नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी 



काठमाडौँ। 

नेपाल चिकित्सक संघको माघमा हुने निर्वाचनका लागि अध्यक्षदेखि सदस्यसम्म ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघको कार्यालयमा सोमबार विभिन्न पदका लागि प्रजातान्त्रिक, प्रगतिशील र स्वतन्त्र रुपमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराउँभएको छ । त्यसैगरि प्रगतिशील समूहबाट अध्यक्ष पदका लागि डा सन्तोष पौडेल र स्वतन्त्रबाट डा. शिवजी सिलवालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

संघको निर्वाचन आगामी महिना माघमा हुने छ । माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौँ उपत्यकामा मतदान हुने कार्यक्रम रहेको नेपाल चिकित्सक संघले जनाउँदै आइतबार देखि उम्मेदवारीका लागि फम खुल्ला गरेको थियो ।

डा कार्कीको उम्मेदवारीको मनोनयन दर्ता गर्ने क्रममा वीर अस्पतालका प्रमुख डा. भूपेन्द्रकुमार बस्नेत प्रस्तावक बस्नुभएको छ भने संघका महासचिव डा बद्री रिजाल समर्थक बस्नुभएको छ । अध्यक्ष पदका लागि दाबेदार डा.बस्नेत र डा.रिजालले आइतबार बसेको छलफलको निकासलाई स्वीकार्दै डा.कार्कीलाई अध्यक्ष पदका लागि प्रस्तावक र समर्थक आफै बस्ने स्वीकार गरेको संघको स्रोतले जनाएको ।

संघको वरिष्ठ उपाध्यक्ष पदमा डा बद्री रिजाल, सह–सचिव पदमा डा लिजन महर्जन र सह–कोषाध्यक्षमा डा विक्रान्त ढकालको एकल उम्मेदवारी परेकोछ । त्यसैगरि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उपाध्यक्ष पदमा पनि क्रमश : डा. नन्दा कुमारी गुरुङ र डा. केशर बहादुर ढकालको उम्मेदवारी दर्ता भएको छ । एक एक जनाको मात्र उम्मेदवारी परेका पदाधिकारीहरू निर्विरोध निर्वाचित हुने सम्भावना बढेको संघले जनाएको ।

संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ । १९ जनाका लागि आइतबार ६१ जनाले फर्म बुझेका छन् ।

संघले यस पटकको निर्वाचनका लागि निर्वाचन नियमावली २०७० (संशोधन सहित) को परिच्छेद ४ को उपदफा ९ बमोजिम संघको कार्यकारिणी समितिका पदाधिकारीहरुमा (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (प्रत्येक प्रदेशबाट १–१ जना प्रादेशिक संयोजक समेत रहने गरी व्यवस्था गरेको जनाएको छ । यसका लागि सम्बन्धित प्रदेशमा कार्यरत रहेको अवस्थामा नीजले केन्द्रीय उपाध्यक्ष (प्रदेश संयोजक) मा आवेदन दिन सक्नेछ) महासचिव, कोषाध्यक्ष, सह सचिव, सह कोषाध्यक्ष) मा मनोनयन पत्र दर्ता गराउनको निमित्त नेपाल चिकित्सक संघको सदस्यता लिएको अवधि ७ वर्ष र सदस्यहरुको लागि संघको सदस्यता लिएको अवधि ४ वर्ष पुगेको हुनु पर्नेछ ।

नेपाल चिकित्सक संघ केन्द्रीय निर्वाचन समितिको मिति २०७९ पौष २ गते शनिबार बसेको बैठकको निर्णय बमोजिम यस निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदा उम्मेदवार स्वयं उपस्थित भई गराउन सकिने वा स्वयं उपस्थित हुन नसकेको अवस्थामा नेपाल चिकित्सक संघको आजीवन सदस्यलाई वारेसनामा दिई नीज मार्फत उम्मेदवारी दर्ता गराउन सकिने सूचना नै जारी गरी जनाएको ।

पूर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार २०७९ पौष ३ गते बिहान १० बजेदेखि दिउसो २:०० बजे सम्म रु. १०० (अक्षरुपी एक सय रुपैयाँ मात्र) लिएर उम्मेदवारका लागि मनोनयन पत्र लिन सकिने व्यवस्था गरेको उल्लेख गरिएको छ।

संघमा आबद्ध सदस्य संख्या १२ हजार ८ सय ३४ जना रहेको संघले जारी गरेको सदस्य सुचीमा जनाएको छ । २० जना सदस्यबाट विक्रम संवत् २००७ मा स्थापना भएको नेपाल चिकित्सक संघले यो २९ औँ अधिवेशन गर्दैछ । अधिवेशनमा चयन भएको कार्यसमितिको अवधि २ बर्षको रहने छ । यस अघि सन् २०२० मा २८ औँ अधिवेशनले डा. लोचन कार्की अध्यक्ष र डा.बद्री रिजाल महासचिवको नेतृत्वमा कार्यसमितिको चयन गरेको थियो ।

२०७९ को निर्वाचनका लागि उम्मेदवारी दर्ता यसप्रकार रहेको छ :

अध्यक्ष : डा अनिल विक्रम कार्की, डा सन्तोष पौडेल, डा शिवजी सिलवाल
वरिष्ठ उपाध्यक्ष : डा बद्री रिजाल
उपाध्यक्षहरु :
प्रदेश १ : डा विपेश आचार्य, डा पार्थ गुरागाईँ, डा यज्ञराज खरेल
मधेश प्रदेश : डा नीरजकुमार सिंह, अजयकुमार मिश्र, डा महेश महासेठ
बागमती प्रदेश :  डा प्रकाश बुढाथोकी, डा सञ्जयकुमार ठाकुर
गण्डकी प्रदेश : डा राजन शर्मा, डा विकास गौचन
लुम्बिनी प्रदेश : डा नन्दाकुमारी गुरुङ
कर्णाली प्रदेश : डा केशरबहादुर ढकाल
सुदूरपश्चिम प्रदेश : डा प्रशान्त भट्ट, डा प्रविनकुमार एडी, डा नीरज अर्याल
महासचिव :डा सञ्जीव तिवारी, डा रक्षा श्रेष्ठ, डा अमृत भुसाल
कोषाध्यक्ष :  डा प्रमोद जोशी, डा अञ्जना महर्जन
सहसचिव : डा लिजन महर्जन
सह कोषाध्यक्ष : डा विक्रान्त ढकाल
सदस्यहरु :   डा अमितरञ्जन मिश्र, डा मनोरद्धिन सैयद, डा सिर्जना विष्ट, डा किशोर खत्री, डा यशुसेन मल्ल, डा योगेनकुमार यादव, डा चेतन बस्नेत र डा रामकृष्ण आचार्य रहेका छन् ।

त्यस्तै डा स्मृति महत, डा पदम नेपाली दर्जी, डा अभियान गौतम, डा कुम्भराज जोशी, डा सुरेन्द्र यादव डा रमेश श्रेष्ठ र डा इनामुल हकले पनि सदस्य पदमा उम्मेदवारी दर्ता भएको संघले जनाएको ।

 

 

प्रतिक्रिया दिनुहोस्