डिजिटल युगको व्यवस्थापन चुनौती गीत–संगीतमा



रेडियो नेपालको स्थापना २००७ सालमा भयो । त्यसपछि शुरू भयो नेपाली गीत–संगीतको व्यावसायिक इतिहास । त्यसैले नेपाली गीत–संगीतको व्यावसायिक र संस्थागत विकासका दृष्टिले विश्व संगीतको इतिहाससँग तुलना गर्दा अवश्य लामो देखिन्न ।

रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल हुन् । अभिनेतासमेत रहेका स्व. रिमालले २००७ सालमा मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछु गीत रेकर्ड गराएका थिए । शंकर लामिछानेको शब्दमा रिमाल स्वयंले संगीत भरेको गीतबाट उनी रेडियो नेपालको प्रथम गायक बनेका थिए ।

त्यसपछि रेडियो नेपालले समय दिएर विभिन्न गायक गायिकाको गीत रेकर्ड गराउन थाल्यो । संगीत पारखीहरूले नेपाली संगीत जगतमा ३० को दशकलाई स्वर्णिम युगको रूपमा लिएको पाइन्छ । त्यस बेला नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन, तारा थापा, शम्भुजित बाँस्कोटाजस्ता गायन कलाकारका नेपाली संगीत सिर्जनाको स्तर बढेको तथा अजर अमर गीत–संगीत क्षेत्रले प्राप्त गरेको पाइन्छ ।

 

त्यस समय अधिकांश गीत–संगीत रेडियो नेपालको लगानीमा रेकर्ड गरिन्थ्यो । आर्थिक उपार्जनको दृष्टिकोणले हेर्ने हो भने २०६० ताका मात्र संगीत बजार फराकिलो हुन थालेको र गीत–संगीतमा लगानी गरेर पनि बाँच्न सकिन्छ भन्ने आधार निर्माण भएको पाइन्छ । विभिन्न आरोह अवरोह पार गर्दैै वर्तमान स्थितिसम्म आइपुगेको नेपाली संगीत जगत् डिजिटल युगमा प्रवेश गरेपछि एल्बम निकाल्ने चलन हराइसकेको छ । गीतहरू डिजिटल प्लेटफर्ममार्फत् सार्वजनिक हुनेगरेका छन् । कोरोना महामारीसँगै स्टेज तथा विदेशमा हुने कार्यक्रम रोकिएपछि थलिएको संगीत बजार विस्तारै माथि उठ्दै गर्दा संगीत क्षेत्रको विकास तथा विस्तारका लागि थुप्रै चुनौती थपिएका छन् ।

गायक तथा संगीतकार युवराज चौलागाईं संगीत क्षेत्रमा लगानी गरेअनुसार संगीतकर्मीले नाफा लिन नसकेको बताउँछन् । ‘अहिले संगीत क्षेत्रमा लगानी बढी र नाफा कम छ । एउटै गीतको भिडियो निर्र्माण गर्दा ८÷१० लाख रुपियाँ नै खर्च हुन्छ । युट्युवबाट पनि राम्रो आम्दानी छैन भने कार्यक्रम तथा अन्य प्लेटफर्मबाट पनि लगानी सुरक्षित हुने अवस्था न्यून छ । यसरी हेर्दा चुहावट धेरै छ । तर, फिर्ता हुने बाटो कम छ । चुहावट नियन्त्रणमा ध्यान दिन सक्नुपर्छ । अर्को माध्यम भनेको रोयल्टी हो ।

 

रोयल्टी वितरण गर्ने संस्था छन् । तर, त्यसमा पनि विभिन्न झमेला देखिएकाले संगीतकर्मीले फाइदा लिन सकेका छैनन् । यो समस्याको समाधान प्राइभेट संस्थाबाट सम्भव देखिँदैन । त्यस कारण सरकारी पक्षबाट प्रयास हुनुपर्छ’ गायक चौलागाईं भन्छन्– अर्कोतिर युट्युवबाहेक विभिन्न साइटमा गीत बेच्न सकिन्छ भन्ने कुरा संगीतकर्मीलाई ज्ञान नै छैन । गीत–संगीत बजारमा ल्याउँदा पनि म्युजिक कम्पनीसँग राम्रोसँग नबुझीकनै सम्झौता गरिएको हुन्छ ।

