‘आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी’



जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेपाली राजनीतिमा एक वैचारिक र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ ।

राजनीतिमा जीवनमा हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका नेता श्रेष्ठले प्रगतिशील विचारका साथै जनताको भावनालाई मुखरित गर्दै आउनुभएको छ । नेता श्रेष्ठ अहिले सो पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ का उम्मेदवार हुनुहुन्छ ।

यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको वडा नम्बर १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा पर्दछ । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा एमालेबाट सोही क्षेत्रबाट निर्वाचित यहाँ यसबीचमा आवास तथा भौतिक योजनामन्त्री हुनुभयो ।

श्रेष्ठ अघिल्लो निर्वाचनमा जसपाबाट समानुपातिक उम्मेदवार भई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको थियो । अहिलेका उम्मेदवारीको सन्दर्भमा उहाँसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंको उम्मेदवारी केका लागि ?

यसपटक मेरो उम्मेदवारी मुख्यतः जनताको पक्षमा संघीय कानुनको निर्माण गर्न, नीति निर्माणमा सबैलाई समेटेर अघि बढ्नका लागि होे । खास गरी उत्पीडित समुदाय, श्रमजीवी वर्गको हितमा काम गर्नका लागि मेरो उम्मेदवारी हो । यसका लागि देशमा संघीय शासन प्रणालीलाई अझ समुन्नत बनाएर लानुपर्ने आवश्यकता देखिएको छ । त्यसैले उम्मेदवारीको पहिलो एजेन्डा समुन्नत संघीयतालाई राखेका छौं ।

दोस्रो, समाजवादी राज्य व्यवस्था, जहाँ विभेद, असमानता र अन्यायबाट जनतालाई मुक्ति गरी अवसर र अधिकारको न्यायोचित बाँडफाँड गर्नुपर्दछ । तेस्रो, सुशासन र सदाचार, देशमा विकास र समृद्धिको आकांक्षा पूरा गर्न सुशासन युक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्था आवश्यक रहेको छ । चौथो सामाजिक आर्थिक न्याय प्रदान गर्ने विषय, यो बिनासमाजवादको भविष्य नै बन्दैन । किनभने जहाँ विभेद छ, जहाँ शोषण र उत्पीडन छ, त्यहाँ समानताको परिकल्पना गर्न सक्दैनौं । अर्को कुरो सहभागितामूलक समावेशी लोकतन्त्र, राज्य व्यवस्थाको स्वरूप समावेशीसँगै सबैको सहभागिता होस् भनेर सहभागीमूलक समावेशी लोकतन्त्रलाई अघि सारेका छौं । यो अवधारणाले सबैको साझेदारीमा राज्य अगाडि बढ््दछ । यस्तो राज्य व्यवस्थाले राष्ट्रिय एकता र सद्भावलाई बलियो बनाउँदछ ।

अर्को उद्यमशीलता र रोजगारीको एजेन्डा रहेको छ । रोजगारीको सिर्जना भनेको उद्यमशीलताबाट हुन्छ । उदाहरणका लागि कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिक विकास गरेर अघि बढ्न सकियो भने आर्थिक क्रियाकलाप वृद्धि हुन्छ र परिणाम स्वरूप रोजगारीको अवसर बढ्ने छ । त्यसै गरी, शिक्षालाई संघीय ढाँचा अनुरूप रूपान्तरण गर्ने, स्वास्थ्य सेवामा जनताको पहुुच पु¥याउन निःशुल्क आधारभूत स्वास्थ्य महत्वपूर्ण लक्ष्यका रूपमा अघि सारेका छौं ।
देशमा अहिले वातावरणीय असन्तुलन पैदा भइरहेको छ । काठमाडौं वातावरण प्रदूषित भएको विश्वकै शहरमध्ये एक बनेको छ । यहाु पर्यावरणीय स्थिति निकै कमजोर बनिरहेको छ । त्यसैले पर्यावरण सन्तुलन कायम गर्न पनि मेरो उम्मेदवारी हो । त्यस्तै, जनताले आफ्नो क्षेत्रमा स्वशासन र स्वायत्त पाउनुपर्छ भन्ने मान्यताका आधारमा मैले आफ्ना राजनीतिक र वैचारिक कामलाई अघि बढाइरहेको छु । यस हिसाबले राज्यको विशेष संरचनाका रूपमा स्वायत्त, विशेष संरचना र संरचित संरचना निर्माण गर्ने पनि मेरो महत्वपूर्ण एजेन्डा छ ।
संक्षेपमा भन्नुपर्दा मेरो उम्मेदवारी संघीयता, सुशासन, समृद्धि र समाजवादको लागि हो । त्यो कामलाई अघि बढाउन पार्टीको तर्फबाट मैले उम्मेदवारी दिएको हुु।

