‘जनताको वितृष्णा एमालेले मात्र चिर्न सक्छ’



मुलुकमा हाल राजनीतिक चहलपहल बढिरहेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मत माग्नका लागि नेताहरु जनताका घर–घरमा पुगिरहेका छन् । आफ्ना पार्टीका नेतालाई अत्यधिक मत दिएर विजय गराउन कार्यकर्ता पनि जोस र जाँगरका साथ हिँडिरहेका देखिन्छन् । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले ललितपुर क्षेत्र नम्बर ३ ‘ख’ प्रदेशसभाका उम्मेदवार प्रेमभक्त महर्जनसँग नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका लागि ईश्वर ढकालले गरिएका कुराकानीको सम्पादित अंश:

ललितपुर–३ ‘ख’ मा तपाईंको उम्मेदवारी किन ?

देश संघीयतामा गइसकेको छ । देश संघीय संरचनामा जाँदा पनि खास रूपमा संघीयता त्यति परिचालन हुन सकेको छैन । त्यहाँ धेरै नीति बनाउन बाँकी छ । मेरो पहिलो प्राथमिकता भनेको संघीयतालाई कसरी बलियो वा दिगो बनाउने भन्ने कुरामा ध्यान दिने हुनेछ । कतिपय मानिसले अहिले संघीयता चाहिँदैन भन्ने आवाज पनि उठाइरहेका पाइन्छ । हामीले त्यत्रो आन्दोलन गरेर ल्याएको संघीयतालाई जोगाउन जरुरी छ । यसै संघीयतालाई परिचालित गर्न र त्यसमा भएका नीति निर्माणलाई पूर्णता दिन मेरो उम्मेदवारी रहेको हो ।

मतदाताबाट कस्तो अपेक्षा पाउनुभएको छ ?

योपटक सो क्षेत्रका मतदाता ज्यादै खुसी हुनुुहुन्छ । हामीले स्थानीयस्तरका व्यक्ति पाएकाले खुसी लागिरहेको उहाँहरुले बताउनुभएको छ । अन्य क्षेत्रबाट आयातित व्यक्ति उम्मेदवार खडा भएर विजय हासिल गर्नुभन्दा यहाँका व्यक्ति विजय हुँदा ललितपुर पूरै क्षेत्रको विकास हुने मतदाताको भनाइ रहेको छ । हामी तीनैजना आएपछि तपाईंहरुलाई हामीले हाम्रा एजेन्डा प्रस्तुत गराउन पाउँछौं र सामिप्यता बढाउन पाइन्छ भन्ने उहाँहरुको भनाइ रहेको छ ।

तपाईंको राजनीतिक यात्राबारे केही बताइदिनुस् न ?

मेरो राजनीतिक यात्रा २०३८ सालदेखि शुरु भयो । २०३८ सालमा तत्कालीन बुङमती गाउँमा वामपन्थी नेताहरु आएर बसेपछि त्यहीबाट राजनीतिमा आकर्षित भएँ । विसं २०३८ सालमा नेपाल प्रगतिशील विद्यार्थी युनियन केन्द्रीय कमिटीको सदस्य भएँ । त्यस बेला सत्याग्रह चर्केको थियो । त्यस आन्दोलनमा भाग लिँदा मलाई पक्राउ गरी भद्रगोल जेल लगियो । तीन महिना भद्रोगोल जेलमा बसें । २०४६ सालमा ललितपुरकै जनताको सहयोग र साथमा धेरै आन्दोलन चर्काएर नेपालमा संवैधानिक राजतन्त्र बहुदलीय व्यवस्थाको स्थापना गराउन मेरा साथीसँगै मेरो पनि ठूलो हात रहेको छ ।

यस क्षेत्रका मुख्य समस्या के–के छन् ?

