‘मतदाताको विवेकमा शंका छैन’



हेटौंडाका राजन मैनाली राप्रपाका तर्फबाट मकवानपुरको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार हुनुहुन्छ । पार्टीभित्र स्पष्ट वक्ताका रूपमा परिचित उहाँ हाल आफ्ना एजेन्डासहित मतदाताको घर–घरमा पुगिरहनुभएको छ । मैनालीको निर्वाचन क्षेत्र जिल्लाकै सबैभन्दा बढी पीछडिएको क्षेत्र हो । उक्त क्षेत्रलाई अवैध गाँजा र चरेसको भूमि पनि मानिन्छ । उहाँसँग निर्वाचनका सन्दर्भमा हेटौंडा सम्वाददाता रोशन पराजुलीले गर्नुभएको कुराकानीको अंश:

तपाईंको उम्मेदवारी केका लागि हो ?

ठूला भनाउँदा राजनीतिक दलहरुले विगत ३३ वर्षदेखि देशको विकास र जनताको समृद्धिको झुटा आश्वासन र सपना देखाउँदै राज्यशक्ति व्यक्तिगत स्वार्थपूर्तिका लागि दुरुपयोग गर्दै संस्थागत् भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने, लोकतन्त्र र गणतन्त्रको लाभलाई आफ्ना आसेपासेको स्वार्थपूर्तिको साधन बनाए ।उनीहरुले नेपाललाई विदेशी शक्तिको क्रिडास्थल बनाउने, समाजलाई जातीयता, क्षेत्रीयता, भाषा, धर्मका नाममा विभाजित गरी गृहयुद्धको अवस्था सिर्जना गर्ने, कानुनी शासनको मान्यतालाई उपहास गर्ने, आर्थिक अपराध गरी देशको अर्थतन्त्र धराशयी पार्ने विरुद्ध, राष्ट्र र राष्ट्रियता खतरामा परेको महसुस गरी यस्ता विकृति र विसंगतिविरुद्ध उम्मेदवारी दिएको हुँ ।

जनताले राप्रपालाई मत दिने आधार के देख्नुहुन्छ ?

ठूला भनाउँदा पार्टीहरुको स्पष्ट सिद्धान्त र दृष्टिकोण छैन । हाम्रो सन्दर्भमा स्पष्ट विचार, दृष्टिकोण, स्वच्छ, निर्भिक, कटिबद्ध नेतृत्व र पार्टीभित्रको आन्तरिक लोकतान्त्रिकीकरण, नेतृत्वको व्यावहारिक पुस्तान्तरणका कारण अन्य पार्टीहरुको तुलनामा हाम्रो पार्टीप्रति विश्वास गर्ने ठोस आधार छ । त्यसैले दृष्टिकोणहीन रहेका ठूला भनाउँदा राजनीतिक दलको तुलनामा हामी स्पष्ट विचार र दृष्टिकोणसाथ जनताको बीचमा छाैं । हामीले लिएको सिद्धान्तले जनताको वास्तविक भावनाको प्रतिनिधित्व गर्ने हुँदा हामीप्रति मतदाताको आकर्षण रहेको हामीले महसुस गरेका छौं ।

नेपाली कांग्रेसले लोकतन्त्र र एमाले, नेकपा माओवादी र समाजवादी जस्ता कम्युनिस्ट पार्टीहरुले समाजवादको वकालत गर्दछन् । यिनीहरुका आ–आफ्ना घोषणापत्र छन् । अनि कसरी विचारहीन र सिद्धान्तहीन भन्न मिल्यो ?