तपाईं दुईपटक सांसद हुुदा भए गरेका मुख्य–मुख्य काम के–के हुन् ?

०५१ सालमा पहिलोचोटी सांसद भएको थिए । सांसद हुँदा जनतासँग मिलेर काम अघि बढाएको थिए । २८ वर्षअघि अहिले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रका सबै स्थानमा सञ्चारको सुविधा पुगेको थिएन । स्वास्थ्य र शिक्षाको अवस्था निकै कमजोर थियो । बाटोघाटो थिएन, खानेपानीको समेत व्यवस्था थिएन । घर–घरमा खानेपानी नभई कुवा, बाहिरको धारामा भर पर्नुपर्ने स्थिति थियो । यस क्षेत्रमा पछि शिक्षाको अभियान चलाएँ । विद्यालयको भवन निर्माण शिक्षकको व्यवस्थापनदेखि लिएर स्वास्थ्य क्लिनिक स्थापना गर्ने, बाटोको नयाँ ढंगले व्यवस्थापन गर्ने, घर–घरमा खानेपानीको पाइप पु¥याएर धारा राख्ने जस्ता कार्यका लागि मैले जहाँ–जहाँ पैरवी गर्नुपर्ने हो, त्यहाँ आफ्नो स्तरबाट गर्नुपर्ने पहल उच्चस्तरबाट जारी राखेको थिए । अहिले पनि त्यहाँका जनताले बाढी–पहिरोको समस्या आउँदा बालाजु धर्मस्थली जाने लामबगरको बाटो आफैं खटेर बनाउन लगाएँ । त्यति बेला ठेकादारलाई ५ बजेपछि पनि काम गर्न लगाए । डोजेरमा आफैं बसेर बाटो बनाउन लगाए। त्यसो गरेर बाढीबपीडित भएका जनतालाई बचाउन काम गरें ।
आफैं ढुंगा बोकेर देउकी फाँटको बाटो निर्माणमा अघि सरें । यो बाटो भनेको बालाजु, धर्मस्थली देउकी फाँट, तीनपीप्ले र नुवाकोटको बेलकोट गढी हुँदै रसुवा, गल्छी लोकमार्गको रातेमाटे जोड्ने तथा उपत्यका बाहिर जाने पुरानो बाटो थियो । थानकोटको बाटो बनेपछि त्यो बाटो त्यति चलनचल्तीमा आएको थिएन । आफंैले प्रस्तावित गरेको सो बाटो बनाउने कार्य पछिल्लो कालमा त्यस क्षेत्रबाट निर्वाचित सांसदहरुले मेरो कार्यकालमा शुरु गरिएको भन्दै बाटो बनाउने कार्यलाई बेवास्ता गरी स्थगन थियो । अहिले म मन्त्री भइसकेपछि त्यो बाटोको बाँकी खण्ड त्रिशूलीको किनारा हुँदै रसुवा–गल्छीसम्म जाने गरी बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार भई निर्माणकार्य थालनी भएको छ । त्यो बाटो बनिसकेपछि बाटोसँग नजिकमा रहेको पर्यटकीय दृष्टिले महत्वपूर्ण खरवालकोटदेखि देवीस्थानजम्म जोड्ने ३ सय ४५ मिटर लामो झोलुङ्गेपुल बनाउने काम अघि बढ्ने तयारी अन्तिम चरणमा पुगेको छ । सो पुल बनेपछि वागमती प्रदेशको सबैभन्दा लामो पुल हुनेछ ।
राजनीतिक पहुँचको आडमा ठेक्का लिने तर काम नगर्ने ‘एक जना’ घरबेटी ठेकदारलाई कालोसूचीमा राखेर नयाँ ठेकदारबाट काम गराउन लगाएपछि त्यहाँका बाटो बनाउन शुरु भएको थियो । बाटोको स्तरोन्नतिका लागि, मन्दिर सम्पदा बचाउने कामलाई प्राथमिकता दिइएको छ । त्यसै गरी, बस्ती बढ्दै जाँदा खानेपानीको अभाव नहोस् भनेर नुवाकोटका सीमानामा रहेको ठूलो खोलाबाट पानी ल्याएर एक–एक लाख लिटरको ट्रयांकी बनाएर तारकेश्वरको वडा नं ३, ४ र ५ वडामा खानेपानीको व्यवस्था गर्ने काम गरेको छु । नागार्जुन नगरपालिकाको इचंगु, रानीवन क्षेत्रमा देखिएका विभिन्न समस्या हल गर्न पनि मैले प्रयत्न गरेको छु ।
विगतमा म भौतिक मन्त्री हुँदा रानीवन क्षेत्रमा व्यवस्थित शहरीकरणको योजना प्रस्तुत गरेको थिएँ । सोहीअनुरूप अहिले राम्रो शहर बनिसकेको अवस्था छ । त्यस क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गर्नका लागि खानेपानी मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी काम अघि बढाउन क्रमागत रूपमा अघि बढाएको छु । सडकको स्तरोन्नतिदेखि लिएर इचंगुनारायणसम्मको सडकलाई व्यवस्थित गर्ने र धादिङसम्म जोड्ने कार्य सञ्चालन भइरहेको छ । महानगरपालिका क्षेत्रमा यहाँका संस्कृति, सम्पदाको संरक्षण, मातृभाषाको माध्यमबाट शिक्षा दिने, गैरन्याायिक सडक विस्तारबाट पीडित भएका जनतालाई न्याय दिने र यहाँको सभ्यता बचाउने काम गरेको छु ।