त्यसले भविष्यमा पछुताउनुपर्ने अवस्था आउँछ । नीति–नियम कडा बनाएर यी समस्याको व्यवस्थापन गर्नसके संगीत क्षेत्र उत्साहजनक हुन सक्छ । संगीतमा भएका विकृतिका कारणले वास्तविक स्रष्टा ओझेलमा परेका छन् । यस्तै अवस्था भएका राम्रो सिर्जना गर्ने कलाकारले राम्रो सिर्जना गर्ने आँट नगर्न सक्छन् । निराशाका कारण राम्रो गीत–संगीत उत्पादन हुन नसक्नु दुर्भाग्यपूर्ण छ, संगीत क्षेत्रका लागि यो अर्को चुनौती हो ।’

 

संगीतकार राजु सिंह संगीत क्षेत्रमा प्रवेश गर्न कुनै मापदण्ड नभएका कारण यसले भविष्यमा राम्रा गीत–संगीत सिर्जनामा चुनौती थपेसँगै आम्दानी खुम्चिएको बताउँछन् । ‘पहिले गायक–गायिका, संगीतकारका लागि विभिन्न परीक्षा एवम् मापदण्ड हुन्थे । गीत–संगीत सेन्सर भएर मात्र बजारमा जान्थे । अहिले त्यो नभएका कारण बिनामेहनत पनि संगीत क्षेत्रमा प्रवेश गर्नेको लहर छ । तर, मेहनत गर्ने जमात पनि उत्तिकै छ ।

 

अहिले गीत–संगीतको भौतिक बजार छैन । पुराना संगीतकर्मीलाई डिजिटल प्लेटफर्मबारे त्यति जानकारी छैन । डिजिटल कम्पनीले नयाँ–पुराना दुवैखाले संगीतकर्मीलाई समेट्न नसकेका कारण पुराना स्रष्टाले डिजिटल बजारको फाइदा लिन सकिरहेका छैनन् । नेपाली गीत–संगीत संसारभर रहेका नेपालीमाझ पु¥याउन पनि चुनौती छ’ संगीतकार सिंह औंल्याउँछन्– हामीले लोक, पप, आधुनिक विधालाई चिरेर सबैलाई मर्ज गर्दै मौलिक नेपाली संगीतलाई पनि अन्तर्राष्ट्रिय जगत्मा लान जरुरी छ जो एउटा चुनौतीको रूपमा उभिएको छ ।

विभिन्न समयमा संगीतकर्मीको प्रयास र लगनले यस स्थानसम्म आइपुगेको संगीत जगत्लाई अभिभावकत्वको खाँचो छ । त्यो जरुरत सरकारी तवरबाट पूरा हुनुपर्छ । संगीतमा लाग्न त्याग, तपस्या र साधना चाहिन्छ । यस मामलामा हामी जस्ताको लागि त चुनौती छैन । तर, बिनासाधना आउनेले भने संगीतमा टिकिरहन सक्ने सम्भावना छैन । संगीत क्षेत्रमा जम्न उनीहरूका लागि चुनौती हुने नै भयो । यो सँगसँगै उनीहरू स्वयम् पनि नेपाली संगीत क्षेत्रका चुनौती हुन् ।

गायिका प्रविशा अधिकारी भने नयाँ पुस्तामाझ आफूलाई कसरी परिष्कृत गर्दै लैजाने भन्ने कुरा नै चुनौतीको विषय भएको बताउँछिन् । ‘हाल संगीत क्षेत्रमा अत्यन्तै राम्रा नव गायक–गायिकाको प्रवेश भइरहेको छ । मिहिनेत गरेर आउने र तयारीबिना नै आएर पनि गीत चर्चामा आएर भाइरल हुने कलाकार पनि छन् । म संगीत क्षेत्रमा प्रवेश गर्दा निकै मिहिनेत र तयारी गरेर आएकी थिएँ । त्यो बेला अहिलेजस्तो यथेष्ट प्लेटफर्म पनि थिएन । तर, अहिले थुप्रै प्लेटफर्म छन् । अहिले कडा मिहिनेत गरेर संगीतमा लाग्ने पनि धेरै छन् ।

