मधेस प्रदेश सत्ताको चाबी मधेसवादी दलकै तख्तामा



वीरगन्ज । देशैभर एकै चरणमा सम्पन्न आम निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै मधेश प्रदेशमा सरकार गठनका लागि संसदीय जोड घटाउ शुरु हुन थालेको छ ।

मधेस प्रदेशमा मधेसवादी दल तुलनात्मक रूपमा कमजोर भए पनि सरकार गठनका लागि यी दलको भूमिका महत्वपूर्ण हुने देखिएको छ । १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ८ गरी २३ सांसदसहित पहिलो दलको हैसियत बनाएको छ । नेपाली कांग्रेस भने प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ गरी २२ सांसदसहित दोस्रो हैसियतमा छ ।

कांग्रेस र एमाले विपरीत ध्रुवमा रहेर गठबन्धनसहित चुनावमा सहभागी भएका थिए । त्यस आधारमा यी दुई दल मिलेर सरकार गठन हुने सम्भावना न्यून छ । कांग्रेस र एमाले विपरीत ध्रुवमा रहँदा यी दलको पक्ष र विपक्षमा कुन-कुन दल कसरी ध्रुवीकृत हुन्छन् भन्ने विषयले नै मधेस प्रदेशमा कसले सरकार बनाउँछ भन्ने निर्धारण गर्ने कुरा यहाँको राजनीतिक बृत्तमा चर्चा छ ।

मधेसवादी दलका रूपमा रहेको जनमत पार्टीले प्रत्यक्षतर्फ ६ र समानुपातिकमा ७ सिटसहित जम्मा १३ सिट जितेको छ । यस्तै, जसपा नेपालले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जितेको छ । लोसपा नेपालले भने प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी जम्मा ९ सिट जितेको छ ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी जम्मा ८ सिट पाउँदा अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट गरी जम्मा ७ सिट पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेशसभामा एक–एक सिट पाएका छन् भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् ।

यो संसदीय अंकगणितबाट सत्तारुढ गठबन्धनको पक्षमा बहुमत जुटाउन गठबन्धन बाहिर रहेका दललाई पनि साथ लिन आवश्यक हुन्छ । कांग्रेसको २२, माओवादी केन्द्रको ८, एकीकृत समाजवादीको ७ र लोसपा नेपालको ९ गरी सत्तारुढ गठबन्धनसँग जम्मा ४६ सांसद हुन्छन् ।

बहुमतका लागि यो गठबन्धनलाई थप ८ सांसद आवश्यक हुन्छ । यी ८ सांसद जुटाउन सत्ता गठबन्धनले १३ सांसद रहेको जनमत पार्टी वा १६ सांसद रहेको जसपा नेपालको साथ लिनुपर्ने अवस्था छ । यस्तै, एमाले नेतृत्वको गठबन्धनमा जसपा नेपाल कायम रहेको अवस्थामा एमालेको २३ र जसपा नेपालको १६, राप्रपाको एक गरी जम्मा ४० सांसद हुन्छन् ।

बहुमतका लागि कम्तीमा १४ सांसद यो गठबन्धनका लागि अपुग हुन्छ । यस्तो अवस्थामा १३ सिट रहेको जनमत पार्टीका अतिरिक्त एक सिट रहेका नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टी मध्ये कुनै एकको समर्थन लिनुपर्ने हुन्छ । स्वतन्त्र निर्वाचित भएकामध्येबाट पनि एमालेले विकल्पका रूपमा साथ लिन सक्ने अवस्था देखिन्छ ।

मधेस प्रदेशमा मधेसवादी दलहरुमात्र मिलेर सरकार गठन गर्ने सम्भावना भने छैन । मधेसवादी दलमध्ये जनमत पार्टीको १३, जसपा नेपालको १६, लोसपा नेपालको ९ गरी जम्मा ३८ सिट हुन्छ । ६ स्वतन्त्र र अन्य साना दल समेट्दा समेत मधेसवादी दलले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने अवस्था देखिँदैन ।

हाल भने मधेसमा कांग्रेस र माओवादीको समर्थनमा मुख्यमंत्रीको रूपमा जसपा रहेको छ र यसैका नेता पर्सा निवासी लालबावु राउत मुख्यउमंत्री रहनु भएको छ । उहाँ पुनः मुख्यमंत्रीमा दोहोरिने इच्छा जनाएको भएपनि जसपाभित्रै विवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्