महेश बस्नेत ‘राष्ट्र र मुलुक बनाउने’ नेता हो : अध्यक्ष ओली



भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन देशले जित्ने कि हार्ने भन्ने सवाल भएको बताउनु भएको छ । एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले बालकोटमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोडबाट देशलाई झमेलाको थलो बनाउनेहरुलाई विदाई गर्ने निर्वाचन भएको बताउनुभयो ।

उहाँले देशको अस्थिरता अन्त्य गर्ने एमालेको काँधमा जिम्मेवारी रहेको बताउनुभयो । गठबन्धन सरकारले देशलाई कंगाल बनाउने बाटोमा लगेको आरोप लगाउँदै उहाँले सरकारले विकासमा होलिडे बनाइरहेको भन्दै आक्रोस जनाउनुभयो ।

देशको अर्थतन्त्र ध्वस्त हुने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले गठबन्धनको सरकार बनेसँगै देशमा महंगीले जनतालाई ढाड सेकेको बताउनुभयो । स्वार्थको बाँसुरी बजाएर गठबन्धन सरकार बसिरहेको उल्लेख गर्दै उहाँले जालझेलको राजनीतिलाई आगामी निर्वाचनबाट जाली फटाहालाई जनताले निर्वाचनबाट भोटमा लोप्पा खुवाई दिने बताउनुभयो । सत्ता गठबन्धन लोभी, पापी र देशको पक्षमा उभिन नसक्ने स्वार्थीहरुको मिलिजुली खाउँ, लुटपाट गरी खाउँ भन्नेहरुको जमात भएको बताउनुभयो ।

कार्यक्रममा युवा नेता तथा पोलिटव्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने, मुलुक बनाउने नेता भएको बताउनुभयो । युवा नेता तथा पूर्वमन्त्री बस्नेत मुलुका संकट परेको समयमा जस्तोसुकै असहज परिस्थितीलाई समेत सहज रुपमा समाधान गर्न सक्ने एक डायनामिक लिडर भएको बताउनुभयो । भक्तपुरको लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘महेश बस्नेत सानै उमेरमा सफल मन्त्रीको रुपमा स्थापीत नेता हो । भक्तपुरको लागि मात्र नभई मुलुकै लागि आवश्यक युवा नेताको नाम पहिलो नम्बरमा महेश बस्नेतको आउँछ । मुलुकलाई संकट परेको बेलामा बचाउने र मुलुक बनाउने स्पष्ट भिजन भएको नेता महेश बस्नेत हो । माओवादी द्वन्द्वको समयमा भएको ज्यादतीको विरुद्धमा आफ्नो ज्यानलाई बाजी लगाउँदै जनता तथा मुलुक बचाउने अभियान चलाएको आम युवाले मात्र नभई सम्पूर्ण नेपाली जनताले सम्झेका छन् ।’

महेश बस्नेत निर्वाचित भएपछि भक्तपुरमात्र बनाउने हैन, मुलुकको विकास र समृद्धिको नेतृत्व गर्र्ने क्षमतावान युवा नेता हो उहाँको भनाई थियो ।अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा गर्नुभएको विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्सित भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलनबाट खारिएर आएको महेश बस्नेत देशको छोरो हो ,राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षधर हो ।’उहाँले मंसिर ४ गते हुने निर्वाचनमा महेश बस्नेतको छेउमा गठबन्धन फिक्का हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्