यस्ता खालका गीत–संगीत र यसका सर्जकले संगीत क्षेत्रलाई माथि उठाउँछ । यद्यपि, समयअनुसार अपडेट कसरी गर्ने र उनीहरूका साथ कम्पिटिसन गर्दै कसरी अघि बढ्ने भन्ने चुनौती छ’ प्रविशाको भनाइ छ ।गायिका मिलन नेवार डिजिटल प्लेटफर्मका कारण घर–घरबाट प्रतिभा आइरहेको र संगीत क्षेत्रले तीमध्ये राम्रो प्रतिभालाई चिन्न सक्नुपर्ने बताउँछिन् । ‘अहिले विभिन्न डिजिटल प्लेटफर्मका कारण घरघरबाट आएका प्रतिभालाई राम्रो नराम्रो छुट्याउने काम स्रोताको हो । यससँगै संगीतकर्मीहरूले आफूलाई कसरी पहिलेभन्दा अब्बल बनाउने भन्ने कुराको चुनौती थपिएको छ भने कोरोनाका कारण थलिएको गीत–संगीत बजारलाई पहिलेको भन्दा राम्रो अवस्थामा पु¥याउनुपर्ने ठूलो चुनौतीको विषय बनेको छ’ – मिलन भन्छिन् ।

 

गायक तथा संगीतकार वसन्त सापकोटा भन्छन्, ‘संगीत क्षेत्र डिजिटल युगमा प्रवेश गरेसँगै के कसरी संगीत बजारमा नियमसंगत तरिकाले डिजिटल बजारमा उपस्थिति जनाउने भन्ने चुनौतीको विषय छ भने मिहिनेत नगरीकनै पनि संगीत जगत्मा कलाकारको प्रवेश बढिरहेकाले यस्ता समस्या कसरी सम्बोधन गर्ने भन्ने खालका चुनौती छन् । त्यस्तै रोयल्टी संकलन र वितरणका लागि संघ–सस्थाको व्यवस्था छ । त्यसमा पनि कता के कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौतीकै विषय देख्छु’– वसन्तले भने ।

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पछिल्लो समय संगीतमा लगानी शून्य भएको बताउँछन् । नेपाली संगीत जगतमा चुनौती नै चुनौती छन् । पहिलो चुनौती भनेको प्रतिलिपि अधिकार ऐनमा बौद्धिक सम्पत्तिमा रचयिताको प्रतिलिपि अधिकार हुने र त्यसको आर्थिक अधिकार प्रोड्युसरको हुने भनिएको छ । तर, पारिश्रमीक लिएर गाउने गायकगायिकाले गुटबन्दी गरेर आफंै प्रतिलिपि अधिकारको धनी बन्न खोज्नाले असली प्रतिलिपि धनीको पहिचानमा समस्या आएको छ । केही गायकगायिका र विन्ध्यवासिनी म्युजिक कम्पनीको टसलपछि संगीत उत्पादक कम्पनी पनि गीतसंगीतमा लगानी गर्न डराएका छन्’ सुवासले सुनाए ‘आफंैले लगानी गरेर गीत निकालिदिने अनि १२-१३ वर्ष पछि मुद्दा मामला पनि खेप्नुपर्ने अवस्था देखेपछि किन लगानी गर्ने भन्ने भएको छ ।

म्युजिक कम्पनीले लगानी गरेका आफ्ना सयौं गीत नचल्दा चुप रहने गायकगायिका एउटा गीत चलेपछि कम्पनी विरुद्ध मुद्दा ममला गर्ने अनि तिनै लगानीकर्तालाई चोर भन्ने गर्छन् । यो अवस्थालाई सहज बनाउन सक्ने गायक गायिकाको संघ, संगीतकारका तथा गीतकारको संघले भने सहजीकरण गर्न सकेका छैनन् । दोस्रो कुरा पब्लिक फिगरमा गीत–संगीतको ज्ञानको कमीले यिनै पब्लिक फिगर तथा सेलिब्रेटीको मात्र गीत रहेछ भन्ने भ्रम जनमानसमा पर्ने कारण वास्तविक स्रष्टाको अधिकार हनन भएको छ । तेस्रो कुरा पछिल्लो समय विभिन्न सागितिक कार्यक्रम तथा रियालीटी सोमा अनुमति बिना सित्तैमा गाउँदा त्यसका असली स्रष्टा भने मारमा परेका छन् ।’

गायक, गीतकार तथा संगीतकार शम्भूजित बाँस्कोटा नेपाली गीत–संगीतको संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने कुरामा चुनौती रहेको बताउँछन् । ‘हरेक क्षेत्रमा जस्तै संगीत क्षेत्रमा पनि चुनौती छन् । संगीत जगत्का राम्रा कुरालाई पारख गरेर विकृतिलाई परास्त गर्दै लानुपर्छ । चुनौतीका साथै हामीमा सम्भावना र राम्रा कुरा पनि धेरै छन् । हाम्रो आफ्नोपन, मौलिकता, संस्कृति राम्रो छ ।

