‘कैलालीलाई समुन्नत राजधानी बनाउँछु’



सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री एवं कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर चुनावी मैदानमा हुनुहुन्छ । उहाँको पुख्र्यौली घर डोटी हो । २०२२ सालमा जन्मिएका बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिक यात्राका क्रममा ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका उहाँ ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो । बलायर नेपाली कांग्रेसको डोटी जिल्ला सभापति, नेपाली कांग्रेस केन्द्रीय सदस्य हुँदै २०७० सालको संविधानसभा निर्वाचनमा डोटी–१ बाट निर्वाचित हुनुभएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाँले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । प्रस्तुत छ, उनै बलायरसँग नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका जिल्ला संवाददाता टेकसिंह धामीले निर्वाचन लक्षित भएर गरेको कुराकानीको सम्पादित अंश :

गृह जिल्ला डोटीमै उम्मेदवार बन्ने रटानमा हुनुहुन्थ्यो । तर, एकाएक कैलाली आउनुभयो, किन ?

मैले यहाँ उम्मेदवारी मागेको होइन । तर, पार्टीको निर्णय र पार्टीले निर्णय गरिसकेपछि एउटा राजनीतिकर्मी भएका नाताले पार्टीको निर्णयलाई मैले अवज्ञा गर्न मिल्दैन । त्यसलै मेरो उम्मेदवारी यहाँ भएको हो । साथै यो मेरो राजनीतिक जीवनको प्रारम्भिक चरण बिताएको ठाउँ पनि हो । र, मेरो घर–परिवार सबै यहाँ भएकाले पार्टीले यस्तो निर्णय गरेको हुनसक्छ । मलाई नौलोपन छैन । यद्यपि मलाई गठबन्धनका कारण डोटीबाट यहाँ आउनुको पीडा पनि छ । यो मेरो कारणले मात्रै भएको होइन । म पार्टीको इमानदार र बफादार कार्यकर्ता भएकाले पार्टीको निर्णयलाई मैले आत्मसात गरेको हुँ ।

कैलाली–४ का मतदाताले तपाईंलाई नै मत दिने आधार के हो ?

यसको त धेरै कारण र आधार छ । ती कारणले हो भने त सबैले मलाई मत हाल्नुपर्छ, हाल्छन् । म निःस्वार्थ भावनाबाट राजनीतिमा लागेको छु । एउटा गरिब पृष्ठभूमिबाट आएकोे, गरिबलाई चिनेको मान्छे हुँ । मेहनत, रगत र पसिना बगाएर आएको, पसिना र रगतको मूल्य थाहा भएको व्यक्ति हुँ । मसँग राजनैतिक ठूला महत्वाकांक्षा छैनन् । गरिबी न्यूनीकरण गर्नका लागि, युवाको रोजगारीका लागि र यहाँको पूर्वाधार विकासका लागि मैले उम्मेदवारी दिएको हुँ ।पहाडी जिल्लाबाट यहाँ आउँदा पहाडी जिल्लाभन्दा यहाँको अवस्थालाई एकदमै दयनीय देखें ।

यहाँ बिजुलीका पोल छैनन् । अझै अन्धकार नै रहेछ । अझ गरिबी त पहाडको भन्दा पनि बढी रहेछ । यातायातको कनिक्टिभिटी अहिलेसम्म पनि नजोडिएको, अहिलेसम्मका नेताहरुले यहाँ राम्रोसँग आवागमनका लागि एउटा कल्भर्टसमेत राख्न नसकेको अवस्था छ । अब म यहाँका जनताको जनजीवनलाई सरल र सहज बनाउनेछु । राजनीति भनेकै जनताको जनजीवनमा सहज र सरलता ल्याउनु र उसको आर्थिक उन्नतिलाई अभिवृद्धि गर्नु हो ।यसो हेर्दा यहाँ कुनै पनि दलले सक्रियताका साथ यी कुराहरु गरेको देखिँदैन । विगतमा यहाँबाट निर्वाचित भएकाहरुसँग मतदाताहरुको निकै बढी विकर्षण छ । अब छिटोभन्दा छिटो म एउटा राजनीतिकर्मी र समाजसेवी भएका कारण म यहाँका मतदातको मनमा वासस्थान बनाउन सक्छु भन्ने विश्वास छ ।

तपाईंलाई टुरिस्ट उम्मेदवार पनि भन्छन् नि ! यो ट्याग कसरी चिर्नुहुन्छ ?

