दशौं संस्करणको म्युजिक खबर अवार्ड हुने



नौ वर्षदेखि निरन्तर हुँदै आएको म्युजिक खबर म्युजिक अवार्डको १०औँ संस्करण आयोजना हुने भएको छ। अवार्डका लागि गीत-संगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको आयोजकले जनाएका छन्।

कल्चर फर टुरिजम भन्ने मूल उद्देश्यका साथ आन्तरिक रूपमा सांस्कृतिक पर्यटन बढाउन राजधानीलगायत अन्य प्रदेशमा पनि हुँदै आएको अवार्ड शुभकामना मिडिया सोलुनको आयोजनामा हुन लागेको हो।

यसअघि, म्युजिक खबर डटकमले प्रस्तुत गर्दै आएको अवार्डमा गीत-संगीतका विभिन्न ३५ विधामा प्रतिस्पर्धा गराइने आयोजक सुमन वैरागीले जानकारी गराएका छन्। अवार्डमा राष्ट्रिय भावको गीत, फिल्मी गीत, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीत समावेश गरिने उनले जानकारी गराए। वैरागीका अनुसार अवार्डमा गायक–गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छाया“कार, सम्पादक, म्युजिक कम्पनीलगायतका विविध विधामा अवार्ड प्रदान गरिनेछ।

त्यसैगरी, एक जना विशिष्ट कला साधकलाई दीर्घ साधना सम्मान प्रदान गरिने अवार्ड समारोहमा पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनेछ भने एक जना युवा प्रतिभालाई म्युजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिनेछ। त्यस्तै, एकजना कला पत्रकारलाई म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार र एकजना बाल कलाकारलाई बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिने आयोजकले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्