कैलालीमा राजमार्ग अवरुद्ध पारेपछि तनाव, प्रहरीमाथि ढुंगामुढा ३९ राउण्ड अश्रुग्यास प्रहार



धनगढी । 

कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। बुधबार जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्।

बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले प्रहरीले बल प्रयोग गरेर खुलाउन ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। यस्तै प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।

उनीहरुले गोदावरीको लालपुरमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा बालकको मृत्यु भएको घटनालाई लिएर विरोध जनाइरहेका हुन्। प्रर्दशनकारीले अहिले पनि अवरोध जारी राखेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

आज बिहान गोदावरी नगरपालिका ६ लालपुरमा पूर्वबाट पश्चिततर्फ आइरहेको सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो। टिप्परको ठक्करबाट अटोमा सवार ३ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको हो। ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि हरैयामा तवान उत्पन्न भएको बताइएको छ। यस्तै उनकी २९ वर्षीया आमा पेन्टि ठकुल्ला पनि दुर्घटनामा घाइते भएकी छन्। उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। अटो चालक २८ वर्षीय मोहन बोहरा पनि घाइते भएका छन्।

टिप्पर र चालक धनगढी उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय प्रदिप चौधरी र टिप्परलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ। घटनाको विरोध गरिरहेका स्थानीयसँग प्रहरीले वार्ता गरिरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्टले बताए। उनले अहिले वार्ता भैरहेको र सहमति गरिने बताए।

प्रतिक्रिया दिनुहोस्