जनशक्ति र पूर्वाधार अभावमा विद्यालय सञ्चालनमा समस्या



म्याग्दी ।  

विकासको मूल आधार शिक्षा भनिए पनि शैक्षिक क्षेत्रमा पर्याप्त मात्रामा शिक्षक दरबन्दी र भौतिक पूर्वाधारको व्यवस्था हुन नसक्दा विद्यालयहरु समस्यामा परेका छन् । सरकारले वर्षैपिच्छे शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आइरहे पनि दुर्गमका विद्यालयहरुले शिक्षक दरबन्दीको अभाव झेलेका हुन् ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीस्थित खिबाङमा सञ्चालित चन्द्रज्योति माध्यमिक विद्यालयले पनि शिक्षक दरबन्दीको अभाव झेलिरहेको छ । हाल यस विद्यालयमा प्रावि तहदेखि माविसम्म दरबन्दी, राहत, अनुदान, निजी र ननटिचिङ स्टाफसहित कुल १५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । २०१७ सालमा स्थापना भएको विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म अहिले २ सय १४ जना विद्यार्थीले पढ्छन् ।

विद्यालयमा प्राथमिक तहको दरबन्दीतर्फ ४ जना, राहततर्फ २ जना, निम्नमाध्यमिक राहत २ जना, गाउँपालिका अनुदान माध्यमिक तहको १ जना, शैक्षिक सहायता अनुदान १ जना, बालविकास सहयोगी कार्यकर्ता १ जना, कार्यालय सहायक १ जना, सहयोगी १ जना र स्थानीय स्रोत (निजी)तर्फ २ जनासहित कुल १५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश आचार्यले बताउनुभयो । २०५७ सालबाट कक्षा ६ सञ्चालन गरिए पनि आर्थिक अभावले बन्द भएपछि ०६१ सालमा अनुमतिसहित पुनः कक्षा ६ सञ्चालन भएको थियो ।

‘नेपाल सरकारले दिएको र स्थानीय तहबाट उपलब्ध सबै गर्दाखेरी ननटिचिङसहित जम्मा १३ जनाले माध्यमिक तह धान्न परिरहेको छ’, उहाँ भन्नुहुन्छ– ‘अन्य हामी निजी स्रोतबाट सञ्चालनमा छौं । हामीले मासिक १ लाख रुपियाँ खर्च व्यवस्थापन गरेर पनि चलाइराखेको हो । अहिले स्थानीय सरकारले दिएको सहुलियतले गर्दा हामी झन्डै मासिक ५० हजारमा सीमित भएका छौं । तैपनि नियमित रुपमा वार्षिक अब समुदायले सहयोग गर्नेभन्दा पनि निकै कठिन हुँदोरहेछ ।’ अझै त्यसमा पनि चुनौती आइरहेका छन् ।

विभिन्न समुदायमा आइपर्ने सामाजिक कार्यमा विद्यालयको तर्फदेखि स्वागतलगायत कार्यक्रमहरु लगेर मानिसहरु जम्मा भएको ठाउँमा पुगेर हात थाप्नुपरेको प्रअ आचार्य बताउनुहुन्छ ।समुदायले विद्यालयको अवस्था हेरेर सहयोग गरिरहेको बताउँदै प्रअ आचार्यले जेनतेन विद्यालय सञ्चालन गरिएको बताउनुभयो । सरकारको सानो लगानीले पनि विद्यालय अहिलेको अवस्थामा आएको हुँदा शैक्षिक प्रगति हासिल गर्नेतर्फ पनि अन्य विद्यालयहरुको तुलनामा प्रतिसर्पधात्मक अवस्थामा रहेको उहाँको भनाइ छ ।

यस विद्यालयमा २०७० सालमा कक्षा १० सञ्चालन गरी पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) हालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा १८ जना विद्यार्थीहरु सहभागी बनेका थिए । शिक्षक दरबन्दीको अभावसँगै विद्यालयले भौतिक पूर्वाधारको पनि अभाव झेलिरहेको जनाएको छ । विद्यालयमा बाल शिक्षा सञ्चालन गरिएको भए पनि बालविकास भवन संरक्षण गर्नका लागि घेराबार तथा छात्रा शौचालयको आवश्यक रहेको बताउँदै प्रअ आचार्य भन्नुहुन्छ– ‘भूकम्प पुनर्निर्माण प्राधिकरणअन्तर्गत शिक्षाको सहयोगमा चारकोठे विद्यालय भवन निर्माण भएकोमा ११ लाख रुपियाँ ऋण लागेको छ ।’

धवलागिरि गाउँपालिकाका सूचना अधिकारी ख्यामराज सुवेदीले पालिकाभित्र सञ्चालित ११ वटा मावि विद्यालयहरुमध्ये ९ वटा प्रस्तावित मावि रहेकाले दरबन्दी अनुसारको शिक्षक जनशक्ति उपलब्ध नभएको बताउनुभयो । गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भौतिक पूर्वाधारको व्यवस्थापन गर्नका लागि आवश्यक पहल थालिएको जनाइएको छ । शिक्षा ऐनअनुसार कक्षा १ देखि १० सम्म सञ्चालन भएका विद्यालयहरुमा शिक्षक दरबन्दीअनुसार १४ जनाको जनशक्ति हुनुपर्ने व्यवस्था छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६९ वटा शैक्षिक संस्था सञ्चालनमा रहेका छन् ।जिल्लामा सामुदायिकतर्फ २ सय ३९, संस्थागततर्फ २३, क्याम्पस ४, अनौपचारिक, धार्मिक र संस्कृतका एक–एकवटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्