सम्पादकीय : हारबाट सिकौं !



संघीय प्रतिनिधिसभा र प्रदेशसभाले नेपाली कांग्रेस र नेकपा एमालेलाई अधिक मतदान गरेर जिताए पनि वास्तवमा विगतका निर्वाचनको परिणामसँग दाँजेर हेर्दा यी दुवै दलले करिब पाँच प्रतिशतले निर्वाचन हारेका छन् । उनीहरुको हार त्यति बराबर छ जति राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत ।

अर्को शब्दमा भन्नुपर्दा नेका–एमालेको पराजयको दृष्टान्त हो राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान दिएका शक्तिहरु पराजित हुने र नयाँ शक्तिले मत पाउने अवस्थाले ठूला दललाई पाठ सिकाउनुपर्छ । यस परिणामले उनीहरुलाई परिवर्तन हुन प्रेरित गरेन भने वर्तमान शासकीय पद्धतिको पराजय हुनेछ ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन योगदान दिने राजनीतिक दलका उम्मेदवारले पराजय भोगेकोमा जनतामा पनि सन्तुष्टि छैन । निर्वाचन परिणामप्रति अपेक्षित उत्साह देखिएन । मतदाता किन उत्साहित भएनन् भन्ने प्रश्नको जबाफमा ‘आफूले चाहेको चुनाव चिन्हमा भोट हाल्न नपाएपछि किन मतदानमा जाने’ भन्ने प्रतिप्रश्न फेलापरेको छ । ‘पार्टी मनपर्छ तर उम्मेदवार मनपर्दैन, सही प्रतिनिधि भएन’ कतिले यस्तो जबाफ दिए ।

बारम्बार परीक्षण गरिएका, आडम्वरी र असफल नेताहरुलाई नै राजनीतिक दलले उम्मेदवार बनाएका र नयाँ उम्मेदवार जनतासँग नभिजेका भएका कारण पनि मतदातामा निराशा छाएको देखिएको छ । स्वतन्त्र उम्मेदवार इमान्दार हुनसक्ने तर सरकार बनाउने हैसियत बनाउन नसक्ने भएका कारण उनीहरुले पनि मतदाताको मन जित्नसकेको पाइएन । तर नाम नै ‘स्वतन्त्र’ राखेर आएको नयाँ दल राष्ट्रिय लोकतान्त्रिक दलमा भने मतदाताको रुचि तुलनात्मक रुपमा बढी देखियो । प्रत्यक्षतर्फ मतदाताले उम्मेदवार हेरेर मत दिन पाउँछन् भने समानुपातिकतर्फ दलको चुनाव चिन्हमा मतदाताले मत हाल्नुपर्छ ।

स्वतन्त्र उम्मेदवारको भने समानुपातिक मत हुँदैन । मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ गरी कुल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी मैदानमा थिए । त्यसमध्ये प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ जना, प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार रहेको निर्वाचन आयोगको तथ्यांकले बताउँछ । त्यस्तै प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको जनाइएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १ सय ९९ र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा रहेको बताइएको छ ।यसपटकको निर्वाचनमा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय रहेपनि यसको करिब ६१ प्रतिशत मतदाताले मात्र मतदान गरे ।

राजनीतिक दलका नेता तथा कार्यकर्ताले सांगठनिक दबाबका कारण मतदान गरेतापनि उनीहरुले चारै मतपत्रमा समान चिन्ह रोजेको नहुनसक्ने अवस्था पनि यस पटक देखिएको छ । एकातिर गठबन्धन दलका कार्यकर्ताले चाहेर पनि यसो गर्न नसक्ने अवस्था रह्यो भने स्वतन्त्र मतदाताले प्रत्यक्ष र समानुपातिकमा फरक–फरक दल र व्यक्तिलाई छानेको पाइयो । जनताको यस निराशालाई बुझेर राजनीतिक दलले आफूमा समयसापेक्ष सुझाव ल्याउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्