खेलाडीलाई जीवन निर्वाह गर्नै गाह्रो छ



बाराको निजगढमा २०४३ भदौमा जन्मिएका सञ्जीव नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र निर्णायक पनि हुन् । उनले तेक्वान्दोकै माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउने काम गरेका छन् । लामो समय तेक्वान्दोको विकास र विस्तारमा समर्पित सञ्जीवसँग खेलकुदका समसामयिक विषयमा केन्द्रित रहेर कविरस शर्माले गरेको कुराकानीको सम्पादित अंश:

 एउटा खेलाडी, प्रशिक्षक र निर्णायकका रूपमा नेपाली खेलकुदमा लामो समय बिताउनुभयो । नेपाली खेलकुदको पहिले र अहिलेको अवस्था कस्तो छ ?

पहिले र अहिलेमा तात्विकरूपमा खासै फरक आएको छैन, उस्तै छ । राजनीति हावी भएका कारण राम्रा खेलाडी पछि परिरहेको अवस्था छ । सक्षम र योग्यलाई भन्दा पनि आफ्नालाई काखी च्याप्ने प्रवृत्ति नेपाली खेलकुदमा हावी छ । त्यसैले, हाम्रालाई भन्दा राम्रालाई अवसर दिनुपर्छ । तर, पछिल्लो समय नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा गरेको प्रदर्शनलाई भने हामीले तारिफ गर्नु नै पर्छ । सीमित स्रोत साधनका बाबजुद पनि हाम्रा खेलाडीले उत्कृष्ट नतिजा दिइरहेका छन् । जुन स्वागतयोग्य छ ।

खेलाडी भएर जीवन निर्वाह गर्न कत्तिको सहज छ ?

खेलाडीहरूलाई जीवन निर्वाह गर्न निकै नै गाह्रो छ । राम्रो खेलुञ्जेलसम्म सबैको वाहवाही पाइन्छ । तर, खेल्न छाडेको भोलिपल्टदेखि कसैले पनि वास्ता नगर्ने प्रवृत्ति नेपाली खेलकुदमा छ । राज्यले खेलकुद र खेलाडीलाई हेर्ने दृष्टिकोण नै बदल्नुपर्दछ । खेलकुदमा लामो समय बिताएका खेलाडी र खेलकर्मीलाई राज्यले सहयोग गर्नुपर्छ । तर, हाम्रोजस्तो देशमा सबैले राज्यको मात्र मुख ताकेर हुँदैन । विभिन्न संघसंस्थाले पनि खेलाडीको हितमा काम गर्नुपर्छ ।

 यसको मतलब खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्था छैन ?

अहिलेसम्म खेलेर नै बाँच्न सक्ने अवस्था आइसकेको छैन । खेलाडीको भविष्यका लागि सरकारले नै विशेष योजनाहरू ल्याउनु आवश्यक छ । कर्पोरेट हाउसहरूले पनि खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउनु जरुरी छ । खेलाडीले हामीले राम्रो खेल्ने हो । राम्रो नतिजा दिने हो भनेर सोच्ने मात्रै हो । तर, हामीले खेलिरहँदा आफ्नो भविष्य कस्तो हुन्छ भनेर चिन्ता लिनुपर्ने अवस्था छ । खेलमा ध्यान दिनुपर्ने खेलाडीको ध्यान अन्तै भएपछि ती खेलाडीले पक्कै पनि राम्रो नतिजा दिन सक्दैनन् ।

तपाईं त विभिन्न देशमा पुगेका त्यहाँका खेलकुदसँग साक्षात्कार हुनुभएको छ । नेपाल र विदेशको खेलकुदको अवस्था कस्तो पाउनुभएको छ ?

नेपाल र विदेशको खेलकुदमा धेरै भिन्नता छ । विदेशमा भौतिक पूर्वाधार, खेल सामग्री र प्रशिक्षण विधि वैज्ञानिक र अत्याधुनिक किसिमको हुन्छ । नेपालमा भने पुरानो र परम्परागत ढंगबाटै प्रशिक्षण हुँदै आएको छ । खेलकुद पूर्वाधारको अवस्था पनि निकै नाजुक छ । त्यसैले, नेपाल र विदेशको खेलकुदका बारेमा तुलना नै गर्न सकिँदैन । राज्यले लगानी गरे मात्रै खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफूलाई अब्बल सावित गर्न सक्छन् । हामी पुरानै प्रशिक्षण विधि, जीर्ण पूर्वाधार र वषौंदेखि एकै किसिमको डाइट खाएर प्रशिक्षण गरिरहेका छौं ।

नेपाली खेलकुद क्षेत्रलाई पनि त्यहाँको जस्तै बनाउन के गर्नुपर्छ ?

यसका लागि राज्यले सबैभन्दा पहिले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छ । खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा प¥यो भने प्रविधिमैत्री पूर्वाधारको विकाससँगै वैज्ञानिक हिसाबको प्रशिक्षण पनि सुरु हुन्छ । राज्यसँगै सम्बन्धित संघहरूले पनि विशेष कार्यक्रम ल्याउन जरुरी छ ।

के–के कारणले गर्दा अरुभन्दा हामी पछाडि छौं ?

