मालढुङ्गा–बेनी सडक अस्तव्यस्त

यात्रुलाई सास्ती, ठेकेदारलाई काम फर्काउने तयारी



पर्वत।
स्तरोन्नतीको चरणमा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक अलपत्र परेको छ ।
मालढुंगा—बेनी सडकको ठेकेदार कम्पनीले काम छाडेपछि चार महिनादेखि सडक अस्तव्यस्त बनेको हो । सडक निर्माणको काम छाडिएका कारण यात्रुले सास्ती बेहोरेका छन भने ठेकेदारलाई काम फर्काउने प्रयास थालिएको छ ।

निर्माणको ठेक्का लिएको मुल कम्पनी र उसले खटाएको सहायक कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिनादेखि काम ठप्प छ । मुल कम्पनी संग असमझदारी पछि सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको छ । निर्माणको जिम्मा लिएको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले अघिल्लो वर्ष सडक स्तरोन्नती थालेको थियो ।

पछिल्लो समय ठेकेदारकाबीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो । ठेकेदारहरुकाबीच एकआपसमा विवाद उत्पन्न हुँदा योजना प्रभावित बनेको उहाँको भनाई छ । ठेकेदारसँग आइतबार छलफल गरेको छौं इन्जिनियर पन्तले भन्नुभयो ‘दुईचार दिन भित्रमा सडक मर्मत थाल्ने, एकहप्ता भित्र मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन हुने ठेकेदार कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।’ आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ ।

राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनाको २०७७ चैतमा ठेक्का सम्झौता भएको थियो । बेनी –जोमसोम –कोरला सडक आयोजनाले ५२ करोड ८६ लाखमा ३१ हजार दुईसय ८१ रुपियाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता गरेको हो । सडक अस्तव्यस्त हुँदा सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । बेनी देखि छुटेका सवारीसाधनहरु मालढुङ्गा पुग्न डेढ घण्टा सम्म समय लाग्ने गरेको छ ।

बेनी र मुस्ताङ भ्रमण गर्न आउने पर्यटकहरुले सडकको दुरवस्थाका कारण घण्टौंसम्म जाममा फस्नुपरेको छ । वर्षातका समयमा सडकमाथिबाट खसेको पहिरो,खाल्टाखुल्टी र अस्तव्यस्त तरिकाले छाडिएका निर्माण सामग्रीका कारण यात्रुहरुले सास्ती भोग्नुपरेको गुनासो बढेको छ ।

आगमी २०७९ को चैत मसान्त सम्म योजना सम्पन्न गर्नेे आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदारले ढिलासुस्ती गर्दा समयमै योजना सम्पन्न हुने देखिदैन । ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्