शेखर विरासत फर्काउने र पण्डित साख जोगाउने कसरतमा



काठमाडौं । 

निर्वाचन नजिकिँदै जाँदा हेभिवेट प्रतिस्पर्धाका रूपमा हेरिएको विराटनगर–६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्रनम्बर ६ मा डा. कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन् । कोइराला बदला लिने अभियानमा हुनुहुन्छ भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लाग्नुभएको छ ।२०७४ को चुनावमा ६ सय ७५ मतान्तरले मात्रै अघि पछि भएका यिनै प्रतिष्पर्धी फेरि पनि मैदानमा उत्रिएपछि यो क्षेत्रलाई चासोका साथ हेरिएको मोरङका स्थानीयहरू बताउँछन् ।

गत निर्वाचनमा कोइरालालई पछि पारेका तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत पाउनुभएको थियो भने डा. कोइरालाको पक्षमा ३३ हजार २ सय ६६ मत आएको थियो । उक्त निर्वाचनमा सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यसपटक डा. कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित सशंकित देखिन्छन् । मुलुकका तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा.शेखर भावी प्रधानमन्त्रीको दौडमा नभई सदन प्रवेशको कसरतमा रहेको बताउनुहुन्छ ।

‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’, कोइरालाले भन्नुभयो – ‘मोरङबासी मात्र नभई मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ ।’ यसपटक मोरङमा कांग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उहाँको बुझाइ छ । ‘अहिले हामी एक छौं’, उहाँले भन्नुभयो– ‘गठबन्धन एकढिक्का छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ ।

अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यक्ता पूर्ति गर्न मङ्सिर ४ कुरिरहेका छन् । मलाई रोज्न आतुर छन् ।’
विराटनगर प्रजातन्त्रको जग भएकाले यसपटक शेखर कोइरालाको जित पक्का हुने नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो प्रजातन्त्रको जग हो, पवित्र मन्दिर हो । कृष्णप्रसाद, बीपी, जीपी र अब डा. शेखर, डा. शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ । इतिहास जोगाउनुहुन्छ । यसपालि जनमत उहाँहरूको पक्षमा आउनेमा हामी ढुक्क छौं ।’

डा. कोइरालाका प्रतिस्पर्धीका रूपमा रहेका एमाले नेता लालबाबु पण्डित चुपचाप चुनावी माहोल बनाइरहनुभएको छ । धेरै तडकभडक नदेखाई उहाँ आफ्ना कार्ययोजनाहरू घरघरमा बाँडिरहेको भेटिनुहुन्छ । पण्डितले भन्नुभयो– ‘म काम गर्ने व्यक्ति हुँ । अहिलेसम्म गरेका काम हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ । २० महिना मन्त्री हुँदा कति व्यस्त थिएँ होला तर मैले मेरो क्षेत्रका मतदातासँग भेट्न छाडिनँ ।

मप्रति मतदाताको कुनै गुनासो छैन । कामप्रति सन्तुष्ट छन् । सुखदुःखमा सँगै छु । असन्तुष्ट हुने अवसर नै दिएको छैन । त्यसैले यसपटक पनि चुनाव जित्छु भन्नेमा छु ।’ आगामी निर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार डा. कोइरालासँगको लडाइँमा सफल हुने कुरामा उहाँ ढुक्क भने देखिनुभएको छैन । यस क्षेत्रमा पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट नभएको स्थानीय नेता कार्यकर्ताहरू नै बताउँछन् ।

आन्तरिक असन्तुष्टिको डर उत्तिकै

प्रायः सबै दलभित्र उम्मेदवारको टिकट वितरणमा भएको विभेद र भागबण्डाको असर तल्लो तहका कार्यकर्तासम्म पुगेको छ । एमालेलगायतका शीर्ष दलभित्र यसैको असन्तुष्टि देखिएको छ । पण्डितले टिकट पाएपछि कार्यकर्ता विभाजित अवस्थामा छन् । तर, पण्डित यसलाई स्वीकार गर्नुहुन्न । ‘पार्टीभित्र कुनै विवाद छैन । असन्तुष्टि छैन । सबै एक भएर भोट मागिरहेका छौं । बाहिरको हल्लामा सत्यता छैन’ –उहाँले प्रस्ट्याउनुभयो ।

यता नेपाली कांग्रेसमा टिकट वितरणका बेला केही रस्साकस्सी र विवाद देखिएको थियो । अन्यभन्दा बलिया र सक्रिय देखिएका डा. कोइराला निर्विकल्प क्षेत्रनम्बर ६ को उम्मेदवार भएकाले आकांक्षीहरूले धेरै कसरत नै गरेनन् । सत्ता गठबन्धनका तर्फबाट मोरङमा निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी पाएका नागेश कोइराला भन्नुहुन्छ– ‘सुरुवातीमा केही असन्तोष पैदा भएको हो । अहिले सबै व्यवस्थित भइसक्यो । सबै एक भएर घरदैलो गरिरहेका छौं । गठबन्धनभित्रका दलका नेता कार्यकर्ता पनि कोही विभक्त हुनुहुन्न । सशक्त भएर अघि बढेका छौं ।’ पण्डित र कोइरालाको प्रस्टीकरण आइरहँदा कार्यकर्तामा अझै बेमेल र विभाजन भने बाँकी नै रहेको देखिन्छ । गुटगत रोग देखिन्छ । अन्तरघातको खतरा रहेको अनुमान लगाउन भने कठिन हुँदैन ।

