अहिलेको लडाई संविधान बचाउने र सिध्याउनेबीचको हो : मन्त्री पौडेल



बागलुङ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी भएको बताउनुभएको छ । सोमबार ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी भएको बताउनुभएको हो ।

पाँच दलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताउनुभयो । उहाँले अहिले संविधान सिध्याउने र बचाउने बिचको लडाई भएको बताउनुएको छ ।

“अहिले एकथरी संविधान बचाउने र सिध्याउनेबीचको लडाई हो,” उहाँले भन्नभयो “केपी ओली प्रतिगामी शक्ति लिएर हिडेका छन्, उनी देशप्रति इमान्दार छैनन् ।” ताराखोला शहिदहरुको रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन आग्रह गर्नुभयो ।

उहाँले १५ हजार मतान्तरले जित्ने दाबी गनुभयो । “गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उहाँले भन्नुभयो,“बागलुङका वटा क्षेत्र हामीले जितिसकेका छौं औपचारिक घोषणा हुनमात्र बाँकी छ ।”

बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,” उहाँले भन्नुभयो, “जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नुछैन जनताकै पक्षमा काम गर्छू ।”

प्रतिक्रिया दिनुहोस्