अबको विकासका मोडल सम्पदा र पर्यावरणमैत्री



नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र मलेकु (श्रेष्ठ) वागमती प्रदेशसभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर ३ ‘ख’ का उम्मेदवार हुनुहुन्छ । तीन दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा आबद्ध उहाँ व्यक्तिगत रूपमा सामाजिक हितको क्रियाकलापमा संलग्न हुँदै आउनुभएको छ । यसैबीच मलेकुको उम्मेदवारी, चुनावी एजेन्डाबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंश ः

प्रदेशसभा सदस्यमा  तपाईंको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी राजनीतिक जीवन निरन्तरताको एउटा उपज र महत्वपूर्ण स्टेसन हो । ठेचो निवासी वसन्त डंगोलले २०४३ सालमा मलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य बनाउनुभएको थियो । त्यसपछि कांग्रेसको गतिविधिलाई नजिकबाट नियाल्दै गएँ । त्यही क्रममा २०५० सालमा अहिलेको ललितपुर महानगरपालिकाको ३ वडाको इकाइ सभापति भएको थिएँ । २०५२ सालमा पार्टीको क्षेत्रीय कोषाध्यक्ष र २०५७ सालमा क्षेत्रीय सचिव भएँ । त्यहाँदेखि आजसम्म निरन्तर नेपाली कांग्रेसको महाधिवेशन महासमितिको सदस्य बन्दै आएको छु । यो बीचमा जिल्ला कार्यसमिति विभिन्न पदमा रहेर काम गर्ने क्रममा अहिले जिल्ला सभापतिका रूपमा सक्रिय भइरहेको छु । नेपाली कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशील हुने क्रमको स्वाभाविक परिणतिका रूपमा मैले उम्मेदवारी दिएको हुँ ।

अर्कोतर्फ सानै उमेरदेखि सामाजिक सेवा र मानवीय कल्याणप्रति मेरो झुकाव रहेको छ । मेरो विचारमा म अलि भावुक पनि छु । यही कारण मैले व्यक्तिगत पहलमा समाजसेवाको कार्य थोरबहुत गर्दै आएको छु । विपन्न वर्गका परिवारका बालबालिकालाई पढाउने काममा, कहिंकसैलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने काममा कहिल्यै पछि परेको छैन । २०७२ सालमा भूकम्पबाट अत्यधिक प्रभावित भएको क्षेत्र ललितपुरको हरिसिद्धि, बुंगमती, खोकनालगायत राहत वितरण गर्ने काममा सक्रिय भएको थिएँ । व्यक्तिगतस्तरमा भएका सामाजिक हितका कामहरुलाई राज्यको नीति निर्माण तहमा पुगेर अझ बृहत्स्तरमा काम गर्ने अभिलाषाले मैले उम्मेदवारी दिएको छु ।

 समाजिक हितको काम गर्न उम्मेदवार नै बन्नुपर्छ र ?

सामाजिक हितको काम गर्न जनप्रतिनिधि नै हुनुपर्दछ भन्ने अनिवार्य त छैन । मैले जिल्ला सभापति हुँदा पार्टीलाई बलियो बनाउँदै त्यसका माध्यमबाट जनताप्रति उत्तरदायी भएर काम गर्ने वातावरण बनाउने संकल्प पनि व्यक्त गरेको थिएँ । यहीअनुरूप स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन म हरहिसाबले सक्रिय भएर लागें । यसै क्रममा पार्टीले लिएको गठबन्धनको नीतिलाई अघि बढाउन सक्ने र मेरो योग्यता, क्षमता र पृष्ठभूमिलाई दिएर पार्टीले उम्मेदवारी दिन लगाएपछि चुनावी अभियानमा होमिएको हुँ । जनप्रतिनिधि भएमा सामाजिक हितको भावना, मेरो संकल्प र उद्देश्य अनुरूप अझ बृहत्तर रूपमा काम गर्ने सकिन्छ भन्ने लागेको छ । चुनाव जितेमा त्यही संकल्प र उद्देश्यअनुरूप काम गर्नेछु ।

तपाईंका चुनावी एजेन्डा के–के छन् ?
जनताले भोग्नुपरिरहेको समस्या, पीर–मर्कालाई ध्यानमा राखेर नै मैले चुनावी एजेन्डा तय गरेको छु । ‘अबको भिजन, गुणस्तरीय जीवन’ भनेर संयुक्त सत्ता गठबन्धनको साझा प्रतिबद्धतापत्रमा ललितपुर क्षेत्र नं ३ मा जनताको भावना, आकांक्षालाई पूरा गर्दै जाने अठोट लिएका छौं ।
पहिलो प्रदेशलाई बलियो बनाउने, संघ र स्थानीय तहबीच समन्वय गरी काम अघि बढाउने एजेन्डा अघि सारेका छौं । यहाँ रहेका बौद्ध विहार, पुरातात्विक महत्वका सम्पदा, गुठी कला, सम्पदा, मूर्त र अमूर्त संस्कृति र परम्पराको संरक्षण गर्दै यहाँको हरेक घर–परिवारको आर्थिक उपार्जनसँग जोड्ने, पर्यटनमा आधारित अर्थतन्त्र, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने मुख्य एजेन्डा छन् ।