सबैभन्दा पहिले हामीकहाँ पूर्वाधारकै अभाव छ । थोत्रा भवनमा प्रशिक्षण गर्नुपर्छ । जसले गर्दा कहिले दुर्घटनामा परिएला भनेर डरैडरमा प्रशिक्षण गर्नुपर्ने बाध्यता छ । त्यसैगरी, आधुनिक उपकरणहरू पनि अभाव छ । वैज्ञानिक र प्रविधिमैत्री प्रशिक्षण पनि हुन सकेको छैन । यसका लागि सबैभन्दा पहिले प्रशिक्षणलाई प्रविधिमैत्री बनाउनुपर्छ । सरकारले खेलकुदमा पर्याप्त लगानी बढाउनुपर्छ । लगानी बढेपछि प्रशिक्षण स्थल, खेल सामाग्री र प्रविधिमैत्री प्रशिक्षण भइहाल्छ ।

नेपाल र विदेशको पूर्वाधार र ट्रेनिङ गर्ने पद्धतिमा कत्तिको भिन्नता पाउनुभएको छ ?

धेरै नै भिन्नता छ । विदेशमा आधुनिक तरिकाबाट प्रशिक्षण हुन्छ । कुन खेलका खेलाडीलाई कस्तो किसिमका डाइट आवश्यक छ, कुन कुन खाना कतिपटक खानुपर्छ भन्ने नियमित तालिका बनाएको हुन्छ । हामीकहाँ सबै खेलका खेलाडीले एकै किसिमका डाइट खाएर खेलिरहेका हुन्छन् । कुन खेलका खेलाडीले कस्तो आहार खाने भन्ने योजना नै छैन । त्यसैगरी, विदेशमा खेलकुदलाई राज्यले प्राथमिकतामा राखेको छ । उनीहरूको हरेक सेवा सुविधालाई राज्यले हेर्छ । खेलकुदपछि पनि उनीहरूको भविष्य सुनिश्चित हुन्छ । हामीकहाँ रोजीरोटी र जीविकोपार्जनका लागि आफै भौंतारिनुपर्छ । राज्यबाट पनि सुविधा पाइँदैन ।

 हाम्रो प्रशिक्षकहरू चाहिँ कस्ता छन् ?

हाम्रा प्रशिक्षक पनि योग्य छन् । तर, उनीहरूले अवसर नै पाउँदैनन् । जो नेताको नजिक छ, जसले चाकडी गर्न जानेको छ, उनीहरूकै बोलवाला छ । उनीहरू समयानुसार अपडेट हुन सकेका छैनन् । त्यसैले, आफ्नोलाई भन्दा राम्रोलाई प्राथमिकतामा राख्नुपर्छ । उनीहरूलाई अवसर दिनुपर्छ र वृत्तिविकासमा पनि सहयोग गर्नुपर्छ ।

 नेपाली खेलकुदको विकासका लागि के आवश्यक देख्नुभएको छ ?

सबैभन्दा पहिले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । खेलकुद सञ्चालनका लागि सही नीति ल्याउनुपर्छ । राष्ट्रिय खेलकुद परिषद्मा आउने व्यक्तिहरू खेलकुद र खेलाडीलाई राम्रोसँग बुझेका हुनुपर्छ । क्षमतावान् खेलकर्मीलाई सही स्थानमा अवसर दिनुपर्छ । आधुनिक प्रविधि अनुसार प्रशिक्षणको व्यवस्था हुनुपर्छ । राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गर्ने नीति अवलम्बन गर्नुपर्छ । खेलकुदलाई विद्यालय तहदेखि नै अनिवार्य गर्नुपर्दछ । उनीहरूलाई सुविधाहरू दिइनुपर्दछ ।

 खेलकुदमा राजनीतिकरण भएकै कारण हामी पछाडि परेका हौं र ?

अवश्य पनि हो । नेपाली खेलकुदको विकास र विस्तार चाहने हो भने खेलकुदमा राजनीतिकरण बन्द गर्नुपर्छ । विभिन्न पार्टीका भातृसंगठनहरू खारेज हुनुपर्छ । यसो भयो भने मात्र नेपाली खेलकुदले गति लिन सक्छ ।

सफल खेलाडी बन्न चाहनेहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

कुनै पनि क्षेत्रमा सफलता पाउन सबैभन्दा पहिले मेहनत गर्नुपर्छ । हामीले मेहनत गरेर मात्रै पुग्दैन, सबैभन्दा ठूलो कुरा अनुशासित हुनुप¥यो । यससँगै धैर्यता पनि राख्न सक्नुपर्छ । आजको भोलि नै अवसर खोज्नुभन्दा पनि भोलिका दिनमा आफ्नो पालो आइहाल्छ नि भन्ने धैर्यता राख्न सिक्नुपर्छ अनि मात्रै हामीले आफ्नो गन्तव्य निर्धारण गर्न सक्छौं ।

तपाईंका अबका लक्ष्यहरू के–के छन् ?

जीविकोपार्जनका लागि विभिन्न पेशा अवलम्बन गरे पनि तेक्वान्दोबाट भने कहिले पनि टाढा हुने छैन । आफूले सकुञ्जेलसम्म यही खेलमा समर्पित हुनेछु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म अहिले जुन अवस्थामा छु त्यो तेक्वान्दोबाट नै सम्भव भएको हो । त्यसैले कहिल्यै पनि तेक्वान्दो खेलबाट टाढा हुन सक्तिनँ । सदैव तेक्वान्दोलाई माया गरिरहनेछु । भविष्यमा पनि तेक्वान्दो खेलकै विकास र विस्तारमा आफूलाई लगाउनेछु । राम्रो खेलाडी उत्पादन गरेर अनुशासित समाज निर्माणमा आफूलाई समर्पित गराउनेछु ।

प्रतिक्रिया दिनुहोस्