न नेपाली कांग्रेसमा बीपी कोइरालाका प्रजातान्त्रिक समाजवादको अवधारणा बाँकी छ, न त कम्युनिस्ट भनाउँदा पार्टीहरुमा माक्र्सवादी चिन्तन नै बाँकी छ । यी पार्टीहरु सत्तास्वार्थ र सत्तालिप्साका लागि अपवित्र गठबन्धन गरी चुनावमा गएपछि अब यिनीहरुले सञ्चालन गर्ने शासनसत्ता कुनै सिद्धान्तमा आधारित हुनै सक्दैन । यी राजनीतिक दलहरुले भोलिका दिनमा सत्ता सञ्चालन गरे भने पनि न प्रजातान्त्रिक हुन्छ, न त समाजवादको बाटो पहिल्याउन सक्छ । त्यसैले प्रजातान्त्रिक र कम्युनिस्ट पार्टी मिलेर चुनावमा जानुभनेको जनतालाई झुक्याई सत्तामा पुग्ने चाल, जनताप्रतिको राजनीतिक बेइमानीबाहेक अरू हुनै सक्दैन । जुन कुरालाई मतदाताहरुले राम्रोसँग बुझ्नुभएको छ ।

तपाईंको पार्टीलाई पूर्वपञ्चहरूको पार्टीका रूपमा पनि चिनिन्छ नि ?

शुरुमा यो पार्टी पूर्वपञ्चहरुकै पार्टी थियो । तर, हाल हाम्रो पार्टीभित्रको आन्तरिक लोकतान्त्रिकीकरणका कारण पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण भएको अवस्था छ । पुस्तान्तरण भनेको उमेर समूह वा नेतृत्व हस्तान्तरणमात्र होइन, विचारको पनि हस्तान्तरण हो । हाम्रो पार्टीले जनताको भावनालाई सही प्रतिनिधित्व गर्ने संवैधानिक राजतन्त्र, हिन्दू अधिराज्य, संघीयता खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचारमुक्त समाज र न्यायिक सुशासनजस्ता विषयमा आफ्नो स्पष्ट दृष्टिकोण छ ।
नेपाल जस्तो भूराजनीतिक भएको देशको सार्वभौमसत्ता र अखण्डता संरक्षण गर्न र राजनीतिक स्थायित्व र विदेशीहरुको चलखेल अन्त्य गर्न पनि राष्ट्रिय एकताको प्रतीकका रूपमा रहेको राजसंस्थाको आवश्यकताबोध बढी हुन गएको छ । एमसीसी, नागरिकतासम्बन्धी विधेयक आदिलाई लिउँ न । यदि राष्ट्रप्रमुखका रूपमा राजा भएको भए देशलाई पश्चिमाहरुको क्रिडास्थल वा सिक्किमीकरणको प्रयास सम्भव थिएन ।

राजतन्त्रलाई बोकेर हिँड्दा मतदाताले पत्याउलान् त ? प्रमुख राजनीतिक दलहरुले राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता र संघीयतालाई सबभन्दा ठूलो राजनीतिक उपलब्धि भनी वकालत गरेको अवस्थामा यस्तो विचारलाई जनताले अनुमोदन गर्लान् भन्ने ठान्नुहुन्छ ?

न जनताले राजतन्त्रलाई गलहत्याएका हुन्, न त हिन्दूराष्ट्रलाई नेपाली जनताले हटाएका हुन् । राजतन्त्रको अन्त्य, संघीयता र धर्मनिरपेक्षता जस्ता कुराहरु विदेशीको इशारा र दबाबमा भारतमा भएको १२ बुँदे सम्झौताबाट जबर्जस्ती नेपाली जनतालाई लादिएका विषय हुन् ।हामीले वर्तमान समयमा समाजको आवश्यकता र विचारको सान्दर्भिकता रहेको यस्ता विषयलाई मुखरित गरेको र त्यस विचारप्रति जनताको बढ्दो आकर्षण देखेर हाल ठूला राजनीतिक दलहरुले समेत जनतालाई भ्रम सिर्जना गर्न त्यस्ता पार्टीभित्र समेत संवैधिनक राजतन्त्र, हिन्दुत्व, संघीयताको खारेजीका विषयहरुमा बहस चल्ने गरेको छ । तर, ती बहसहरु जनतालाई झुक्याउन गरिएका अभिनयमात्र हुन् । यस सिद्धान्तको प्रणेता राष्ट्रिय प्रजातान्त्रिक पार्र्टी नेपालमात्र हो भन्ने कुरा बुझ्नु जरुरी छ ।
त्यसैले राजतन्त्र, संघीयताको अन्त्य, हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, २०४६ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचारमुक्त समाज स्थापना, सुशासन, कानुनको शासन स्थापना जस्ता स्पष्ट विचार र मूलभूत चरित्र बोकेको हालको सन्दर्भमा कुनै राजनीतिक दल छ भने त्यो राप्रपा नै हो ।