सांसदको हैसियतले नीति निर्माण गर्ने काममा तपाईंको भूमिका कस्तो रह्यो ?

संसद्मा निर्वाह गरेको भूमिका नेपाली जनतासमक्ष जाहेर नै छ । अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक, आवाससम्बन्धी विधेयक बनाउन निर्वाह गरेको भूमिका निर्वाह सबैलाई सम्झना भएकै छ । यसमा नेपालमा बोलिने राष्ट्रभाषा (मातृभाषा) बाट शिक्षा पाउने अधिकार र दिने राज्यको व्यवस्थाका लागि सशक्त रूपमा आवाज उठाएको छु । त्यसै गरी, संस्कृति, सम्पदा संरक्षणदेखि लिएर विकास निर्माणसम्बन्धी नीति, योजना बनाउन आफ्नो ज्ञान र समय दिए । म भौतिक योजना तथा आवासमन्त्री हुँदा आवास नीति बनेको थिएन ।

सुरक्षित घरहरु कसरी बनाउने भन्ने योजना अघि बढाएको थिए । काठमाडौंको भित्री शहरमा खानेपानीका लागि बोरिङ गर्ने काम रोकिदिए । काठमाडौंको जमिनमुनि हरेक दिन पानी रितिँदै गइरहेकाले बोरिङ गर्ने काम रोकिदिएको थिएँ । हामी सानो हुँदा ५–६ फिट खाल्डो खनेपछि पानी आउथ्यो । अहिले २०–२२ फिटदेखि १ सय फिट खने पनि पानी नआउने स्थिति बन्दै गएको छ । जमिनको मुनिको पानी धमाधम झिकेपछि भूकम्प गएपछि जमिन भासिन सक्ने खतराले गर्दा पानी बोरिङ गर्ने काम रोकिदिएको थिए ।