मेरो क्षेत्रमा मुख्य गरी दुई÷तीनवटा समस्या रहेको छ । गुसिगाल, सानेपा, पुल्चोक, जावलाखेल, कुपण्डोल, सैँँबु, नःटोल, खोकना, बुङमती, सँैबु भैंसेपाटी आदि मेरो क्षेत्रमा पर्दछन् । यस क्षेत्रको मुख्य समस्या भनेको एउटा नख्खुबाट सैँबु आवास जाने सडक हो । हामी विजय भएर आएपछि यस सडकका लागि कहाँ जानुपर्ने र के गर्नुपर्ने छ गर्नेछौं । योसँगै बुङमतीबाट फर्सिडोल जाने सडक र बुङमतीबाट चुनिखेल जाने सडक अहिले साह्रै अस्तव्यस्त छ । ठेक्कापट्टा भइसकेको सडक मर्मत तथा सुधारका लागि समय–समयमा कुनै अवलोकन तथा रेखदेख आदि नभएकाले हामी आएपछि पटक–पटक अवलोकन गर्नेछौं । समयसँगै गरिनुपर्ने सडकको काम गतिका साथ हुन सकेको छैन । यहाँको तेस्रो समस्या भनेको कृषि क्षेत्रमा रहेको सिँचाइको व्यवस्थापन नहुनु हो । चौथो समस्या भनेको शहरीकरण बढ्दै जाँदा खानेपानीको हाहाकार बढिरहेको छ ।

मत माग्न जाँदा जनताले के–कस्ता माग राखेका छन् ?

हामी मत माग्न जनताको घरदैलोमा जाँदा जनताले स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी र विकास आदिको माग अघि बढाएका छन् । यी समस्यामध्ये पनि मतदाता धेरैले अघि सारेका माग भनेको पिउने पानीको व्यवस्था गरिदिनुपर्छ भनिरहनुभएको छ । हामीले जनताई प्रर्याप्त पिउने पानीको व्यवस्था गरिदिनुपर्ने आम नागरिकको हिसावमा पनि एक जिम्मेवारी हो । म त झनै संघीय सांसदको उम्मेदवारमा खडा हुँदै गर्दा विजय हासिल भएपछि हरेक जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गरिदिनेछु । मुख्य सडक तथा सहायक सडकलाई मर्मत सुधार गर्नु रहेको छ । स्थानीय उत्पादन लगायत हस्तकलाई बजारीकरण गरिदिनुपर्ने माग बढेको छ । युवा तथा महिलालाई रोजगारका लागि साना तथा घरेलु उद्योग स्थापना गरिदिनुपर्ने छ ।

तपाईं राजनीतिककर्मीबाहेक अन्य कुन पेसाबाट पनि परिचित हुनुहुन्छ ?

म २०४९ सालमा शिक्षण पेसामा संलग्न भएको थिएँ । मैले बुङमतीको आदर्श शौल माध्यामिक विद्यालय, भक्तपुरको आदर्श विद्यालयल, साँगाको दीपेन्द्र पुलिस स्कुल, बुङमतीको सहकारीमार्फत सञ्चालित त्रिरत्न सहकारी विद्यालयमा प्रधानाध्यापकका रूपमा भूमिका निर्वाह गरिसकेकाले यहाँका कयौं बालबालिकालाई शिक्षकको रूपमा अध्यापन गराइसकेको छु । ममार्फत मुलुकका विभिन्न ठाउँका जनताले शिक्षा ग्रहण गरिसकेका छन् । एक शिक्षकको भूमिका निर्वाह गरी कयौं जनताका छोराछोरीलाई अध्यापन गराएर सबल मुलुक निर्माण कसरी गर्न सकिन्छ भनेर राम्रो जानकारी हासिल गरिसकेको छु । २०५८ सालपछि आफूले पनि कुनै सानो व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने ठानेर खाद्यान्नको समेत हाल व्यवसाय सञ्चालन गरी एक व्यवसायीका रूपमा पनि चिनिने गरेको छु ।

निर्वाचित भइसकेपछि प्रतिबद्धतापत्रमा उठाएका सबै कुरा पूरा गर्नुहुन्छ त ?

