जनताकै सरसल्लाहअनुसार काम गर्छु : जोशी



२०३५ सालमा नेविसंघमा लागेर राजनीति शुरु गरेका नेता राजुराज जोशी अहिले काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेसभा ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । ०४६ को जनआन्दोलन सकिनासाथ प्रकाशमान सिंह सभापति भएको जिल्ला समितिको सचिव भएर उहाँले काम गर्नुभएको थियो । जोशी यस क्षेत्रका लोकप्रिय नेताका रूपमा पहिचान बनाउनुभएको छ । राजनीतिसँगै समाज सेवामा क्रियाशील उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्नुभएको थियो । त्यस बेलाको पराजयलाई आगामी प्रदेशसभा सदस्य निर्वाचनमा विजयीमा परिणत गर्ने माहोल बनाएर लागेका जोशीसँग चुनावी अभियानकै क्रममा समाचारपत्रका लागि जीवन शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश:

निर्वाचनको समय नजिकिँदै छ, तपाईंको चुनावी अभियानचाहिँ कस्तो छ ?

नेपाको राजनीतिक स्थिरता, संविधानको रक्षा र जनताको जीवनस्तर सुधारका लागि काम गर्ने मुख्य मुद्दा बोकेर लोकतान्त्रिक–वाम गठबन्धन चुनावको तयारीमा लागेको छ । हामी काठमाडौं क्षेत्र नम्बर ८ प्रदेशसभा ‘क’ मा पनि गठबन्धका साथीहरु, नेपाली कांग्रेसका आम नेता–कार्यकर्तासहित जनतामाझ आफ्ना एजेन्डा लिएर घरदैलोमा पुगेको छु । म पुग्न नसकेका कतिपय ठाउँमा साथीहरु खटइरहनुभएको छ ।

हाम्रो पार्टीले बनाएको घोषणापत्र र चुनावी क्षेत्रको मेरा एजेन्डासहितको घोषणापत्र जनताका घर–घर पु¥याउने, आमसभा तथा कोणसभाहरु गरेर आफ्ना एजेन्डा पस्कने र भोट माग्ने काम गरिरहेका छौं । नागरिकहरु स्वस्फूर्तरूपमा हाम्रा चुनावी अभियानहरुमा सामेल भएर साथ सहयोग गरिरहनुभएको छ । पार्टीका सबै निकायलाई परिचालन गरेको छु । मिडियाहरुबाट समेत आफ्ना एजेन्डा पस्कँदै आएको छु । जनतालाई प्रत्यक्ष भेटेर नै उनीहरुका समस्या सुन्ने र आफूले गर्न सक्ने कुराहरु राख्दै आएको छु । यो अभियानले मलाई उत्साहित बनाएको छ । यस क्षत्रका जनताले चुनाव जिताउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

मतदातालाई भेट्दा उनीहरूको अपेक्षाचाहिँ के पाउनुभयो ?

खास गरी, संसद्का सदस्यहरुको काम भनेको देशको नियम कानुन बनाउने हो । तर, यहाँको अपेक्षा के भन्दा सडक कालोपत्रको समस्या, खोलामा बाढी आएको समस्या, ढल निकासको समस्या र सबैभन्दा बढी खानेपानीको समस्या छ । यी समस्याको समाधान गरिदिऊन् भन्ने आमनागरिकको धारणा पाइएको छ । वडादेखि सांसदसम्मले भोट माग्न जाँदा नागरिकको ट्रेन्ड विकास माग्ने भएको छ । हामी त्यही अभ्यासमा नै छौं, अझैसम्म । नागरिकका समस्याहरु नै समाधान भइनसकेका कारण वडाध्यक्षका उम्मेदवार भोट माग्न गए पनि सांसदको उम्मेदवार भोट माग्न गए पनि उहाँहरुलाई परेका समस्याका बारेमा कुरा राख्नु स्वाभाविकै हो ।

स्थानीय तह नहुँदा विकास योजनाहरुका सबै काम सांसदले नै हेर्नुपर्ने हुन्थ्यो । तर, अहिले स्थानीय सरकार कार्यकारीरूपमा काम गर्दै छ भन्ने कुरा जनतालाई बुझाउनुपर्छ । अहिले काठमाडौं महानगरपालिकाले साना वडामा ५ करोड, मझौला वडामा साढे ७ करोड र ठूला वडामा १० करोडका दरले बजेट वितरण हुन्छ । योभन्दा अरू निकायबाट समेत बजेट आउने गर्छ । प्रदेशसभाले पनि आवश्यकताका आधारमा हरेक गाउँहरुमा पैसा दिएकै हुन्छ । त्यो बजेट राख्ने काम प्रतिनिधिसभा, स्थानीय तह र वडाहरुको समन्वयमा भइदियो भने सांसदहरुले नीति निर्माणको तहमा बढी योगदान दिन सक्छन् । तर, यहाँ त के छ भन्दा भोट लिएर जाने अनि पाँच वर्षसम्म आउनुहुन्छ कि हुन्न भनेर सोध्ने चलन छ । म त पहिलोपटक संसद्मा लड्दै छु उहाँहरुले मलाई पनि त्यसै भन्नुहुन्छ । मैले भनेको छु– जहाँ मेरो आवश्यक पर्छ, तपाईंहरुको समस्या छ, त्यहाँ बोलाउनुस् म आइहाल्छु ।

तपाईंले आगामी योजनाचाहिँ के बनाउनुभएको छ ?

