‘भ्रष्टाचार नगर्ने र जनताप्रति इमानदार रहने प्रतिबद्धतामा अडिग छु’



शिशिर खनाल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–६ बाट उम्मेदवार हुनुहुन्छ । काठमाडौंको टोखा–१०, गोंगबु निवासी शिशिर खनाल एक शैक्षिक अभियन्ता, गान्धीवादी दर्शनका अनुयायी र उद्यमी हुनुहुन्छ । यही २०७९ साल मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उहाँ उम्मेदवार हुनुहुन्छ । प्रस्तुत छ, खनालसँग नेपाल समाचारपत्रले यही निर्वाचनका सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंश:

शिशिर खनाललाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का जनताले कसरी चिन्ने ?

हेर्नुस्, मेरो परिचयका लागि थरिथरिका टोपी फेला पर्नेछन् । तर, म बौद्धिक क्षेत्रलाई प्राथमिकता दिन चाहन्छु । टिच फर नेपालको सह–संस्थापक र सन् २०१२ देखि सन् २०१९ सम्म यसै संस्थाको प्रमुख कार्यकारी अधिकृत रहेका कारण पनि मलाई यस परिचयलाई प्राथमिकता दिन मन भएको हो । मेरै नेतृत्वमा हालसम्म सयौं अब्बल युवा नेपालका दूरदराजका सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा जुटिसकेका छन् । यसबाट ६० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । गाउँबाट शहर र शहरबाट विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै रोक्न र देश विकासका लागि लगाउन मेरो कार्यले भूमिका खेलेको छ । यस अभियानले सक्षम, सबल र उत्प्रेरित युवालाई कम्तीमा २ वर्ष ग्रामीण बस्तीहरूमा पठाएर हजारौं बालबालिकालाई गुणस्तरीय शिक्षा दिने प्रयत्न गरें, नेपालको शिक्षा क्षेत्रमा सकारात्मक भूमिका खेल्न सकें ।

कोभिडको महामारी चलेको समयमा तपाईंको योगदान महत्वपूर्ण रहेको मतदाताले भनिरहेका छन्, वास्तवमा के गर्नुभएको थियो ?

मैले कोभिडको समयमा खाना पकाउने ग्यासको हाहाकार भएको बेला मानिसहरूलाई घर–घरमा ग्यास पु¥याउने उद्देश्यले ‘पिक एन्ड ड्रप’ नामको कम्पनी शुरु गरें । हाल एक स्थापित लजिस्टिक कम्पनीको रूपमा ‘पिक एन्ड ड्रप’ ले देशका विभिन्न भागहरूमा आफ्नो सेवा विस्तार गरेको छ ।

तपाईं शिक्षा क्षेत्रमा रुचि भएको प्राविधिक व्यक्ति, राजनीतितिर किन नि ?

मैले कलिलो उमेरदेखि नै नेपाल चिन्ने अवसर पाएँ, राजनीति नै सबै नीतिको मूल नीति भएको तथ्य मैले पछि बुझें । मेरो बुबा निजामती कर्मचारी भएकाले जिल्ला–जिल्लामा बुबाको सरुवासँगै देश दर्शनका साथ अध्ययन गर्ने मौका पाएँ । काठमाडौंको सिद्धार्थ वनस्थली विद्यालयबाट एलएलसी उत्तीर्ण गरेको र त्रि–चन्द्र क्याम्पसबाट आइएससी सकेर स्नातक अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका गएको यस व्यक्तिले नेपाल के बुझेको होला र भन्ने अल्पमूल्यांकन नगरे हुन्छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेको हुनाले पनि राजनीतिक बाटोबाटै अघि बढे मात्र सिकाइलाई व्यवहारमा उतार्न सकिन्छ भन्नेमा म विश्वस्त भएँ । राजनीतिक अर्थशास्त्रको मेरो स्नातक शिक्षाले देखाएको बाटोको सदुपयोगका लागि म प्रतिनिधिसभाको उम्मेदवार भएको हुँ ।

तपाईं सामाजिक रूपान्तरणमा महात्मा गान्धीले देखाएको बाटो अंगीकार गर्नुहुन्छ भन्ने टिप्पणी सुनिन्छ नि ?

