दरबारमार्गको स्वरूप फेरिँदै



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ । संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो ।

त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्वजनिक निर्माण विभाग निर्देशक रामबहादुर थापासहित वडा कार्यालयसहितको बैठक बसेको थियो । बैठकमा नामअनुसारको क्षेत्रको परिचान गर्न सौन्दर्यीकरण अपरिहार्य रहेकोले आवश्यकताको आधारमा बजेट व्यवस्थापन गर्नेगरी सौन्दर्यीकरण गरिने सम्बन्धमा छलफल भएको थियो ।

सार्वजनिक निर्माण विभागका निर्देशक थापाका अनुसार दरबारमार्गमा प्रविधिमैत्री फुटपाथ निर्माण, ढल व्यवस्थापन, पार्किङ व्यवस्थापन, डिस्प्ले बोड राख्ने, वृक्षरोपण गर्नेलगायतका योजना बनेको छ । उहाँले भन्नुभयो– ‘रेलिङ निर्माण गर्नेछांै, सवारी साधनको व्यवस्थापन गर्न भूमिगत तलामा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागेका छौं ।’ यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काण्ठमण्डपको आकृति सहितको रेलिङ राखेको थियो ।

दरबारमार्गमा नारायणहिटी दरबारको झल्को आउनेगरी रेलिङ राख्ने तयारी गरेको छ । राजधानीको सबैभन्दा ब्यस्त बजारको रुपमा रहेको दरबारमार्गको विकास गर्न स्थानीय सुधार समिति, कामपा र वडा कार्यालयको सहभागिता रहनेछ । कामपाले हाल सो क्षेत्रको डिजाइन तयार गरिरहेको छ । थापाले सो क्षेत्रको नक्साङ्कन गर्ने र सुझाव लिने काम भइरहेको जानकारी दिनुभयो । कामपाले हाल भइरहेका होडिङ बोर्ड हटाएर डिजिटल डिस्प्ले बोर्ड राख्ने, गमलासहितको विरुवा राख्ने, छुट्टै पार्किङ व्यवस्थापन गर्ने, सडकको विभिन्न भागमा बत्ती जडान गर्ने, सोलार बत्ती हटाएर सिटी लाइनको व्यवस्था गर्नेलगायतको योजना सार्वजनिक गरेको छ ।

यसअघि कामपाले विभिन्न स्थानमा रहेको आइल्यान्डको सौन्दर्यीकरण गरिसकेको छ । अब भद्रकालीको सडक र फुटपाथ व्यवस्थापन गर्ने तयारी भइरहेको छ । महानगरले पुतली सडक, बानेश्वर, बागबजारलगायतका क्षेत्रमा सौन्दर्यीकरण गर्न लागेको हो । महानगर प्रहरीले शहर कुरुप देखिने सबै प्रकारको होर्डिङ बोर्ड हटाइसकेको छ ।

राजधानीको सौन्दर्यीकरण गर्न महानगरको सहरी योजना आयोगले सबै क्षेत्रको डीपीआर तयार गरिरहेको छ । डीपीआर अनुसार विकास निर्माण गर्न महानगरको टिमले काम गरिरहेको जनाएको छ । दरबारमार्गको काम शुरु हुनासाथ बाँकी क्षेत्रको डीपीआर तयार गरी सौन्दर्यीकरणको काम शुरु गर्ने तयारी भइरहेको विभागीय निर्देशक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्