खानेपानीका परम्परागत स्रोत ढुंगेधारामा पानी नसुकोस् भन्ने मेरो लक्ष्य थियो । यहाँको संस्कृति, सम्पदा, संस्कार र परम्परासँग जोडिएको खुला स्थानहरु रक्षा गर्न चाहेको थिए । पछि डिप बोरिङ गर्ने कार्यलाई सरकारले दुंगेधारा र इनारमा पानी सुक्दै गएको थियो । काठमाडौं महानगरपाालिका–१७ मा रहेको कन्यामन्दिरमा बोरिङ गर्दा धोबीचौरका सबै धारा सुकेको थियो । इनारको पानी पनि पिउन अयोग्य हुँदै गयो । यहाँको संस्कृति, संस्कार नबुझिकन हरेक काम हुँदै गएपछि अनेक समस्या देखापर्दै गयो । यी सबैलाई विश्लेषण गरी मैले विगतमा गरेको कामलाई नयाँ ढंगले गर्दै जाने प्रतिबद्धता अहिले पनि गरेको छु ।

पछिल्लोपटक संघीय मामिलामन्त्री हुँदा खास गरी के काम गर्नुभयो ?

संघीयतालाई कार्यान्वयन गर्न र सुदृढ बनाउन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान बनाउने सम्बन्धी विधेयक अघि सारेको थिए । प्रदेशहरुलाई अधिकार सम्पन्न हुने गरी संविधानको धारा २२७ बमोजिम निजामती कर्मचारीलाई व्यवस्थित गर्न निजामती सेवा ऐनलाई अघि बढाएको थिएँ । त्यसै गरी, संविधानको धारा ५६ (५) व्यवस्था गरिए अनुरूप तोकिन बाँकी रहेको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र निर्माण गरी जनता निकट राज्य पु¥याउने उद्देश्यले विधेयक तयार गरेको थिएँ । सो विधेयक पारित भएपछि संविधान अनुरूप क्षेत्रहरु घोषणाबाट विभिन्न समुदायको पहिचानसहित उनीहरुको आर्थिक, सांस्कृतिक विकासका कार्यक्रम सञ्चालन गर्न सकिने स्थिति बन्ने थियो । यी तीनवटा विधेयकहरु राज्य संयन्त्रभित्र रहेका पुराना पार्टीहरु खास गरी गठबन्धन भित्रैकै तीनवटा पार्टी नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरुको उदासीनता र पुरानो चिन्तनले गर्दा ती विधेयकलाई अघि बढाउन दिइएन । ती विधेयकउपर अर्थ मन्त्रालय र कानुन मन्त्रालयले स्वीकृति दिइसकेको थियो । आफ्नो मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम सबैै काम सकिएर मन्त्रिपरिषद्मा लान ठिक्क अवस्थामा राखेको थिए । ती विधेयक मन्त्रिपरिषद्बाट स्वीकृति गरी संसद्समक्ष प्रस्त्ुत गर्ने काममा गठबन्धनमा रहेका नेताहरुले नै अवरोध सिर्जना गरे ।

यदि तपार्इंको भनाइलाई सही मान्ने हो भने अहिलेको सत्ता गठबन्धन संविधानको रक्षाका लागि भएको भन्ने कुरो त मिलेन नि !
संविधानको रक्षालाई सत्ता पाउने हदसम्म मात्र गठबन्धनका नेताहरुले लिएका छन् । तीनवटा विधेयक पारित गराउने प्रयासमा भोगेको भोगाइबाट भन्न सक्दछु भने पुरानो राज्य संयन्त्र अहिले पनि जीवित छ । राजनीतिक व्यवस्था भने नयाँ आइसकेको छ । पुरानो राज्यसंयन्त्र र नयाँ राजनीतिक व्यवस्थाबीच संघर्ष जारी छ । म नयाँ राजनीतिक व्यवस्था अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्दछु भनेर लागेको एक प्रतिनिधि पात्र हुँ । तर, पुरानो पार्टीका नेताहरु त्यसको विरोधमा कसरी प्राप्त उपलब्धिलाई पनि समाप्त गर्ने भनेर लागेका छन् । संविधानले दिइसकेको अहिलेको उपलब्धिलाई पनि खोस्न लागेका छन् । कोही दुई–दुईपटक संसद् विघटन गर्न लाग्ने । कोही अग्रगामी तवरमा संघीय कानुनहरु बनाउन नदिने प्रवृत्तिले गर्दा नेपालको राज्ययन्त्रमा समस्या देखिएका छन् । यो समस्याहरुसँग निर्भिक भएर संघर्ष गर्नसक्ने एउटा योद्धाका रूपमा मैले आफूलाई उभ्याएको छु ।

तपाईंले चुनावमा जित्नुभयो भने कुन–कुन कामलाई प्राथमिकता दिनुहुन्छ ?