हो, म महात्मा गान्धीबाट निकै प्रभावित छु । अध्ययनकै क्रममा गान्धीको दर्शनमा आधारित सर्वोदय अभियानसँग परिचित भएँ । मैले ‘सर्वोदय यूएसए’ को कार्यकारी निर्देशकको भूमिकामा रहेर काम गर्ने अवसर पनि पाएँ । सन् २००४ मा श्रीलंकालाई सुनामीले तहसनहस पारेका बेला त्यहाँ राहत अभियानको नेतृत्व पनि गरें । सर्वोदय अभियन्ता एटी आरियारत्नेसँग लामो समय संसर्गमा रहेका कारण मैले नेपालको ग्रामीण क्षेत्रमा समुदायकै सहभागितामा सामूहिक कामहरू गर्नका लागि श्रमदानको अभियान शुरु गरें ।

यसरी करिब १ दशकको अन्तर्राष्ट्रिय क्षेत्रको समाज सेवा र एक दशकभन्दा बढी नेपालका विभिन्न ठाउँमा विकासका काम गरेको अनुभव मसँग छ । २०७२ सालको भूकम्पमा विभिन्न जिल्लाहरूमा राहत र विद्यालय पुनःसंरचनाको अभियान अघि बढाउन पनि मैले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखिनँ । हिमाल, पहाड र मधेसको जरासम्म पुगेर काम गरेको छु, गर्ने प्रयास गरेको छु । आज मबाटै उत्प्रेरित भएर हजारौं युवा शैक्षिक सुधारको अभियानमा लागिपरेको देख्दा गौरवको अनुभूति हुन्छ । सन् २०१२ मा मलाई अमेरिकास्थित युनिभर्सिटी अफ स्कन्सिन एल्मनाई एसोसियसनले मेरो गान्धीवादी अवधारणालाई पहिचान दियो, ‘फरवार्ड अन्डर फोर्टी’ को सम्मान प्रदान ग¥यो । सन् २०१९ मा ‘योङ सीईओ अफ द इयर’ पनि मलाई प्राप्त भयो ।

यस मुलुकलाई विकासको गतिमा दौडाउन तपाईंसँग कस्तो भिजन छ ?
देश विकासका लागि प्रस्ट भिजन आवश्यक छ । म जनशक्ति वा मानव स्रोत–साधनमा केन्द्रित छु । आज नेपाल जवान छ । २४–२५ वर्ष औसत उमेर हो हाम्रो । तर, विस्तारै बूढो हुँदै छ यो देश । अबको १० वर्षपछि नै हामी विस्तारै बुढ्यौलीतर्फ लाग्न थाल्नेछौं । अर्थात्, कमाई खानसक्ने भन्दा कमाएर खुवाउनुपर्ने मानिसको संख्या हाम्रो देशमा धेरै हुनेछ । यो देशलाई बेस्करी दौडाउन हामीसँग मात्र १० वर्ष छ । इमानदार भएर भन्ने हो भने हामी सायद कसैलाई पनि लाग्दैन होला– ३० वर्षदेखि सत्ता र शक्तिको केन्द्रमा रहेकाहरूले अबको १० वर्षभित्र यो देश दौडाउन सक्दछन् भनेर ।

आफ्नो निर्वाचन क्षेत्रलाई कसरी बुझ्नुभएको छ ?

काठमाडाैं–६ भौगोलिक, जनसाङ्ख्या, सांस्कृतिक हिसाबले विविध छ । जनघनत्व बढी भएका बागबजार, असन, गोंगबुजस्ता ठाउँहरूदेखि झोरजस्तो ग्रामीण परिवेश यहाँ देख्न सकिन्छ । यो नै यस क्षेत्रको सुन्दरता हो र चुनौती पनि हो । सुन्दरता यस अर्थमा कि विविधतामा सहकार्य, नवप्रवर्तन, अनेकन अवसरहरू हुन्छन् । चुनौती यस अर्थमा हो कि एकै निर्वाचन क्षेत्रमा पनि सबै ठाउँलाई समान तरिकाले सोचेर पुग्दैन । सबै ठाउँको फरक–फरक विविधताहरू छन् ।

मत माग्न जाँदा जनताको कस्तो प्रतिक्रिया पाउने गर्नुभएको छ ?

