ओली गणतन्त्र र संघीयता विरोधी हुन् : विमलेन्द्र निधि



बुटवल । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाउनु भयो । उहाँले प्रतिनिधिसभामा नेकपाबाट करिव दुई तिहाई मत ल्याएर प्रधानमन्त्री भएको बेला संसद् विघटन गरेर आफूलाई संविधान विरोधीका रुपमा उभ्याएको बताउनु भयो ।

लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ५ रुपन्देहीले बुधबार सालझन्डीमा गरेको चुनाविसभालाई सम्बोधन गर्दै नेता निधिले ओलीजीले गणतन्त्र ल्याउने विषयमा बयलगाडा चढेर अमेरिका पुगिँदैन भनेर भनेको हामीले बिर्सेका छैनौं ।

उहाँले संघीयता र समावेशिताका विषयमा पनि ओलीको कुरा सुन्नुभएकै छ, राप्रपासँग गठबन्धन गरेर ओलीले यो व्यवस्थामाथि नै आक्रमण गर्न खोजेको बताउनु भयो । संविधान, गणतन्त्र, संघीयता र समावेशितामाथि नै एमाले र ओलीका कारण खतरा रहेकाले गठबन्धन बनाइएको उहाँले बताउनु भयो । उहाँले सुकुम्बासि समस्या समाधान गर्नका लागि भूमि आयोग गठन गरिसकेको बताउदै निर्वाचन लगत्तै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै सभामा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हकिकुल्लाह खाँले व्यवस्था परिवर्तन गरेकाले अब अवस्था परिवर्तन गर्न गठबन्धन गर्नुपरेको बताउनु भयो । उहाँले जनताको अवस्था परिवर्तन गर्नका लागि नेकपा बनाएपनि ओेलीले संसद् विघटन गरेर संविधान मास्न खोजेकाले पाँच दलीय गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।

सभामा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार भरत कुमार शाहले आफूले गरेको विकास भौतिक रूपमा देख्न सकिने बताउनु भयो ।

उहाँले रूपन्देही क्षेत्र न ५ मा जनताको समस्या र विकास नै आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । ‘विकास आफै बोल्छ, जनतमको कामसंग मात्रै मेरो सरोकार छ’ उहाँले भन्नु भयो । उहाँले २८ वटा खानेपानी, १४ वटा पुल आफ्नै पहलमा बनेको बताउँदै थप विकासका लागि गठबन्धनलाई जिताउन अपिल गर्नु भयो । उहाँले सुकुम्बासी समस्या समाधान ७ महिनाभित्र पूरा गर्ने बताउनु भयो ।

भौतिक विकाससंगै अब शिक्षा र स्वास्थ निःशुल्क बनाउन पहल गर्ने शाहको प्रतिबद्धता छ । उहाँले ओलीका कारण लाखौ नागरिक अनागरिक हुनु परेको बताउँदै अब बन्ने गठबन्धन सरकारले त्यमे समस्या पनि समाधान गर्ने बताउनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेशसभा निर्वाचन क्षेत्र ५ (१) का उम्मेदवार विनोद पहाडीले विपक्षी एमालेका नेता भूमिश्वर ढकालले व्यक्तिगत स्वार्थका लागि बुटवलबाट राजधानी दाङ सारेको बताउनु भयो ।

उहाँले रूपन्देहीका जनतालाई ढाँटेर व्यक्तिगत लाभका लागि लाग्ने नेतालाई जनताले चिन्ने दिन आएको बताउनु भयो । रूपन्देहीको निर्वाचन क्षेत्रलाई आर्थिक केन्द्र बनाउने बताउँदै खरको छानामुक्त र घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने प्रतिबद्वता जनाउनु भयो । भेलामा माओवादी केन्द्रका नेता वकिल मुसलमानले एमालेले झुटो आश्वासन दिने काम गरेको बताए । एमालेको उम्मेदवारभन्दा तेब्बर मतले जित्ने दावी गर्नुभयो ।

कांग्रेस नेता विष्णु पोख्रेलले संविधान रक्षाका लागि गठबन्धन बनाउनु परेको बताउँदै गठबन्धनले जित्ने दावी गर्नुभयो । भ्रष्टाचार गरेका पैसा लिएर विपक्षिहरू आउन सक्ने बताउँदै सचेत रहन युवाहरुलाई आग्रह गर्नुभयो । भेलामा गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनमुक्ति पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्