मैले अघि पनि भनें, म पहिलोचोटी सांसद हुँदा प्रस्तावित गरेको बालाजु, धर्मस्थली देउकी फाँट, तीनपिप्ले र नुवाकोटको बेलकोट गढी हुँदै रसुवा, गल्छी लोकमार्गको रातेमाटे जोड्ने बाटोलाई स्तरोन्नति र व्यवस्थित गर्ने काममा मेरो ध्यान जानेछ । त्यसै गरी, सविधानबमोजिम ऐन कानुन बनाउन बाँकी कामलाई विशेष प्राथमिकतामा राख्नेछु । यस्ता योजनाको सूची लामै छ । तर, समग्रमा भन्नुपर्दा जनताले दैनिक जीवनमा बिहान उठेदेखि राति नसुतेसम्म भोग्नुपरिरहेको खानेपानी, बाटोघाटो, स्वास्थ्यलगायतका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्नेछु । यी समस्या समाधान गर्नेतर्फ जान सक्यौं भने जनताको भविष्य सुरक्षित रहन्छ । समुन्नत संघीयताको माध्यमबाट मुलुकको आर्थिक समृद्धि र विकास गर्नेतर्फ हाम्रो पार्टी र मेरो जोड रहनेछ । निजी क्षेत्रसँग सहकार्य गरी यहाँको स्रोत साधन विशेष गरी पाँच ‘ज’ जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरी दिगो विकासको आधार तय गर्नेतर्फ लाग्नेछु । यो देशमा मेरो भविष्य सुरक्षित छ भन्ने भावना विकसित गर्ने हिसाबले काम गर्नेछु ।

तपाईंले नै किन चुनाव जित्नुपर्दछ ?

अर्थशास्त्र र वाणिज्य शास्त्रको विद्यार्थी भएकाले राजनीतिक अनुभवका आधारमा मुलुकको आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण योगदान गर्न सक्दछु । म के कुरामा विश्वस्त छु भने देशको दीर्घकालीन विकास, समृद्धि र सुशासनका लागि पनि अघि बढ्न सक्दछु । त्यसै गरी, तत्कालका समस्याहरु समाधान गर्नेतर्फ पनि मेरो ध्यान केन्द्रित हुनेछ । यससम्बन्धी नीतिहरु बनाउन संसद्मा अग्रसरता देखाउने र नेतृत्व लिने कार्यले विगतमा झंै निरन्तरता पाउनेछ । जनताको पक्षमा ऐन, कानुन बनाउन कुनै कसर बाँकी राख्ने छैनौं । मेरो क्षेत्रमा उठाइरहेका जनताको समस्या हल गर्न म सधै जनतासँगै अग्रपंक्तिमा उभिनेछु । आजसम्म सैद्धान्तिक रूपमा मात्र नभई मैले व्यवहारबाट सिक्दै अघि बढेको छु । मेरो क्षेत्रबाट आजसम्म कति जना सांसद भए । ती सांसदमध्ये जनता सँगसँगै हिँड्ने कति जना हुनुहुन्छ । र, को भनेर तपाईं सर्वेक्षण गर्नुभयो भने जनताको नजरमा म नै पर्नेमा विश्वस्त छु ।

१ अर्थशास्त्र र वाणिज्य शास्त्रको विद्यार्थी भएकाले राजनीतिक अनुभवका आधारमा मुलुकको आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण योगदान गर्न सक्दछु । म के कुरामा विश्वस्त छु भने देशको दीर्घकालीन विकास, समृद्धि र सुशासनका लागि पनि अघि बढ्न सक्दछु ।


विद्यालयको भवन निर्माण, शिक्षकको व्यवस्थापनदेखि लिएर स्वास्थ्य क्लिनिक स्थापना गर्ने, बाटोको नयाँ ढंगले व्यवस्थापन गर्ने, घर–घरमा खानेपानीको पाइप पु¥याएर धारा राख्ने जस्ता कार्यहरू यस क्षेत्रमा मैले गरेको छु ।

प्रतिक्रिया दिनुहोस्