१२ लाख ८८ हजार ३ सय ५८ मत खेर



काठमाडौं । 

यसपटकको आम निर्वाचनमा ३९ वटा पार्टीले थ्रेस होल्डको सीमा कटाउन नसक्दा १२ लाख ८८ हजार ३ सय ५८ मत खेर गएको छ । प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ ती दलले थ्रेस होल्डको सीमा कटाउन नसकेकोले सो मत खेर गएको हो ।

यसपटकको खेर गएको मतको संख्या २०७४ सालको निर्वाचनमा खेर गएको मत संख्याभन्दा बढी हो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक थ्रेसहोल्ड कटाउन नसक्दा करिब १० लाख मत खेर गएको थियो । सो निर्वाचनमा ४४ वटा दलले भाग लिएका थिए भने यसपटक ४८ वटा दलले भाग लिएका छन् ।प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन भनी उल्लेख गरिएको छ ।

थ्रेसहोल्डको सीमा नकटाएका दलहरूमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) (प्राप्त मत संख्या २,९८,३९१), नागरिक उन्मुक्ति पार्टी ( प्राप्त मत संख्या २,७१,७२२), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ( प्राप्त मत संख्या १,६७,३६७), नेपाल मजदुर किसान पार्टी (प्राप्त मत संख्या ७५,१६८) र हाम्रो नेपाली पार्टी ( प्राप्त मत संख्या ५५,७४३) रहेका छन् ।

त्यसै गरी मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी(माक्र्सवादी लेनिनवादी), राष्ट्रिय जनमुक्ति पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी-नेपाल नौलो जनवादी पार्टी-सचेत नेपाली पार्टी-नेपाल सुशासन पार्टी ), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी नेपाल, नेपाली कांग्रेस (बी.पी.), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाली जनता दलले पाएको मत पनि खेर गएको छ ।

बहुजन शक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), मितेरी पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, जनसमाजवादी पार्टी नेपाल, एकल चिह्न गितार (सामाजिक एकता पार्टी-नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)-नेपाल दलित पार्टी ) र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले पाएको मत पनि खेर गएको छ ।

विवेकशील साझा पार्टी, एकीकृत शक्ति नेपाल,नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, राष्ट्रिय नागरिक पार्टी र नेसनलिस्ट पिपल्स पार्टीले पनि थ्रेस होल्डको सीमा नाघ्न सकेनन् ।

आयोगले समानुपातिकतर्फ ६१ प्रतिशत मत खसेको अनुमान गरेको छ । यसअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने देखिएको छ । पछिल्लोपटक दोलखा, स्याङ्जा र बाजुरामा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

थे्रेस होल्डको सीमा कटाएका सात वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यतासहित प्रतिनिधिसभामा सिट पाउने निश्चित भएको छ । ती दलहरूमा नेकपा (एमाले),नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी रहेका छन् ।१ करोड ५ लाख ६० हजार ६७ मतगणना गर्दा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ (२६.९५ प्रतिशत) मत प्राप्त गरेको छ ।

दोस्रोमा कांग्रेसले २७ लाख १५ हजार २ सय २५ (२५.७१ प्रतिशत) मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ (११.१३ प्रतिशत) मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ अर्थात १०.७० प्रतिशत मत पाएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९ अर्थात ५.५८ प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३ सय १३ अर्थात ३.९९ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ अर्थात ३.७४ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ ।

२ सय ७५ सिट रहेको प्रतिनिधिसभामा १ सय १० सिट समानुपातिक निर्वाचनबाट छानिने प्रावधान रहेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ ले खस–आर्य ३१ दशमलव २ प्रतिशत, मधेसी १५ दशमलव ३ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७ प्रतिशत, दलित १३ दशमलव ८ प्रतिशत, थारू ६ दशमलव ६ प्रतिशत, मुस्लिम ४ दशमलव ४ प्रतिशत, पिछडिएको क्षेत्र ४ दशमलव ३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ  । यसबाहेक प्रत्यक्षमा नपुगेको ३३ प्रतिशत संख्या पु¥याउन पनि क्लस्टरमा महिला थप्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्