समग्र नेतृत्वसँग उहाँहरूको आक्रोश देखिन्छ । उहाँहरूसँग नयाँ सपना पनि देखिन्छ । यही आक्रोश र सपनाको बीचबाट मैले आशा देखिरहेको छु । साना बालबालिकादेखि वृद्धवृद्धाका अनुहार हेरेर मैले ऊर्जा पाएको छु । म आफू पनि यही निर्वाचन क्षेत्रकै भएको र नेपालका यस्ता विभिन्न क्षेत्रमा लामो समय काम गरेकाले यस क्षेत्रका समस्यालाई एक निवासीका रूपमा र अन्य क्षेत्रको सापेक्षतामा गहिरोसँग हेर्न पाएको छु ।

तपाईंको निर्वाचन क्षेत्रका जनताले कस्ता समस्या देखाउने गर्दछन् ?

दशकौंदेखि हामीसँग साधारण समस्या छन् । नेतृत्वसँग सुझबुझ, सफा नियत, सक्षमता आदि नहुँदा तिनै साधारण समस्या ओझेलमा परेका छन् । साना–साना समस्यालाई नजरअन्दाज गर्दा ठूल्ठूला समस्या देखिएका छन् । बाल्यकालदेखि स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, आदिलाई विकासका पूर्वाधार भनेर पढ्दै आइयो । आजको दिनमा समेत त्यही कुरा पढाइन्छ । तर, हामी तिनै पूर्वाधारमा अझै पनि अल्झिरहेका छौं ।

साधारण स्वास्थ्य उपचारमा सबै वर्गका मानिसको सहज पहुँच छैन । कक्षा १० सम्मको सार्वजनिक शिक्षा निःशुल्क भनिए पनि अधिकांश विद्यालयमा गुणस्तर छैन । सार्वजनिकको तुलनामा निजीले केही राम्रो गरे पनि उनीहरूको गुणस्तरमा पनि प्रश्न उठाउने अनेकन ठाउँहरू छन् । उच्च शिक्षामा पनि उस्तै अवस्था छ । आर्थिक रूपले सम्पन्न हुनेहरू महंँगा कलेजमा अध्ययन गर्दछन् भने आर्थिक रूपमा संघर्ष गर्नेहरूले पाउने शिक्षाको गुणस्तर खस्किँदो छ वा उनीहरू शिक्षा र अन्य अवसरको लागि विदेश पलायन हुने क्रममा छन् ।

सार्वजनिक सेवामा साधारण सेवा पाउन सेवाग्राहीले सास्ती भोग्नु पर्दछ । सूचना प्रविधिको प्रयोगबाट हुनसक्ने साधारण कामका लागि पनि घन्टौं लाइन बस्नुपर्ने विवशता छ । कर्मचारी र जनप्रतिनिधि जनताको सेवक हुनुपर्ने थियो, जनताको पिरमर्कासँग नजिक हुनुपर्ने थियो । तर, उनीहरू जनताबाट टाढा छन् । उनीहरू जनतासँग उत्तरदायी छैनन् । आफ्नो दलका नेता, आफूलाई अवसर दिने मानिसप्रति मात्र बफादार देखिन्छन् । यसका कारणले जनता रैती र जनप्रतिनिधि र कर्मचारी राजाजस्ता भएका छन् । हाम्रो सेवा प्रवाहमा अझै सामन्तवादको झ–झल्को आउँछ ।

तपाईंको चुनावी एजेन्डा के हो ?

नेपालको संविधानले परिकल्पना गरेअनुसार सांसदको काम कानुन बनाउने, त्यसको कार्यान्वयन गर्ने, अनुगमन गर्ने, सरकारको काम–कारबाही र त्यसको समस्या औंल्याउने हो । स्थानीयस्तरमा विकास र सेवा प्रवाहको अधिकांश अधिकार स्थानीय सरकारमा भए पनि सांसदप्रति हाम्रो अभ्यासमा जनताका धेरै अपेक्षाहरू छन् । संविधानको परिकल्पना र जनताको अपेक्षाबीच रहेर काम गर्नु चुनौतीपूर्ण र सँगसँगै रोमाञ्चक पनि हुन्छ । एउटा यथार्थ यो पनि हो कि, नीतिगत पक्षहरूले हाम्रा धेरै योजनाहरू निर्देशित गरेका हुन्छन् ।

एक सांसदका रूपमा नीतिगत तहमा मेरा मुख्य तीन राष्ट्रिय प्राथमिकताहरू छन्– गुणस्तरीय शिक्षामा समान पहुँच, स्वास्थ्य सेवामा समान पहुँचको निम्ति शुल्क न्यूनीकरणदेखि स्वास्थ्य बीमाका योजना र सहज उद्यमशीलताको निम्ति उद्यममैत्री नीति निर्माण । आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेर मेरा मुख्य दुई क्षेत्रीय प्राथमिकताहरू छन्– आधारभूत आवश्यकता (बाटो र पानी) को निम्ति संसद्को बजेटका लागि लबी गर्ने, सांस्कृतिक सम्पदाको जगेर्ना गर्न र पर्यावरणको विकास गर्न परियोजनाहरु बनाउने ।

सांसद निर्वाचित हुनुभयो भने तपाईंले पूरा गर्ने प्रतिबद्धता के–के हुनेछन् ?

