ओलीको भाषणले भूमि फिर्ता हुनेवाला छैन : प्रधानमन्त्री देउवा



 दार्चुला । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा ओलीका भाषणले फिर्ता नहुने बताउनुभएको छ ।

लोकतान्त्रिक वाम गठबन्धन दार्चुलाद्वारा गोकुलेश्वरमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो तर अहिले भारतले अतिक्रमण गरेको छ’ –उहाँले भन्नुभयो ।’

ओलीले चुनावी आमसभाहरूमा आफू एक्लैले चुच्चे नक्सा छापेको भनेर हल्ला गरिरहेको पनि प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भन्नुभयो । नेपालको पुरानो नक्सालाई परिवर्तन गरेर भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई नयाँ नक्सामा समावेश गर्न सबै दलले सहमति गरी संसद्बाट पारित गरी नक्सा छापिएको देउवाले बताउनुभएको छ ।

उहाँले दार्चुलाका विकास र समृद्धिका लागि यहाँका पर्यटकीय स्थलहरूको विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ । अपि हिमाल, नाम्पा हिमाल, राष्ट्रै सातौंधाम मालिकार्जुलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । दार्चुलामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबैलाई जिताउन मतदातालाई आग्रह गर्दै प्रधानमन्त्री देउवाले जिताएर पठाए मन्त्री बनाउने पनि आश्वासन दिनुभएको छ ।

देउवाले जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा, पाँचऔंलेलगायतका जडिबुटीलाई प्रशोधन गरी औषधीका रूपमा प्रयोग गर्न मिल्ने बताउनुभएको छ । जडिबुटी प्रशोधनका लागि मार्मा गाउँपालिकामा प्रशोधन केन्द्र स्थापनाका लागि पहल भइरहेको पनि उहाँले बताउनुभयो । दार्चुलालाई समृद्ध बनाउन चीनसँगको नाका तत्काल खोल्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावका बेला मात्रै नेकपा एमालेका अध्यक्ष केपी ओली राष्ट्रवादी हुने तथा अरू बेला लम्पसार हुने गरेको आरोप लगाउनुभयो । दाहालले एमाले पार्टीलाई बेइमानीको संज्ञा दिँदै ओली कम्पनीको छलकपटमा नपर्न नेताकार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

साथै अध्यक्ष दाहालले शान्ति सम्झौतादेखि नै नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको बताउँदै उहाँले अहिलेको गठबन्धन संविधान र गणतन्त्र रक्षाका लागि प्राकृतिक गठबन्धन भएको बताउनुभयो । सबै दलको सहमतिमा चुच्चे नक्सा जारी भएको भन्दै अध्यक्ष दाहालले केपी ओलीको भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर भञ्ज्याङसम्म जोड्ने महाकाली करिडोरलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष दाहालले पनि गठबन्धनका सबै उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्नुभएको छ ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै दार्चुलाबाट प्रतिनिधिसभा पदका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष ओलीले सरकारमा हुँदा संसद् विघटनबाहेक अरू कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । राष्ट्रिय एकता भएका बेला ओली सरकारले भारतसँग कूटनीतिक पहलको थालनीसमेत नगरेको उहाँले बताउनुभयो । साथै उम्मेदवार बडूले अहिलेको गठबन्धन चुनावी गठबन्धन मात्रै नभई शान्ति विकास र स्थायित्वका लागि भएकाले गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन मतदातामा आग्रह गर्नुभएको छ ।

गठबन्धनले जिते मात्रै देश र जिल्लाको विकास सम्भव भएको भन्दै उहाँले गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गर्नुभएको छ । एमालेले जितेर १० वर्षसम्म कुनै पनि विकास निर्माणका कामहरू गर्न नसकेको भन्दै उहाँले अब गठबन्धनलाई जिताउन आवश्यक रहेको उम्मेदवार बडूले बताउनुभयो । बृहत् चुनावी आमसभामा जिल्लाभरिका आम जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्