मुलुकको समृद्धि र विकासको मुद्दा

६ वटा प्रतिनिधि सभा र १२ वटा प्रदेश सभा क्षेत्र रहेको मोरङमा विकासका ठूला योजनाहरू अधुरै छन् । भूमिहीन र सुकुम्बासीका समस्या विकराल देखिन्छन् । मोरङबासीका आधारभूत आवश्यक्ता र विकासका योजनासहित उम्मेदवारहरू चुनावी मैदानमा छन् । डा. कोइरालाले संकल्प पत्र सार्वजनिक गरिसक्नुभएको छ ।

एमालेका पण्डित पनि बितेका वर्षहरूमा सबैभन्दा धेरै आफूले काम गरेको दाबी गरिरहनुभएको छ । पण्डितले भन्नुभयो– ‘विगतमा गरिएका ठूला काम जारी छन् । धेरैवटा सम्पन्न भएका छन् । कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए । कतिपय पालिका र वडाहरूमा एमालेको नेतृत्व नहुँदा अवरोध पैदा हुँदा ४० करोड रुपियाँ बजेट फ्रिज हुन गयो’, उहाँले अगाडि भन्नुभयो– ‘विराटनगरका कतिपय योजनामा मैले हालिदिएको बजेट पनि फ्रिज भयो । जनताको नयाँ आकांक्षालाई अब फेरि पनि पूरा गर्नुछ ।

असीमित जनताको माग र राजनीतिक अस्थिरताबीच पनि काम गर्नुपरेको छ ।’डा. कोइरालाले मोरङको मात्र नभई सिंगो मुलुकको समृद्धि र विकाससहितको खाका अघि बढाउनुभएको छ । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प’ सार्वजनिक गरेको कोइरालाले बताउनुभयो ।
यस क्षेत्रको आर्थिक असमानता र गरिबीजस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता कोइरालाले औंल्याउनुभएको छ ।

युवा बेरोजगारीको समस्या समाधान साथै ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने डा. कोइरालाको संकल्प छ ।आफ्नो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको उल्लेख गर्दै उहाँले अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउने बताउनुभयो ।

डा. कोइरालाले गछिया, केशलिया (बूढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने, विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने साथै विराटनगर चक्रपथको काम सम्पन्न गरी यथासक्य छिटो सञ्चालनमा ल्याउने संकल्प गर्नुभएको छ ।

यस्तो छ मतको अंकगणित

मोरङका ६ वटै निर्वाचन क्षेत्र विगतदेखि नै नेपाली कांग्रेसको एकछत्र थियो । तर, राजनीतिक परिवर्तन र दलहरूमा देखिएको अन्तरकलहले कतिपय स्थानमा ठूला दलहरू कमजोर बन्दै गए र नयाँ दलहरूले हिस्सा ओगट्दै गए । तर, २०७९ मा आइपुग्दा कांग्रेसले पुरानो विरासत जोगाउन सक्ने संकेत गरेको छ । २०७० सालको संविधानसभा चुनावमा मोरङ नौवटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सिट मात्रै विजयी भएको थियो ।

यसपालि कांग्रेसले लिएका चार निर्वाचन क्षेत्रमा सशक्त प्रदर्शन गरिरहेको छ । मतदाताहरूमाझ बलियो उपस्थिति जनाइरहेको छ । एमालेले पनि बेग्लै माहोल ल्याएको छ । उसले आफूलाई बलियो दाबी गरिरहेको छ ।गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ६ अन्तर्गत रहेका सुन्दरहरैँचा, बूढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली कांग्रेसले १२ वटामा जित हासिल गरेको छ ।

एमाले पाँच वटामा खुम्चिएको छ भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडामा विजयी हासिल गरेका छन् । यहाँ एमालेलाई जसपाको समर्थन छ भने कोइरालालाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थन छ । वडागत रूपमा कांग्रेसले २८ हजार ४ सय ३८, एमालेले २५ हजार २ सय ३६, माओवादी केन्द्रको ५ हजार ३ सय ५६, एकीकृत समाजवादीले २ हजार ३ सय ६९, जसपाले ३ हजार ९ सय ४९ मत ल्याएका थिए ।

एमाले–जसपाको मत २९ हजार १ सय ८५ हुँदा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १ सय ६३ हुन्छ । सत्तारुढ गठबन्धन ६ हजार ९ सय ७८ मतले अघि देखिएको छ । गठबन्धनभित्र इमानदारिता र कांग्रेसभित्र अनुशासन कायम रहे कांग्रेसका डा. शेखर कोइरालाले बाजी मार्न सक्ने अनुमान गरिएको छ ।एमाले मोरङ ६ को प्रदेश सभामा पर्शुराम बस्नेत (कृष्ण) र रीता न्यौपाने उम्मेदवार छन् । सत्ता गठबन्धनले भने ‘क’ मा जीवन आचार्य  र ‘ख’ मा प्रदेश मन्त्री कांग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्