मैले अहिले आफ्नो पार्टीको र व्यक्तिगत स्थानीयस्तरको घोषणापत्र बनाएर जनतामाझ पुगेको छु । यो क्षेत्र भनेको नेपालको राजधानी काठमाडांैको पनि कल्चरको राजधानी हजुमानढोकामा पर्छ । चाडपर्व र जति पनि जात्राहरु यही हुन्छन् । इन्द्रजात्रा, गाईजात्रा, घोडेजात्रालगायत थुप्रै पर्वहरु उहाँ हुने गर्दछन् । तर, कतिपय जात्रा लोप भइसकेको अवस्था छ भने बाजागाजा पनि लोपोन्मुख हुँदै छन् । तिनको संरक्षण सम्वद्र्धन गर्नु जरुरी छ । सांस्कृतिक सम्पदाहरुको संरक्षण गरेर जति व्यवस्थित गर्न सक्यो त्यति नै विदेशी पर्यटक भित्रन्छन् र रोजगारीका अवसरहरु बढ्छन् । अर्को कुरा विश्व सम्पदाको सूचीमा सूचीकृत रहेको हनुमानढोका वसन्तपुर क्षेत्रदेखि स्वयम्भुसम्मको क्षेत्रलाई पदमार्ग बनाउनुपर्नेछ ।

यो क्षेत्रलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने मेरो लक्ष्य छ । त्यहाँबाट हजारौं रोगजार निकाल्न सकिन्छ । यहाँ कति बहाल बैद्यहरु पनि छन् । हिटे बहालमा १२ सय वर्ष पुरानो बहाल बैद्य छ । त्यस्तै, ठाउँ–ठउँमा धेरै यस्ता पुरातात्विक सम्पदाहरु छन् । यिनीहरुको संरक्षण सम्वद्र्धन गर्नु मेरो दायित्व हुनेछ । त्यस्ता क्षेत्रहरुमा हामीले उपयोग गरे होटलहरु चल्न सक्ने अवस्था छ । पर्यटकीय गेस्ट हाउसहरु बन्नेसक्ने छन् । त्यसको जगेर्ना गर्ने योजना मेरो छ । अर्को मेरो योजना यस क्षेत्रमा ५० शय्याको सुविधा सम्पन्न नयाँ अस्पताल बनाउने छ । जग्गाको प्रक्रिया शुरु गर्ने कुरा पनि भइरहेको छ । जुन अस्पतालले सुविधा सम्पन्नसँगै शहरी गरिबीलाई सम्बोधन गर्न सक्छ । मुनाफारहित सामुदायिक अस्पताल र सरकारको समेत लगानीमा हुने गरी अघि बढ्ने योजना बनाएको छु । शिक्षाको क्षेत्रमा हाम्रो क्षेत्रमा भएका विभिन्न विद्यालयलाई स्तरोन्नति गर्ने र त्यहाँबाट उत्पादित जनशक्ति बजारमा बिक्ने खालका निकाल्नका लागि काम गर्ने सोच बनाएको छु । नीति निर्माणसँगै यहाँका भौतिक पूर्वाधार तथा संस्थागत विकासका लागि काम गर्ने योजना छ ।

चुनाव जित्ने आधार के–के तय गर्नुभएको छ ?
पहिलो आधार हामीले संविधानसभाको निर्वाचनमा यो क्षेत्र दुईपटक सांसद जितेकै क्षेत्र हो । गत निर्वाचनमा एमाले–माओवादीसहितको गठबन्धनसँग चुनाव लड्दा ४ सय भोटले मात्र पराजित भएको हो । जुन बेला आन्तरिक समस्या पनि थियो पार्टीभित्र । त्यस बेला राप्रपाले हामीसँग गठबन्धन गरेर एमालेलाई भोट हालेको अवस्थाले गर्दा हामीले हार्नुपरेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडांै महानगरपालिकाको वडा नम्बर १३, १९, २०, २३ र २४ गरी पाँचवटा वडामध्ये हामीले तीनवटा वडामा प्यानलै जितेको र एउटा वडामा तीन जना जितेका छौं । स्थानीय निर्वाचनको मत जोड्दा हाम्रै मत बढी छ । गठबन्धनको मत करिब ३ हजारभन्दा बढी छ । स्थानीय तहमा जितेका साथीहरुले निकै राम्रो काम गर्नुभएको छ । त्यसले पनि हाम्रो मत बढ्छ । अर्को कुरा २०७४ सालमा मेयर लडेको र निरन्तर जनतामाझ नै रहिरहेको साथै यस क्षेत्रमा सामाजिक रूपमा समेत मैले धेरै काम गरेको छु । राजनीतिसँगै समाज सेवाका कामहरु गरेको छु । मन्दिरहरु बनाउँदा सहयोग गरेको, विद्यालयहरुमा सहयोग गरेको, अक्षयकोष स्थापना गरेर सामाजिक रूपमा सहयोग पु¥याएको छु ।

तपाईंले चुनाव जिताइसकेपछि यहाँका जनताले मुख्यरूपमा के पाउँछन् ?