त्यही कारण पनि बाहिरी देशको चलचित्रको गीतमा समेत नेपाली टोपी लगाएर अभिनय गरेको देख्न सकिन्छ’ शम्भुजीत भन्छन् ‘संगीतमा नयाँ तथा पुराना स्रष्टाको संरक्षत्वमा चुनौती देखिएकाले त्यसमा सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । नेपाली संगीतले बजार विस्तार गर्दै गर्दा नेपाली मौलिक गीत, लोक दोहोरी गीत, नेपाली चलचित्र गीत भनेको के हो भनेर अन्तर्राष्ट्रिय जगतमा थप चिनाउनका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने देखिन्छ ।

पुराना स्रष्टाहले संगीतमा लाइब्रेरी खडा गरिसक्नु भएको छ । अब नयाँ पुस्ताले त्यसबाट सिकेर अझै राम्रो गर्दै जानुपर्ने बेला आएको छ । अहिले गीत–संगीतबारे सामाजिक सञ्जालदेखि जताततै प्रशंसा मात्र गरेको देखिन्छ । संगीत क्षेत्रको विकासका लागि सधैं राम्रो मात्र होइन, त्यसको क्रिटिसिज्म पनि गर्र्नुपर्छ । यदि त्यसो गरिएन भने तत्कालका लागि त राम्रो देखिएला । तर, भोलिका पुस्ताका लागि त्यसले कस्तो असर पारेको छ भन्ने पनि अविलम्ब सोच्नुपर्छ ।’

गीतकार बद्री पाण्डे सोखिन संगीतकर्मीका कारण नेपाली संगीत बजारमा क्रियाशील भइरहे पनि यसबाट लगानीअनुसारको प्रतिफल भने दिन नसकेको बताउँछन् । अहिले उपत्यकाभित्रै एक सय ४० भन्दा बढी स्टुडियो सञ्चालनमा छन् । देशभरबाट विभिन्न विधाका दैनिक सयवटा गीत–संगीत रेकर्ड हुन्छन् । थोरै बजेटमा सकाउँछु भन्दा पनि एउटा गीतमा लगभग पचास हजार खर्च हुन्छ । यसरी संगीत क्षेत्रमा दैनिक ५० लाख रुपियाँ लगानी भइरहेको छ’ बद्री भन्छन् ‘व्यावसायिक रूपमा भन्दा पनि नाम र सम्मानका लागि भए पनि लगानी गरौं भन्ने सोखका कारण गायक गायिका गीतकार, संगीतकारले लगानी गरेका कारण केही मात्रामा मात्र व्यावसायिक भएका छन् ।

केही मात्रामा राम्रा गीत–संगीत बनेका पनि छन् । यति धेरै गीत–संगीत बजारमा आए तापनि नारायण गोपाल, गोपाल योञ्जनको बेलामा जस्तो स्तरीय गीत–संगीत भने निर्माण हुन सकेका छैनन् । अधिकांशमा नाम, मान सम्मान कमाउने सोख छ’ संगीत प्रतिलिपि संकलन समाज नेपालको महासचिवसमेत रहेका बद्रीले थपे ‘तर त्यो अनुसारको मेहनत भने देखिँदैन । प्रतिलिपि अधिकार ऐनअन्र्तगत अन्य भौतिक सम्पत्ति जस्तै बौद्धिक सम्पत्तिको पनि संरक्षण गर्ने र त्यो वापत रोयल्टी प्राप्त गने नियम छन् ।

तर, ती सबै कागजमा मात्र सीमित भएजस्तो देखिन्छ । सर्जकहरू पनि आफ्नो सम्पत्ती संरक्षण गर्ने र आयआर्जन गर्नेभन्दा पनि विभिन्न प्लेटफर्ममा आफ्नो गीत बजेको सुनेर रमाउने जमात छ । यो संगीत क्षेत्रका लागि चुनौती हो । विभिन्न कार्यक्रम, सार्वजनिक सवारी साधन, होटल रेस्टुरेन्ट आदिमा गीत–संगीत प्रयोग गरे वापत रोयल्टी तिरिँदैन यिनीहरूलाई कसरी रोयल्टीको दायरामा ल्याउनु अर्को चुनौती रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्