थ्रेसहोल्डको संघर्षमा नेकपा समाजवादी



काठमाडौं । 

गत मङ्सिर ४ मा भएको निर्वाचनको मत परिणाम आउँदै गर्दा नेकपा (एकीकृत समाजवादी) लाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकस परेको छ । पहिला सरकारमा गएर पार्टी निर्माण गर्ने भाग्यमानी पार्टीको पहिचान बनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई यो निर्वाचनमा राष्ट्रिय पार्टी बन्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ । प्रत्यक्षमा १० सिट ल्याएर चौथो स्थानमा आएको यो पार्टीलाई समानुपातिकमा तीन प्रतिशत कटाउन मुस्किल पर्ने मत परिणामले देखाएको छ ।

निर्वाचन आयोगका अनुसार यसपटक १ करोड ९ लाख मत खसेको थियो । हालसम्म ९८ लाख ५० हजार मत गणना भइसक्दा एकीकृत समाजवादीले समानुपातिकमा २ लाख ८० हजार नजिक मत पु¥याएको छ । अहिलेकै अनुपात हेर्ने हो भने तीन प्रतिशतका लागि ३ लाख ३० हजार मत कटाउनु पर्छ । बाँकी रहेको मतमा ५० हजारभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । यही अनुपातमा मत ल्याउने हो भने एकीकृत समाजवादीले उक्त मत पाउने सम्भावना कमजोर देखिन्छ ।

सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहज बहुमत पु-याउन पनि समाजवादीले थ्रेस होल्ड कटाउँदा सहज देखिन्छ । यसका लागि पुनः मतदान गर्नुपर्ने दोलखा र बाजुरामा गठबन्धनका दलहरूले समानुपातिकमा कलममा मतदान गरेर सहयोग गर्ने चर्चासमेत भइरहेको छ । अझै ११ लाख मत गन्न बाँकी रहेकाले थ्रेसहोल्ड कटाउने आश नमारेको बताउँदै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अन्तिम सम्ममा हाम्रो थ्रेस होल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने कुरामा हामी आशावादी नै छौं ।’

नेताहरूले आसा राखे झंै थ्रेसहोल्ड कटाउन अब मतदान गर्ने सबै बुथमा गठबन्धनमा सहभागी सबै दलहरूले एकीकृत समाजवादीलाई नै मत दिनुपर्ने हुन्छ । तर, ती भूगोलका कार्यकर्ता र मतदाताहरूले मत हाल्छन् भन्ने ढुक्क हुने अवस्था नरहेको जिकिर गर्दै नेकपा माओवादीका एक नेताले बताए– ‘अर्काको चुनाव चिह्नमा जबरजस्ती मत हाल्नुपर्छ भनेर भूगोलका कार्यकर्तालाई भन्न सकिन्न ।’ अहिलेकै अवस्थामा एमाले ३५, कांग्रेस ३३ राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रले बढीमा १५–१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले बढीमा ८, कम्तीमा ६, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ४ सिट पाउने देखिन्छ ।

यदि गणना बाँकी मतमा एकीकृत समाजवादीले त्यही अनुपातमा मत ल्याउँदै थ्रेस होल्ड कटाएको खण्डमा ४ सिट पाउनेछ । अन्य दलहरूको अनुपात घट्ने हुँदा सिट संख्यासमेत घट्ने अवस्था हुन्छ । अर्को पार्टी ठूलो बनाइदिनकै लागि आफ्नै सिट घटाएर मतदान गर्ने सम्भावना न्यून भएकाले पनि एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने सम्भावना कमजोर देखिएको छ ।
उक्त पार्टीले प्रत्यक्ष चुनाव जितेका १० क्षेत्रको समानुपातिकमा निकै कम मत आएको पाइएको छ । प्रत्यक्षतर्फ तीन सिट जितेको सुदूरपश्चिमका कुनै पनि जिल्लामा समानुपातिक मत १० हजार कट्न सककेको छैन ।

अछाम–२ बाट शेरबहादुर कुँवर, डोटीबाट प्रेम आले र बझाङबाट भानुभक्त जोशी निर्वाचित भएका छन् । डोटीमा एमाले र कांग्रेसले २२ हजारभन्दा बढी मत ल्याउँदा एकीकृत समाजवादीले बल्ल २ हजार कटाएको छ । अर्को जितेको अछाममा एमालेले २८ हजार ल्याउँदा एकीकृत समाजवादीको जम्मा ४ हजार छ भने बझाङमा पनि त्यही अनुपातमा छ । अध्यक्ष माधव नेपालले चुनाव जितेको रौतहट जिल्लाको समानुपातिकमा कांग्रेसले ६५ हजार कटाउँदा एकीकृत समाजवादीको ३२ हजार ७०० मात्रै रहेको आयोगको तथ्यांकले देखाउँछ ।

कर्णालीमा पनि तीन सिट जितेको छ तर जितेकै जिल्लामा पनि समानुपातिक मत बढीमा ५ हजारका दरले आएको देखिन्छ । दैलेख निर्वाचन क्षेत्र १ बाट अम्मरबहादुर थापा, सल्यानबाट प्रकाश ज्वाला र डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका छन् । बुढाले निर्वाचन जितेको डोल्पामा समानुपातिक मतमा एकीकृत समाजवादी चौथो नम्बरमा छ । अन्यको ६ हजार आउँदा एकीकृत समाजवादीको जम्मा १८ सय मत आएको छ । लुम्बिनीको दाङ–१ बाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी विजयी हुुभएको छ । तर, दाङ जिल्लाभरिबाट एकीकृत समाजवादीलाई समानुपातिकमा ४ हजार ६

सय ९१ मत मात्रै प्राप्त भएको छ ।
वागमती प्रदेशको धादिङ–१ बाट राजेन्द्र पाण्डे निर्वाचित हुँदा त्यहाँको समानुपातिकमा ८ हजार हाराहारी मत आएको छ । कृष्णकुमार श्रेष्ठले जितेको बारा जिल्लाकै मत पनि समानुपातिकमा १० हजार पुगेको छैन । उम्मेदवारले जितेकै क्षेत्रमा समानुपातिकमा कमजोर आएकाले बाँकी जिल्लाबाट आउने सम्भावना कमजोर छ । मत गणना नै शुरू नभएका बाजुरा, दोलखा, स्याङ्जा– २ गरी तीन जिल्लामा एकीकृत समाजवादीको प्रभाव कमजोर रहेको छ । यसले गर्दा पनि उक्त पार्टीलाई राष्ट्रिय पार्टी बन्न निकै सकसपूर्ण अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्