ओलीको प्रश्न : गठबन्धनबाट अगामी प्रधानमन्त्रीको को ?



धनगढी । 

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे नै नभएको बताउनुभएको छ। ओलीले अगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाक्छ ? गठबन्धनको नेता को हो ? भन्ने जवाफ गठबन्धनसँग नभएको बताउनुभएको हो।

कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै ओलीले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्न नसकेको दाबी गर्नुभयो। ‘गठबन्धनको अगामी कार्यक्रम के हो ? सरकार कसले हाक्छ ? नेता को हो रु एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन,’ ओलीले भन्नुभयो, ‘किनकी उनीहरुलाई सरकार बनाउँछौँ भन्ने विश्वाव नै छैन। सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागु गर्ने त्यो छैन। त्यसैले यो गठबन्धनलाई विदा गरौँ।’

अहिले गठबन्धनका नेताहरुले आफू आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जनतालाई ढाट्ने काम गरिरहेको बताउदै ओलीले फरक फरक पार्टीका घोषणा पत्र लागु हुने सम्भावना नै नरहेको जिकिर गर्नुभयो। एमालेलाई देख्दा गठबन्धनको सात्तो जाने उहाँको दाबी थियो।

यस्तै ओलीले कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्ने बताउदै बहुमत ल्याउन कठिन भएको र एमालेले नै बहुमत ल्याउन दाबी गर्नुभयो।

माधव नेपाल र प्रचण्डको पार्टी समाप्त हुने दाबी

यस्तै कैलालीकै अत्तरियामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘माधव नेपाल त यही चुनावबाट समाप्त हुन्छन्, माधव नेपालको पार्टी खरानीको डल्लो हो, पानीको भिजाएर डल्लो पारेको पानी सुकेपछि फुट्छ।’

तत्कालीन एमाले नेता नेपालले नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि ओलीले दावी गर्नुभयो। ‘माधव नेपालको पार्टी त रित्तो भाँडो भइसक्यो। अलि अलि बाँकी होलान्, ४ मंसिरसम्म सबै आइसक्छन्’ उहाँले भन्नुभयो।

यस्तै ओलीले माओवदी अध्यक्ष प्रचण्डलाई यो निर्वाचन चोक्टा खान जाँदा झोलमा डुबेजस्तै हुने बताउनुभएको छ। नेकपा माओवादी केन्द्र भविष्यमा समाप्त हुने ओलीले दाबी गर्नुभयो। २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन।’

प्रतिक्रिया दिनुहोस्