कसैको चाकरी गरेर वा कसैलाई पैसा खुवाएर म उम्मेदवार भएको होइन । निर्वाचनमा भोट माग्ने दौरान कसैलाई कुनै प्रलोभन दिएको छैन, पैसा बाँडेको छैन, भोज भतेर खुवाएको छैन । यदि यस्ता कर्म नगरेर निर्वाचन हारिन्छ भने म हार्नका लागि तयार छु । इमानदारिता र उत्तरदायित्व मेरो पहिलो सर्त हो । म जनताप्रति सधैं उत्तरदायी र इमानदार रहनेछु । म भ्रष्टाचार गर्दिनँ । आफूले पाएको अख्तियारको दुरुपयोग गर्दिनँ । आज नेपाललाई चाहिएको पहिलो प्रतिबद्धता यही नै हो, जो म पूरा गर्नेछु ।

आफ्नो काम, कर्तव्य र अधिकारलाई जनताप्रति बफादार रहेर पूर्णतः पालना गर्नेछु । म व्यक्ति हाबी हुनेभन्दा पनि सबल र प्रभावकारी नीति र संरचना निर्माण गर्ने कुरामा विश्वास गर्दछु । मेरो हरेक कर्म सुदृढ नीति र संरचना बनाउनेतर्फ उन्मुख हुनेछ । म जनताको शासक होइन, सेवक बन्नेछु । नियमित रूपमा जनतासँग पुग्नेछु । उहाँहरूको दुःख–सुखमा साथ हुनेछु । उहाँहरूको जीवनस्तर उकास्न र उहाँहरूको जीवनलाई प्रभाव पार्ने हरेक पक्षलाई एक स्पष्ट आवाज बनेर उठान गर्नेछु । त्यसलाई नीतगत माध्यमबाट सम्बोधन गर्ने प्रयत्न गर्नेछु ।

अन्त्यमा, तपाईंका यी विश्वास र प्रतिबद्धतालाई जनताले कसरी विश्वास गर्ने ?

मैले भनेका यी कुराहरू सुनिरहँदा धेरैलाई विश्वास लाग्दैन होला । किनकि, हाम्रा धेरै जनप्रतिनिधिले आफ्ना वाचाहरू तोडेका छन् । यस देशमा थोरै अपवादहरू छन्– जसले जे बोले त्यही पूरा गरे । मेरो निर्वाचन क्षेत्र र देशभरिका जनताले मैले बोलेको हरेक शब्दको हिसाब राख्नुहोला । म मैले बोलेका हरेक शब्दहरूप्रति उत्तरदायी रहनेछु । मेरो विगतको व्यवहार, सिद्धान्त, आचरण र इमानदारी हेरेरै जनताले विश्वास गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

१ -सार्वजनिक सेवामा साधारण सेवा पाउन सेवाग्राहीले सास्ती भोग्नु पर्दछ । सूचना प्रविधिको प्रयोगबाट हुनसक्ने साधारण कामका लागि पनि घन्टौं लाइन बस्नुपर्ने विवशता छ । कर्मचारी र जनप्रतिनिधि जनताको सेवक हुनुपर्ने थियो, जनताको पिरमर्कासँग नजिक हुनुपर्ने थियो । तर, उनीहरू जनताबाट टाढा छन् । उनीहरू जनतासँग उत्तरदायी छैनन् । आफ्नो दलका नेता, आफूलाई अवसर दिने मानिसप्रति मात्र बफादार देखिन्छन् । यसका कारणले जनता रैती र जनप्रतिनिधि र कर्मचारी राजाजस्ता भएका छन् । हाम्रो सेवा प्रवाहमा अझै सामन्तवादको झ–झल्को आउँछ ।

प्रतिक्रिया दिनुहोस्