वाग्मती प्रदेशमा नेपाली भाषासँगै नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा बनाउन भाषा आयोगले गरेको सिफारिसलाई दृढतापूर्वक कार्यान्वयन गर्न अघि बढ्नेछु ।हस्तकलाजन्य मौलिक उत्पादन, संस्कृति र परम्पराको प्रवद्र्धन गर्ने, कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, कृषि उपजको व्यवस्थित संकलन तथा बजारीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गहेको छु ।

पाँच वर्षभित्र निर्माणाधीन वागमती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, विकास निर्माणका निकायहरूबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने, गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गर्ने एजेन्डाहरु अघि सारेका छौं । स्थानीय भाषाको माध्यमबाट पनि पठनपाठन गराउनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छु । त्यसै गरी, दक्ष जनशक्ति निर्माणका लागि सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने, साना उद्यमी र व्यवसायी प्रोत्साहित गर्ने, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्रमा काम गर्ने संकल्प व्यक्त गरेको छु ।

स्थानीय तहको निर्वाचनमा त कांग्रेसका कार्यकर्ताले गठबन्धन अनुरूप भोट हालेको देखिएन । अहिले पनि मतदानको भोट दिन्छन् भन्ने आधार के छ ?

संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउन जिल्ला सभापतिले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको हुँ । यसले गर्दा कार्यकर्तालाई गठबन्धनको भावनाअनुरूप परिचालन गर्न, सोही अनुरूप चुनावी माहौल तयार गर्न अझ सहज भएको छु । गठबन्धनको नीतिलाई दायाँ–बायाँ नगर्न कडाइका साथ निर्देशन दिने र अपिल गर्दै आएको छु । मेरो निर्वाचन क्षेत्रमा संघका लागि माओवादी केन्द्रको तर्फबाट पम्फा भुसाल, क्षेत्र नम्बर ३ ‘क’ मा राजकाजी महर्जनको उम्मेदवारी रहेको छ । पार्टीको नीति अनुसार हामी साथ साथ चुनावी अभियानमा होमेका छौं । यसले गर्दा गठबन्धनकै भावना अनुरूप मतदान गर्ने र हुनेमा म अत्यन्त ढुक्क छु ।

० फास्ट ट्रयाकले गर्दा सम्पदा तथा बस्ती मास्न लागेको भन्दै स्थानीयले गरेको विरोधलाई कसरी लिनुभएको छ ?
कुनै पनि आयोजना सम्पदा संस्कृतिमैत्री र पर्यावरणमैत्री हुनुपर्दछ । त्यसले गर्दा फास्ट ट्रयाकको शुरुको बिन्दु खोकना र बुंगमतीको सम्पदा बस्तीलाई असर नपर्ने गरी फर्सिडोल वा त्यहाँभन्दा माथि पर्ने गरी पुनः रेखांकित गर्नुपर्दछ । काठमाडौं उपत्यकाको गर्ने विकास सम्पदा र संस्कृति मैत्री हुनैपर्ने विषयलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छु ।

 तपाईंले चुनाव जित्ने मुख्य आधार चाहिँ के हो ?

समाजमा भिजेर गरेका काम, राजनीतिक जीवनको निरन्तरता, जिल्ला सभापतिको हैसियतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन निर्वाह गरेको भूमिका नै मेरो जितका आधारहरु हुन् । अर्कोतर्फ देशको आवश्यकता र संविधानको रक्षाका लागि भएको संयुक्त वाम–लोकतान्त्रिक गठबन्धन नै चुनाव जित्ने अर्को महत्वपूर्ण आधार हो ।

१-कुनै पनि आयोजना सम्पदा संस्कृतिमैत्री र पर्यावरणमैत्री हुनुपर्दछ । त्यसले गर्दा फास्ट ट्रयाकको शुरुको बिन्दु खोकना र बुंगमतीको सम्पदा बस्तीलाई असर नपर्ने गरी फर्सिडोल वा त्यहा“भन्दा माथि पर्ने गरी पुनः रेखांकित गर्नुपर्दछ । काठमाडौं उपत्यकाको गर्ने विकास सम्पदा र संस्कृति मैत्री हुनैपर्ने विषयलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छु ।

प्रतिक्रिया दिनुहोस्