विराटनगरको डुबान समस्या समाधानका लागि सम्भाव्यता अध्ययन शुरू



विराटनगर ।

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन शुरू गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन शुरू गरेको हो ।

वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रूपमै डुबानबाट मुक्त गर्न एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन शुरू गरेको मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डीएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन शुरू गरेको मेयर कोइरालाले बताउनुभयो । विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीबीका कन्सलट्यानहरूबाट अध्ययनको सुरुवात गरिएको उहाँको भनाइ छ ।

त्यस्तै, पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पु-याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ ।विराटनगरको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको भाग हेरिरहेको छौं, मेयर कोइरालाले भन्नुभयो– ‘एडीबीबाट आएका साथीहरूसँग म आफैं हिँडिरहेको छु ।

उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौं ।’मेयर कोइरालाले वैज्ञानिक ढंगले व्यवस्थापन नगरेसम्म महानगरको डुबान समस्या समाधान नहुने बताउनुभयो । उहाँले प्राविधिक टोलीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

स्मेक डीएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ ।टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । आफूले चुनावकै बेला विराटनगरलाई डुबानमुक्त बनाउने वाचा गरेअनुसार नै काम शुरू गरेको मेयर कोइरालाको भनाइ छ ।

‘म मात्रै होइन विराटनगरलाई डुबानमुक्त बनाउन उपमेयर र वडाध्यक्षहरू तथा सबै कार्यपालिका सदस्यहरूको गम्भीर हुनुहुन्छ’, मेयर कोइरालाले भन्नुभयो– ‘वर्षाको पानीबाट हुने डुबानको व्यवस्थापन गर्न सकियो भने हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । प्राविधिकसहितको टोलीले विराटनगर वडानम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ ।’

प्राविधिक टोलीले खोला र पैनीको वर्षात्को समयमा हुने अवस्थाबारे स्थानीसितसमेत कुराकानी गरेको थियो । महानगरका डुबान समस्या भएका अन्य वडाको पनि अध्ययन गर्नेछ । अध्ययन टोलीलाई सम्बन्धित वडाका अध्यक्षले समेत डुबानका बारे जानकारी गराएका थिए ।

वडानम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले वर्षातको पानीका कारण हुने समस्या राखेका थिए । उनीहरूले वडामा बढी डुबान हुने स्थानमै पु¥याएर टोलीलाई अवलोकन गराएका थिए ।टोलीमा महानगरका इन्जिनियरहरू पनि सहभागी थिए । अझै केही दिन विराटनगरका अध्ययन वडामा पुगेर अध्ययन गर्ने टोलीमा सहभागी नवराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्