एक्ला विद्यार्थीका एक्ली शिक्षिका !



पर्वत । गाउँघरमा सामुदायिक विद्यालयहरू विद्यार्थीविहीन बन्दै जाँदा एउटा विद्यार्थीलाई पढाएर एक्ली शिक्षिकाको जागिर धान्नुपर्ने अवस्था देखिन छ । यस्तै अवस्था छ, पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित दुर्गाभवानी विद्यालयको पनि । कक्षा पाँचसम्म अध्यापन हुने विद्यालयमा अहिले एक शिक्षिक र एक जना विद्यार्थी मात्र छन् ।

विद्यालयमा अहिले शिक्षिका ठाकुकुमारी केसीले एक्ला विद्यार्थी निरज लम्साललाई पढाएर दिन बिताउनु हुन्छ । निरज पनि बालबिकास केन्द्रका एक्ला विद्यार्थीको रूपमा विद्यालय आउने गरेका छन् । विगतमा पाँच कक्षासम्म अध्यापन हुने र विद्यार्थी भरिभराउ हुने भएपनि बसाइँसराइ र निजी बिद्यालयमा पढाउन अभिभावक शहर झरेपछि विद्यालय रित्तिएको हो ।

विदार्थी नभएपछि त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटाइएको छ । अहिले शिक्षिका केसी एक्लैले विद्यालय धानी रहनुभएको छ । ‘गत वर्षसम्म १०/१५ विद्यार्थी नियमित पढ्न आउँथे,’ उहाँले भन्नुभयो । ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ । तर, बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’

विद्यार्थीविनाको विद्यालयमा आउँदा न्यास्रो लाग्ने गरेको शिक्षिका केसीले सुनाउनु हुन्छ । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहाना रहेको उहाँले बताउँनु भयो । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घण्टा टाढाको विद्यालयमा पुग्छन् ।

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो,’ स्थानीयवासी शेरबहादुर केसीले भन्नुभयो । ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’

गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ । ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन ।’ गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भन्नुभयो, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्त बुझ्दो नभएर समस्या छ ।’

दुर्गा भवानी प्राथमिक विद्यालय विक्रम् संवत २०४० मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्