जनताले हामीलाई पहिलो नम्बरमा चुनेर पठाउनुपर्छ । मुलुकमा नेकपा एमालेको सरकार बन्नुपर्छ । एमाले सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न हामीले यहाँका सडक, जनताका सुविधा, रोजगारी सिर्जना आदिमा ध्यान दिनुपर्ने हुन्छ । जहाँसम्म लाग्छ हामी नेतृत्व तहमा पुगेपछि वाचा पूरा गर्नेछौं । यहाँका सडक मर्मतका लागि ठेक्कापट्टा भइसकेका छन् तर त्यसलाई कसरी व्यवस्थित गर्ने र ठेकेदारसँग के–कस्ता कुरा राख्ने भन्ने एउटा छलफल गर्नुपर्ने देखिन्छ । सडकका लागि रकम अभाव भएको हो भने पहल गरिदिने र रकम पर्याप्त विनियोजन भइसकेको छ भने किन समयमै मर्मत नगरेको भन्ने कुरा राख्नेछौं । सो क्षेत्रका लागि खानेपानीको हकमा नख्खुवारी फर्पिङबाट ल्याएको सैँबुमा पानी पोखरी छ । नख्खुवारी–१८, २१, २२ र २५ वडावासीलाई यो पानी प्रशस्त पिउन पुग्छ । हामीले अन्य टोलका मानिसका लागि पानीको व्यवस्था गर्नुपर्ने हुन्छ । बुङमतीमा ट्रिप ड्रेलबाट झन्डै ६ इन्चको पानी निकालिसकेका छौं । सो पानीलाई पनि परीक्षण गरी जनतामाझ पु¥याउन सक्यौं भने आउँदो एक वर्षभित्र पानीको आपूर्ति सहज रूपमा पु¥याउन सक्छौं । यसै गरी, सो क्षेत्रमा रोजगारीको सवाललमा ध्यान दिँदा संघका उम्मेदार अमृत खड्का हस्तकला व्यवसायमा आबद्ध हुनुहुन्छ । हामीले रोजगारी सिर्जना गर्ने मिलेर अघि बढ्नेछौं । आमा, महिला तथा दिदीबहिनी तथा गाउँका अन्य समूहमार्फत उत्पादन भएका सामग्रीलाई राज्यभरिका बजारमा पु¥याउन सानातिना उद्योग सिर्जना गर्नेछौं ।

तपाईंलाई आसन्न निर्वाचनमा जित हात पार्न कतिको सहज लागेको छ ?

म दुई कार्यकाल २०४९ र २०५४ सालमा खोकनामा तत्कालीन गाउँ विकास समितिको अध्यक्ष भएँ । अध्यक्ष हुँदा मैले मेरो गाउँको लागि धेरै काम गरेको छु । मैले समुदायका लागि धेरै काम गरेर नै दुईपटक गाविस अध्यक्ष हुन सफल भएको हुँ । सामाजिक क्षेत्रमा पनि विभिन्न संघ–संस्था मिलेर काम गरेको छु । २०७२ सालको भूकम्पपछि हामीले बुङमती क्षेत्रमा झन्डै ३ सयवटा घर–टहरा बनायौं । बुङमतीवासीले खानेपानी नपाइरहेका बेला झन्डै २ करोड रुपियाँ खर्च गरी ६ इन्च पाइपलाइन बिच्छाएर खानेपानी खुवाएको छु । म पर्यटनसँग पनि सम्बन्धित भएकाले अहिले होमस्टे महासंघको बागमती प्रदेशको उपाध्यक्ष छु । पर्यटन विकासका लागि मैले विभिन्न खालका तालिम गर्नाका साथै प्रदेशभरिका साथीसँग समन्वय गरी कामसमेत गरिरहेको छु । हालसम्म कोही पनि व्यक्ति नेकपा एमालेसँग मैदानमा एक्लै खडा हुन सक्नुभएको छैन । अहिले मुलुकमाम ऐमाले भर्सेस पाँच गठबन्धन रहँदा ऐमाले संगठन कति बलियो रहेछ भन्ने तपाईंहरुलाई पनि लाग्छ होला । स्थानीय तहमा विजय हासिल गरेका वडामा पनि एमालेको मतको नतिजा राम्रै भएकाले मेरा काम र समाजसेवाको आधारमा निर्वाचित हुनेमा ढुक्क छु ।

तपाईंको प्रतिस्पर्धा अहिले कुन पार्टीसँग रहेको छ ?

आउँदो निर्वाचनले सबै कुरा देखाउँछ । मेरो सन्दर्भमा गठबन्धनको तर्फबाट समाजवादी पार्टीका जनप्रतिनिधि नरहँदा अलि सहज छ । मेरो प्रतिस्पर्धा भनेको नेपाली कांग्रेससँगका उम्मेदवारसँग हो । छुटिएर गएका साथीहरुसँग मेरो प्रतिस्पर्धा छैन । थुप्रै समय र धेरै कालसम्म सँगै बसेर यी साथीहरुसँग काम गर्दै आएका थियौं । उहाँहरुले मेरो भावना बुझ्नुभएको छ । म कस्तो व्यक्ति हुँ भन्ने कुरा छाडेर गएका साथीहरुलाई पनि थाहा छ । मलाई लाग्छ सो साथीहरुले मलाई मरेर सहयोग गर्नुहुन्छ । मेरा सबै साथीले विजयका लागि मुस्कानबाट नै विजयको कामना गर्नुभएको छ ।

तपाईको पार्टीप्रति जनताको बुझाइ के पाउनुभयो ?

