अलिना अधिकारीको कुल मन्दिर उद्घाटन



कास्की ।

कश्यप गोत्रीय अलिना अधिकारीको कुल मन्दिर उद्घाटन तथा प्रथम कुल पूजा समारोह सम्पन्न भएको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६, अस्तामबाट देशका विभिन्न स्थानमा बसोवास गर्ने कश्यप गोत्रीय अलिना अधिकारी बन्धुहरुको पहिचान गरी एकताबद्व गर्ने उद्देश्यले कुल मन्दिर निर्माण गरी विशेष समारोह विच विहिवार मन्दिरको उद्घाटनसँगै कुलपूजा गरिएको अधिकारी समाज अस्ताम इकाई समितिका अध्यक्ष विश्वराज अधिकारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार अधिकारी बन्धुहरुका घरवाट पूजाकालागि ल्याइएका सामग्रीहरुवाट विशेष किसिमको खीर पुवा बनाई विशेष मन्त्रोच्चारण सहित विशेष पूजा गरी मन्दिरको उद्घाटन गरिएको हो ।पूर्खौली मूल थलोमा बनेको मन्दिरमा कश्यप ऋषिका १३ वटा श्रीमती रहेका र १३ वटै श्रीमतीका सन्तानले दर्शन गर्न सकुन भनि निर्माण भएको मन्दिरमा १३ ढोका, १३ छाना, १३ वटा सिंढी रहेका छन् ।

कास्की निवासी सर्लाहीका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको प्रमुख आतिथ्यता, जुम्ला निवासी नेपाल सरकारका उपसचिव उमाकान्त अधिकारीको विशेष आतिथ्यतामा आयोजित मन्दिर उद्घाटन एवं कुलपूजा कार्यक्रममा देशका विभिन्न स्थानमा वसोवास गर्ने अधिकारी बन्धुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रमुख अतिथि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले अधिकारी बन्धुहरूको कुलपूजा परम्पराले बन्धुत्व एकता र सांस्कृतिक पहिचानका लागि आफ्नो संस्कार, संस्कृति र परम्परा सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताउदै विदेशी संस्कृतिको अतिक्रमणबाट बचाउन भावी पुस्तालाई सचेत बनाउन फलदायी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

विशेष अतिथि नेपाल सरकारका उपसचिव उमाकान्त अधिकारीले कश्यप गोत्रीय अधिकारीको उद्ग़म थलो जुम्लाबाट चारदिनको यात्रासँगै छायामा परेको जुम्लाको अधिकारी आज अस्तामले उजागर गरेको बताउनु भयो । उहाँले यो हामी सबैको लागि ख़ुशी एवं गौरबको क्षण रहेको समेत बताउनु भयो । मुख्य रूपमा अधिकारीको थातथलो जुम्लाको सिंजा र नुवागाउँ रहेको, नुवागाउँका उन्या अधिकारीको बिसं १३२० को ताम्रपत्रमा उल्लेख भएको विवरणले पुष्टि गरेको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा कश्यप ऋषि मन्दिर निर्माण तथा आर्थिक व्यवस्थापन समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार कश्यप गोत्रीय अलिना अधिकारी कुल मन्दिर निर्माणका लागि हालसम्म एकचालिस लाख उनान्चालिस हजार ७ सय १ रूपैया खर्च भएको छ । २०७४ साल फागुनमा मन्दिर निर्माण समिति तथा आर्थिक ब्यावस्थापन समितिगठन गरी निर्माण थालनी गरिएको मन्दिर निर्माणको कार्य ९० प्रतिशत जती काम सम्पन्न भएको बाँकी १० प्रतिशत काम पनि छिट्टै पूरा गरी मन्दिरलाई पूर्णता दिने संयोजक अधिकारी जानकारी दिनुभयो ।

अधिकारी समाज अस्ताम इकाई समितिका अध्यक्ष विश्वराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकारी समाज कास्कीका अध्यक्ष लिलाधर अधिकारी, पूजा ब्यावस्थापन समितिका संयोजक देविप्रसाद अधिकारी, मन्दिरका लागि जग्गादाता गणेश अधिकारी लगाएतले कश्यप गोत्रीय अलिना अधिकारी बन्धुहरुको पहिचान गरी एकताबद्व गर्दै आपसी सद्भाव र भातृत्व अभिबिद्वि गर्न र गोत्रीय बन्धुहरू विच घनिष्टता दिन कुल मन्दिर निर्माण गरिएको कुरामा जोड़ दिएका थिए ।सो अवसरमा मन्दिर निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता र रक़म दान गर्ने चन्दादाता र १०१ बर्षिय शताब्दी महिला मणिकर्णी अधिकारीलाई सम्मान(पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्