मैले सकेको सहयोग र यहाँको आवश्यकतालाई महसुस गरेर जनताका पक्षमा काम गर्न प्रतिबद्ध छु । मैले जे–जे बोलेको छु त्यो गर्छु । पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण र स्वास्थ्य, शिक्षामा देखिने गरी परिवर्तन गर्छु । पाँच वर्ष जनताकै सरसल्लाहअनुसार काम गर्छु ।

काष्ठमण्डप निर्माण तथा सुधारमा भएको हिसाबकिताबको विषयमा पनि बजारमा चर्चा–परिचर्चा छ । यसको वास्तविकता के हो ?

काष्ठमण्डप महानगरपालिकाभित्रका जनताको करबाट बनाएको हो । स्थानीय सरकारले हामीसँगै उठाएको करबाट नगरपालिकाले एउटा प्रक्रियामा छिरेर बनाएको हो । हामी सबै नागरिकको पसिना यसमा परेको छ । तर, यसमा केही विवाद पनि आएका छन् । राष्ट्रपतिले उद्घाटन गरेको यो मन्दिर आजसम्म जनताका लागि खुल्न सकेको छैन । देशको नम्बर १ पदमा बसेको व्यक्तिले उद्घाटना गरेको योजना नै विवादित योजना भएपछि यो मुलुकले के पाउँछ ? जुन कामको हिसाब नै मिलेको छैन त्यहाँ राष्ट्रपति आउन मिल्छ कि मिल्दैन ? यो प्रश्न जनताले उठाउनेवाला छन् । खर्च पनि सार्वजनिक गरिएको छैन् । १९ करोडमा बनाउन लागेको तर ११ करोडमा काम सकेको भनेर सुन्नमा आएको छ । त्यसको फरफारक नै भएको छैन । राष्ट्रको प्रमुखले उद्घाटन गरेकै योजनाको फरफारक नै नगरी अलपत्र पार्न मिल्छ ?यो गम्भीर विषय छ । नगरपालिकाले तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई हिसाब बुझाउनु भनेर पत्र काटेको एक वर्ष हुन लाग्यो । २०७८ सालमै चिठ्ठी काटेको थियो तर उहाँले आजसम्म हिसाब बुझाउन सक्नुभएको छैन भन्ने सुनेको छु । उहाँ पनि उम्मेदवार हुनुहुन्छ । जनताले त सोध्नुपर्छ होला नि ! त्यो हिसाव के भयो ? हिसाव फछ्र्योट नहुनुको पछाडिको रहस्य के छ भनेर ।
चिनियाँ सरकारले तोकेको भन्दा बढी मूल्यमा बेचेकाले उनको ताहाचलको पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षणले ५ हजार रुपियाँ तिराएको थियो । ७० रुपियाँमा बेच्नुपर्ने चिनी ७८ रुपियाँमा बेचेको रहेछ । जनताले जिताउने अनि त्यही जनतालाई ठग्ने ? उनीहरूलाई जनताले चिनिसके ।

तपाईंको दाबेदारी प्रदेशको मुख्यमन्त्रीमा छ भन्ने सुनिन्छ । खास कुरा के हो ?

नेपाली कांग्रेससहितको गठबन्धनको सरकार बन्नेमा हामी ढुक्क छौं । आगामी सरकार हाम्रै बन्छ । तर, सरकारको मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा पहिला संसदीय दलको निर्वाचन हुन्छ । त्यसपछि तय हुन्छ । संसदीय दलको नेताको दाबेदारी मैले पनि गरेको छु । मैले जितिसकेपछि सबै साथीहरुसँग सल्लाह गर्छु । धेरै साथी योग्य र क्षमतावान् हुनुहुन्छ । र पनि म सम्भावनाभित्रकै मान्छे हुँ । सिनियरको नाताले स्वतः म मुख्यमन्त्रीको दाबेदार हुँ ।

१-मैले जे–जे बोलेको छु त्यो गर्छु । पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण र स्वास्थ्य, शिक्षामा देखिने गरी परिवर्तन गर्छु । पाँच वर्ष जनताकै सरसल्लाहअनुसार काम गर्छु ।

प्रतिक्रिया दिनुहोस्