म र मेरो पार्टीप्रति जनताको बुझाइ सकारात्मक छ । उहाँहरुलाई थाहा छ, एमाले जनताको समृद्धिका लागि केही गर्ने पार्टी हो । मुलुकको आर्थिक क्रान्ति गर्ने क्रममा नेकपा एमालेले सत्ता रहँदा विभिन्न खालको देशी तथा विदेशी षड्यन्त्रका कारण दुई तिहाइ बहुमत नै समाप्त हुन गएको बाध्यता उहाँहरुलाई थाहा छ । केही सयमअघि भएको राजनीतिप्रतिको सत्ता भागबन्डाले जनतामा निराशा छाए पनि नकारात्मकता राख्नु राम्रो हुँदैन । राजनीतिक स्थायित्वबिना कुनै पनि देश समृद्धितर्फ जान नसक्ने भएकाले राजनीति डामाडोल भयो भने झन् देश बर्बादतर्फ जाने हुनाले तपाईं जनताहरुले बचाउनुपर्छ । पार्टीमा युवा नेतृत्वको अभाव रहँदा सो किसिमका इमानदार युवा नेतृत्व आए र जनता अपेच्छा पूरा भए मात्र देशले गति लिन सक्छ । शीर्ष नेताहरु देशभन्दा नि व्यक्तिगत स्वार्थमा लाग्दा केही जनतामा वितृष्णा उत्पन्न भयो होला । त्यो वितृष्णालाई चिर्नका लागि नेकपा एमाले सरकारलाई पाँच वर्ष मुलुक चलाउन दिनुहोस् हामी एमालेले बोकेको अभिलाशा पूर्ण गराउन लाग्नेछौं ।

तपार्इंले आफूप्रति जनतालाई कसरी विश्वस्त गराइरहनुभएको छ ?

मेरो पार्टी एमाले सुरुङमार्ग निर्माण गर्न, चुच्चे नक्सा कायाम गर्न सफल भएको कुरा सबै जनतालाई थाहा नै छ । तत्कालीन समयमा यदि ओली सरकारले पूरै पाँच वर्ष कार्यकाल चलाउन पाएको भए अझै थुप्रै कुराको आकांक्षा पूरा गर्न सक्ने कुरा सबै जनतालाई थाहा नै छ । विगतमा दुई पार्टीका मानिस रहँदा उहाँहरुको भावना जोड्न सकिएन । अहिले एमाले पार्टी मात्रै एक्लै मैदानमा खडा भएको छ । यस पार्टीको उम्मेदवार रहँदा मलाई अत्यधिक मत दिएर जनताले विजय गराउनुहुने मेरो विश्वास रहेको छ । जनताले पुनः एमाले अर्थात् सूर्य चिह्न ध्वजावाहक नेतालाई सत्तामा पु¥याउन चाहेको मैले पाएको छु ।

ललितपुरमा रहेको शहरीकरण व्यवस्थापनमा तपाईंको एजेन्डा के–के हुनेछ ?

ललितपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । यी वडाहरु केही शहरी भेगमा पर्छन् भने केही ग्रामीण क्षेत्रमा । वडा नम्बर १, २ र ३ को भौगोलिक अवस्था र वडा नम्बर १८, २१, २२ र २५ को फरक हुँदा कुपण्डोलदेखि जावलाखेलसम्म हरियाली प्रवद्र्धन गर्नुपर्ने, फोहरमैला व्यवस्थापन गर्नुपर्ने, नदीमा फोहोर फाँक्न निषेध गरिने, धुम्रपानरहित, प्लास्टिक निषेध शहर निर्माण गर्नुपर्छ ।

पार्टीमा युवा नेतृत्वको अभाव रहँदा सो किसिमका इमानदार युवा नेतृत्व आए र जनता अपेच्छा पूरा भए मात्र देशले गति लिन सक्छ । शीर्ष नेताहरु देशभन्दा नि व्यक्तिगत स्वार्थमा लाग्दा केही जनतामा वितृष्णा उत्पन्न भयो होला । त्यो वितृष्णालाई चिर्नका लागि नेकपा एमाले सरकारलाई पाँच वर्ष मुलुक चलाउन दिनुहोस् हामी एमालेले बोकेको अभिलाशा पूर्ण गराउन लाग्नेछौं ।

प्रतिक्रिया दिनुहोस्