विचार वा सिद्धान्तका आधारबाहेक राप्रपालाई जनताले मतदान गर्नुपर्ने अन्य केही आधार पनि देख्नुहुन्छ कि ?

२०४६ सालयता २६ वटा सरकारको गठन भइसकेका छन् । कुनै सरकारले आफ्नो पूर्ण कार्यकाल बिताउन पाएका छैनन् । यो राजनीतिक अस्थिरताको जड भनेकै ती ठूला पार्टी र त्यसका विगत ३० वर्षदेखि एकछत्र राज गरेका नेतृत्वकर्ताको सत्तालिप्सा, सत्तामोह र परिवारवाद नै हो ।

यी राजनीतिक दलहरुका कारण देशको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा धमिरा लागेर जर्जर भइसकेको छ । आफन्त र परिवारभित्र सीमित शासकवर्गले न १० वर्षको जनयुद्धको औचित्यता प्रमाणित गर्नसके, न त झन्नै दुई तिहाइको सरकार विघटन र पार्टी फुटाउनुपर्ने कारण वा पाँचपटक प्रधानमन्त्री हँुदा देशले पाएको उपलब्धि पुष्टि गर्नसके ।

यस्ता, अक्षम पार्टीका तीनै भ्रष्टाचारमा लिप्त नेताहरुलाई अब पनि भोट दिई जिताउनुको न कुनै औचित्य छ, न त त्यस्ता व्यक्तिहरुले जितेर देशको रूपान्तरण, आर्थिक समृद्धि वा विकास सम्भव छ । त्यसैले पनि हाल राष्ट्रव्यापीरूपमा एउटा अभियान चलाउन आवश्यक छ । त्यो भनेको ‘नो नट एगेन’ हो । त्यसैले म आममतदातासँग के अनुरोध गर्दछु भने मलाई मन पर्दैन भने मत नदिनुहोस् तर कृपयाँ एकपटक निर्वाचित भई परीक्षण भइसकेका व्यक्तिलाई कुनै हालतमा मतदान नगर्नुहोस् ।

मकवानपुर–२ मा तपाईंले आफ्नो प्रमुख विपक्षीका रूपमा कसलाई लिनुभएको छ ?

राजनीति भन्ने कुरा विचार र दर्शनका आधारमा गरिन्छ । हाल यी ठूला राजनीतिक दलहरुले विचारहीन राजनीतिलाई गठबन्धनको नाममा विकृत र जनजीविकाका सवाल भन्दा बाहिर लगेका छन् । मेरो क्षेत्रमा भन्नुहुन्छ भने गठबन्धनका तर्फबाट उम्मेदवार भएका व्यक्ति विगत चार पटकदेखि प्रतिनिधित्व गरिरहनुभएको छ । उहाँले व्यक्तिगतरूपमा त धेरै समृद्धि हासिल गर्नुभयो होला । तर, त्यस अवधिमा देश र जनताको हितमा गरेका कुनै चारवटा कुरा भन्नसक्ने अवस्थामा हुनुहुन्न । त्यसैले विचारहीन, उद्देश्यहीन, सिद्धान्तहीन गठबन्धनका उम्मेदवारलाई जनताले मत दिने प्रश्न नै आउँदैन ।

