नेपाल-भारत संयुक्त सैन्य अभ्यास रुपन्देहीमा



काठमाडौं । नेपाली सेना र भारतीय सेनाको युद्धकला र विपद् व्यवस्थापनका लागि संयुक्त सैन्य अभ्यास शुरु भएको छ । उक्त अभ्यास आज (शुक्रबार) रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कुलमा शुरु भएको हो ।

मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमकाबीच दुई देशका सेनाहरुको संयुक्त सैन्य अभ्यास आजबाट शुरु गरेको सेनाले जनाएको छ ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरि संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यहीँ महिनाको १४ गते सम्पन्न हुनेछ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको १५औँ संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।विक्रम संवत् २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलता पूर्वक सञ्चालन भई सकेको छ ।

यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्ने छन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ ।

यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरु बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्