हुँदै छ ? मैले बुझ्न सकेको छैन ।

(शनिबार राजधानीमा लोकार्पण गरिएको चीनका लागि पूर्व राजदूत आचार्यको पुस्तक ‘कूटनीतिक दायरी’बाट साभार )

प्रतिक्रिया दिनुहोस्