जहाँसम्म एमालेका तर्फबाट रहेका युवा व्यक्तित्वको सवाल छ, उहाँ युवा हुनुहुन्छ । केही गर्ने जोसजाँगर छ । तर, ओलीवादको पार्टीमा हुनुहुन्छ । उहाँको पार्टीले जितेमा पनि ओली नै प्रधानमन्त्री हुने हो । जबकि दुई तिहाइको सरकार हुँदा शासन सञ्चालन गर्न नसक्ने ओलीको नेतृत्व एमालेमा कायम रहेसम्म संसद्मा उहाँको उपस्थितिले मकवानपुरका जनताको हितमा कुनै पनि गौरव गर्न लायकको कुनै काम गर्ने सामथ्र्यता राख्नुहुन्न । यस कुरालाई मकवानपुरे जनताले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले यस निर्वाचनमा आममतदाताले राप्रपालाई एकपटक अवसर दिनेमा म ढुक्क छु ।

अन्त्यमा, आममतदातालाई के भन्न चाहनुहुन्छ ?

निर्वाचन त एक प्रक्रिया मात्र हो । परिणाम राम्रो आउन मतदाताले नै विवेक प्रयोग गर्नुपर्ने हुन्छ । यिनै ठूला राजनीतिक दलका कारण हाल जन्मँदै प्रत्येक नेपाली जनता पच्चीस हजार ऋणको भारी बोक्न बाध्य छन् ।

आन्तरिक राजस्वले देशको साधारण खर्च धान्ने अवस्था छैन । व्यापारको सोधनान्तर घाटा वार्षिक बजेटभन्दा बढी छ । निर्यात करिब शून्यको अवस्था छ । देशमा खुलेका उद्योगधन्दा सबै बेचेर खाइसके । नयाँ उद्योगधन्दा खुल्ने र रोजगारी सिर्जना हुने अवस्था छैन । वैदशिक मुद्राको सञ्चिति घट्दो अवस्थामा छ ।

अब कुनै पनि बेला देश श्रीलंका बन्नसक्ने खतरालाई देख्दादेख्दै फेरि पनि बाँदरलाई मकै हेर्ने जिम्मा दिइन्छ, स्याललाई कुखुरा हेर्ने जिम्मा दिइन्छ, बिरालोलाई दूध हेर्ने जिम्मा दिइन्छ र बाघलाई बाख्रा हेर्ने जिम्मा दिइन्छ होला र ? विवेकशील मतदाताले पक्कै पनि विचार गर्नुहुन्छ । मतदाताको विवेकमा मलाई शंका छैन ।

१-कुनै पनि बेला देश श्रीलंका बन्नसक्ने खतरालाई देख्दादेख्दै फेरि पनि बाँदरलाई मकै हेर्ने जिम्मा दिइन्छ, स्याललाई कुखुरा हेर्ने जिम्मा दिइन्छ, बिरालोलाई दूध हेर्ने जिम्मा दिइन्छ र बाघलाई बाख्रा हेर्ने जिम्मा दिइन्छ होला र ? विवेकशील मतदाताले पक्कै पनि विचार गर्नुहुन्छ । मतदाताको विवेकमा मलाई शंका छैन ।

२-नेपाललाई विदेशी शक्तिको क्रिडास्थल बनाउने, समाजलाई जातीयता, क्षेत्रीयता, भाषा, धर्मका नाममा विभाजित गरी गृहयुद्धको अवस्था सिर्जना गर्ने, कानुनी शासनको मान्यतालाई उपहास गर्ने, आर्थिक अपराध गरी देशको अर्थतन्त्र धराशयी पार्ने विरुद्ध, राष्ट्र र राष्ट्रियता खतरामा परेको महसुस गरी यस्ता विकृति र विसंगतिविरुद्ध उम्मेदवारी दिएको हुँ ।

प्रतिक्रिया दिनुहोस्