समानुपातिकमा पनि पहिलो बन्यो पर्सामा काँग्रेस



वीरगन्ज। 

यही मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि सबै भन्दा बढी मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढी ६६ हजार ६७५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४२ हजार ९७५ मत पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ३८ हजार ४२१ मतका साथ तेस्रो स्थानमा झरेको छ । राप्रपा २० हजार ८७३ .मतका साथ चौथो , नेकपा माओवादी केन्द्र १३ हजार २७४ मतका साथ पाँचौँ र रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ५५१ मतका साथ छैटौँ शक्ति पर्सामा बनेको छ । सातौँ स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ५ हजार ७३१ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ५ हजार ४३ मतका साथ आठौँ स्थानमा रहेको छ । सिके राउतको दल जनमत पार्टी भने ३ हजार ९१९ मतका साथ नवौँ स्थानमा सीमित हुन पुगेको छ । यसैबीच प्रदेशसभाको समानुपातिकमा पनि पहिलो दल काँग्रेस नै बनेको छ । काँग्रेसले सबै भन्दा बढी ६३ हजार ८६१ मत पाएको छ ।जसपा भने ४१ हजार ६२७ मतका साथ दोस्रो स्थानमा पुग्दा नेकपा एमाले ४१ हजार ३०७ मत प्राप्त गर्दै तेस्रो दल बनेको छ ।चौथो स्थानमा उक्लिएको राप्रपाले १७ हजार १७३ मत पाउँदा माओवादी केन्द्र ११ हजार ३१३ मत प्राप्त गर्दै पाँचौँ दल बनेको छ ।

सिके राउतको दल जनमत पार्टी भने ७ हजार २५४ मतका साथ छैटौँ स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ६ हजार ६६२ मततका साथ सातौँ स्थानमा , नेकपा एकीकृत समाजवादी ६ हजार ९४ मतका साथ आठौँ स्थानमा पुगेको छ । नवौँ ं स्थानमा रहेको लोसपाले ४ हजार ८०५ मत पाएको छ भने नेपाल संघीय समाजवादी पार्टी ४ हजार १८१ मतका साथ दशौं स्थानमा पुगेको छ ।

जसपालाई क्षति

२०७४ को निर्वाचनमा समानुपातिक तर्फ पनि प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा जसपा नै पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधिसभाको समानुपातिकमा जसपाले सबै भन्दा बढी ५३ हजार ८२१ मत र प्रदेशसभाको समानुपातिकमा ५१ हजार २२० मत पाएको थियो ।दोस्रो स्थानमा रहेको काँग्रेसले भने प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार ५९२ मत र प्रदेशसभाको समानुपातिकमा ४५ हजार २७३ मत पाएको थियो ।

तेस्रो स्थानमा रहेको एमालेले प्रतिनिधिसभाको समानुपातिकमा २२ हजार १५६ मत र प्रदेशसभाको समानुपातिकमा १९ हजार २९८ मत मात्रै पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्