‘अब सुदूरपश्चिम समृद्ध बन्छ’



 धनगढी। 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश अस्थायी मुकामसमेत रहेको धनगढी पुगेर उहाँले यस्तो बताउनुभएको हो।

बिहीबारदेखि कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले अब सुदूरपश्चिम समृद्ध हुने दाबी गर्नुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुदूरका गेमचेन्जर आयोजना पञ्चेश्वर आयोजना र पश्चिम सेती निर्माणको लागि चासो देखाएको पनि देउवाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले म दिल्ली जाँदा होस् वा उहाँ लुम्बिनी आउँदा होस् पश्चिम सेती आयोजनाको बारेमा चासो राख्नुभएको छ। पश्चिम सेती भारतीय कम्पनीले निर्माणको लाइसेन्स पाइसकेको छ। त्यो भरपर्दो कम्पनी हो ठग्ने कम्पनी होइन’, उहाँले थप्नुभयो, ‘त्यो अवश्य पुरा हुने छ। पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने छ।’ पश्चिम सेतीको निर्माणका लागि  भारतीय कम्पनीले लाइसेन्स लिइसकेको उहाँले जिकिर छ। आफूले पञ्चेश्वर र पश्चिम सेती जलविद्युत आयोजनालाई पूर्णता दिने र यसले सुदूरपश्चिमको समृद्धिमा योगदान पुर्‍याउने उहाँको दाबी छ।

यस्तै उहाँले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाह निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि म प्रतिबद्ध छु।’

अर्को सन्दर्भमा बोल्दै उहाँले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो। सुदूरपश्चिम प्रदेशलाई शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक विकासका क्षेत्रमा जोड्न सकिने उहाँको कथन छ। ‘हाम्रो प्रदेश दुवै छिमेकी मुलुक (भारत र चीन) सँग सम्बन्ध जोडिएको भएकाले आर्थिक हबको रुपमा पनि विकास गर्ने सम्भावना छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरी काम गर्नुपर्छ। यहाँका स्थानीय सम्भावनाहरू र प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्छ।’

गौरीफन्टा नाका स्तरोन्नति

प्रधानमन्त्री देउवाले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पनि पुन: भारतका प्रधानमन्त्रीसँग कुरा राख्ने बताउनुभएको छ। कैलालीसँग जोडिएको गौरीफन्टा नाकालाई भारतसँग कुरा गरेर थप सहज बनाउने उहाँले बताउनुभयो।

देउवाले यसअघि आफ्नो भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसित यस नाकाको स्तरोन्नतिबारे कुरा राखेको पनि दाबी गर्नुभयो। उहाँले भारतीयले दुधवा राष्ट्रिय निकुञ्जलाई महत्त्वपूर्ण मान्ने भएकाले नाकाको स्तरोन्नति हुन ढिलाइ भएको र यसबारे उपाय निकाल्न सकिने जिकिर गर्नुभयो।

यो नाका हुँदै पलिया पुग्ने बाटाहरू वैकल्पिक भएकाले पुन: भारतसँग छलफल गर्ने उहाँको भनाइ छ। यस्त नेपाललाई कोभिडले धेरै ठूलो समस्या पारेको स्मरण गर्दै देउवाले आफूले खोप ल्याउँछु भनेर बोलेको कुरा पूरा गरेको बताउनुभयो। त्यस्तै डोटीलगायतका जिल्लामा भुईँचालोले जनधनको क्षति भएको विषयमा देउवाले पीडितका दुख पीडामा सहभागी भएर सरकारले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। देउवा महोत्सवको उद्घाटन गरेर काठमाडौँ फकिनुभएको थियो।

यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी आउनुभएका देउवालाई १५ किलोको माला लगाइएको थियो। १५ बुँदे मागसहित देउवालाई महोत्सवमै १५ किलोको माला लगाइएको हो। १५ बुँदे मागमा गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आइटी हबलगायत रहेका छन्। कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन। हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करणको हो। महोत्सवमा ४ सय बढी स्टलहरू रहेका छन्। कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक अन्य स्टल रहेका छन्।

प्रधानमन्त्री देउवाले महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुुग्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्