यो नेताहरुमा परेको आघात हो । यसलाई सम्मान नै गर्छु । म कसैलाई विस्थापित गरेर यहाँ आएको होइन, पार्टीको निर्णयले नै यहाँ आएको हुँ । जहाँसम्म पार्टीभित्रको अन्तरविरोधले चाहिँ मप्रति त्यस्तो व्यवहार भएको छैन । अरू पक्षले पनि यसलाई स्वीकार गरेर अगाडि बढ्ने भनेका छन् ।

यहाँ गु्रपिजम हुने र रहने छैन । मेरो लिडरसिपले पनि गु्रपिजम राख्ने छैन । केवल एकधार हुनेछ, त्योचाहिँ इमानदार, कर्मशील र जनताप्रति सर्मपित धार हुनेछ । मलाई त्यसरी टुरिस्ट भनेका त छैनन् । भनेका भए पनि तिनले भनेका छन्, जसले यहाँ नेता भएर काम गर्न सकेका छैनन् । भोलि म तिनलाई पनि काम गरेर दखाउँछु ।

विगतमा नेताहरुले सांसद बनेपछि निर्वाचन क्षेत्र बदल्ने परिपाटि पनि देखिएका छन् । तपाईं के गर्नुहुन्छ ?

मेरो राजनीतिक जन्मथलो डोटी भए पनि यहाँ आइसकेपछि त्यस्तो हुँदैन । यहाँका मानिस, यहाँको पार्टीले मलाई स्वीकार गरिसकेपछि म यहीं रहन्छु । म स्वार्थका लागि आएको होइन, पार्टीले ताप्लेजुङ चुनाव लड्न पठाएको भए पनि जान्थे ।
हिजो हामीले संघर्ष गरिरहेका बेला चाहे दार्चुलाको कांग्रेस होस्, चाहे ताप्लेजुङको कांग्रेस, जहाँको कांग्रेस भए पनि हामी सबै खुसी भयौं । पीडामा पनि त्यस्तै हो । मभित्र स्वार्थ छैन । कैलालीभित्रै आफ्नो स्पेस खोज्छु, डोटी फर्केर जान्न ।

यसअघि डोटेली जनताले तपाईंलाई सुदूरपश्चिमको राजधानी बेचुवा भनेर पनि भने । यसबारे के टिप्पणी गर्नुहुन्छ ?

म मन्त्री हुँदा बखत नै कैलालीमा प्रदेश राजधानी तोकिएको हो । त्यस बेला डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने थियो । मेरो ठाउँमा अरू जोसुकै भएको भए पनि भन्थे । यसका लाज मान्नुपर्ने केही कुरा छैन । म मन्त्रिपरिषद्मा हुँदा पनि अस्थायी राजधानी तोकियो । तर, केही गर्न सकिनँ । तर पनि पछि गएर मेरा साथीहरुले मेरो बाध्यतालाई बुझ्नुभएन । म त्यतिखेर निर्वाचन पराजित भएको अवस्था थियो ।

पराजित मानसिकता र तागतले के–कति गर्नसक्छ र भन्ने कुरा त्यहाँका मानिसले बुझ्नुपर्ने हो । त्यो अब इतिहासले बताउला । यो त राजधानी बेचुवा हो भनेर मलाई आरोप लागेको थियो । त्यसपछि तत्कालीन सरकारले २०७५ सालमा गोदावरी (कैलाली क्षेत्र नम्बर ४) मा स्थायी राजधानी तोकियो ।तर, अहिलेसम्म राजधानीका नाममा पूर्वाधार नै निर्माण नहुनु दुःखद कुरा हो । प्रदेश र केन्द्र सरकारले तालमेल गरेर राजधानी बनाउनुपर्ने हो । अब गठबन्धन सरकार बनेपछि गोदावरीमै ६ महिनाभित्रै राजधानी निर्माणको काम अगाडि बढ्छ । अब राजधानी सर्दैन । कसैले दुई तिहाइ पु¥याएर लग्यो भने त्यो अलग कुरा हो ।

गठबन्धन गरेर चुनावी मैदानमा हुनुहुन्छ, यसले सफलता प्राप्त गर्ला ?

यो गठबन्धन नभएको भए हाम्रो संविधान लिलाम भइसक्थ्यो । गठबन्धनले मुलुकलाई बचायो । अब गठबन्धनले मुलुकलाई १० वर्षको खाका बनाएर जानुपर्छ । गठबन्धन सफल हुनुपर्छ । सुदूरपश्चिममा गठबन्धनको बलियो उपस्थिति हुन्छ ।

१- मेहनत, रगत र पसिना बगाएर आएको, पसिना र रगतको मूल्य थाहा भएको व्यक्ति हुँ । मसँग राजनैतिक ठूला महत्वाकांक्षा छैनन् । गरिबी न्यूनीकरण गर्नका लागि, युवाको रोजगारीका लागि र यहाँको पूर्वाधार विकासका लागि मैले उम्मेदवारी दिएको हुँ ।

२- पहाडी जिल्लाभन्दा यहाँको अवस्थालाई एकदमै दयनीय देखें । यहाँ बिजुलीका पोल छैनन्, अझै अन्धकार नै छ । गरिबी त पहाडको भन्दा पनि बढी रहेछ । यातायातको कनिक्टिभिटी अहिलेसम्म पनि नजोडिएको, नेताहरुले यहाँ राम्रोसँग आवागमनका लागि एउटा कल्भर्टसमेत राख्न नसकेको अवस्था रहेछ । अब म यहाँका जनताको जनजीवनलाई सरल र सहज बनाउनेछु ।

प्रतिक्रिया दिनुहोस्