टेलिकमको कुल आय बढ्यो



काठमाडौं । 

नेपाल टेलिकमको आर्थिक वर्षको २०७९-८० को पहिलो त्रैमासमा कुल आय गत आवको सोही अवधिको तुलना ० दशमलव ८० प्रतिशतले वृद्धि भई ११ अर्ब ४ करोड ९० हजार रुपियाँ गरेको छ।

सोही अवधिमा कम्पनीको सञ्चालन आय ६९ करोड ७७ लाख ९ हजार अर्थात ७ दशमलव १४ प्रतिशतले कमी भई ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको कम्पनीले जनाएको छ ।

गत आवको पहिलो तीन महिनासम्म कम्पनीको खुद मुनाफा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेकोमा चालू आवको सोही अवधिमा ३ करोड ४३ लाख ८० हजार अर्थात १ दशमलव ५२ प्रतिशतले कमी भई २ अर्ब २२ करोड ५५ लाख ७ हजार रहेको छ ।

कम्पनीको खुद मुनाफा घट्नुमा डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख वृद्धि भए पनि अन्तरआबद्धतासम्बन्धी निर्देशिकाले गर्दा अन्तरआबद्धता आयमा करिब १० करोडले कमी भएको छ।

त्यस्तै, मौसमको प्रतिकूल असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएको तथा कोभिडलगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिकमन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको कम्पनीको भनाइ छ ।

त्यस्तै, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब ७९ करोडले वृद्धि भएको छ भने विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ७ करोड प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्