संघीयता देशका लागि घाँडो भयो



राष्टिय प्रजातन्त्र पार्टीमा प्रवेशसँगै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका रवीन्द्र मिश्र उक्त राजनीतिक दलबाट आगामी मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पटक–पटक मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म भइसकेका र पार्टीको १४औं महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा प्रस्तुत भएका कांग्रेस नेता प्रकाशमान सिंहसँग चुनाव भिड्दै हुनुहुन्छ ।

आफैंले जन्माएको विवेकशिल साझा पार्टीलाई राप्रपासँग मिलाउने अभियान चलाएको भन्दै विवेकशिल साझा पार्टीको नेतृत्वबाट हटाइएका मिश्र अहिले हलो चुनाव चिह्न बोकेर जनतामाझ पुगिरहनुभएको छ । गत ०७४ को निर्वाचनमा संघीयतासहितको गणतन्त्रका पक्षमा मत मागेका मिश्रले यसपटक राप्रपाको एजेन्डा हिन्दू राज्यसहितको राजसंस्थाको वकालत गर्दै आउनुभएको छ । चुनावी अभियानकै क्रममा शंखमूलको एक कार्यक्रममा भेटिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार मिश्रसँग नेपाल समाचारपत्रका लागि जीवन शर्माले गर्नुभएको कुराकानुको सम्पादित अंश ।

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाले आगामी चुनाको अभियान कसरी चलाउँदै छ ?

हामी हाम्रो शुभेच्छुक, एक नम्बर क्षेत्रका मतदाता र यस क्षेत्रका आम नागरिकसँग व्यापकरूपमा अन्तक्र्रिया गरिरहेका छौं । जहाँ–जहाँ गएका छौं, त्यहाँ–त्यहाँ ठूलो साथ सहयोग, हौसला, स्नेह समर्थन र श्रद्धा पाएका छौं । हामीले ठाउँ–ठउँमा भेटघाट राख्ने आफ्ना एजेन्डा सुनाउने र उहाँहरुका सल्लाह सुझावसहितको कुराहरु सुन्ने, नागरिकबाट आएका जिज्ञाशालाई मेटाउने र राप्रपालाई मत हाल्न प्रेरित गर्ने गरिरहेका छौं । यस क्षेत्रमा धेरै अन्तक्र्रियाहरु ग¥यौं, उहाँहरु स्वस्फूर्तरूपमा कार्यक्रममा सहभागी भएर आफ्ना कुराहरु राख्ने र हाम्रो कुराहरु सुनेर सकारात्मक हौसला दिएर जानुहुन्छ । यो क्रम चलिनै रहेको छ ।

पाँच वर्षअघि तपाईं संघीय गणतन्त्र ठीक हो भनेर यही क्षेत्रका जनतामाझ गणतन्त्र र संघीयताको पक्षमा भोट माग्न तराजु लिएर आउनुभएको थियो । अहिले राजसंस्था ठीक हो, राजसंस्थासहितको हिन्दू राज्य चाहिन्छ भनेर आउनुभएको छ । पाँच वर्षभित्रै तपाईंका वैचारिक एजेन्डा द्वैद्धरूपमा देखिए । खासमा तपाईं अघिल्लोपटक गलत बाटोमा हुनुहुन्थ्यो या यसपटक ?

त्यतिखेर म गलत रहेछु भनेर अहिले यता लागेको हुँ । यो देशका लागि त्यस बेला मैले उठाएका एजेन्डा ठीक रहेनछ भनेर मैले ठूलो आँट गरेर, ठूलो खतरा मोलेर, आफैंले जन्माएको राजनीतिक दल विवेकशिल साझा पार्टीसमेत छाडेर राप्रपासँग मिलेको हुँ । त्यस कारणले हामीले अहिले राजतन्त्रको नभई राजसंस्थाको एजेन्डा उठाएका छौं । अभिभावकीय भूमिकामा राजसंस्था हुनुपर्छ भनेर भनेका छौं । त्यसलाई संविधानले बाँधौं संसद्ले बाँधौं, तर एउटा साझा संस्था राखौं भनेका छौं । जसले संकटका बेला यो देशलाई बचाउन सकोस् । संघीयता भनेको यो देशका लागि घाँडो हो । आर्थिकरूपले घाँडो हो, राजनीतिक रूपले र भूराजनीतिक रूपले समेत घाँडो हो । यसलाई खारेज गर्नुपर्छ । त्यसबाट बचेको पैसाले शिक्षा र स्वास्थ्ययमा खर्च गर्नुपर्छ भन्ने भनाइ हो ।

अहिले नेपालमा राजसंस्था पुनः स्थापनाको विषय कत्तिको सम्भव छ ?

अब यो त हेर्नुस् जनतमत संग्रह गर्ने हो भने मजाले पुनः स्थापना हुन्छ । तर, जनमत संग्रह गर्दा पार्टीको ह्विप चाहिँ लगाउन पाइँदैन । पार्टीको ह्विप लगाउने भनेको आवधिक निर्वाचनमा मात्र हो । तर, जनमत संग्रह भनेको हरेक जनतालाई स्वविवेक निर्णय गर्न दिएर र आफ्नो पार्टीको दायराभन्दा बाहिर रहेका भोट दिन सक्ने अधिकार हुन्छ । त्यसरी अहिले जनमत संग्रह गर्ने हो भने हिन्दू राज्य र राजसंस्थाका पक्षमा दुई तहाई बहुमत आउँछ ।

तपाईंले स्थापना गर्नुभएको विवेकशिल साझा पार्टी तहसनहस भयो । यसको जिम्मा कसले लिने ?

पहिलो कुरा पार्टी तहसनहस भएर सिद्धिएको छैन । साथीहरुले त्यो पार्टी चलायमान नै बनाइरहनुभएको छ । त्यही नबिग्रियोस् भनेर पार्टीभित्र जब वैचारिक ध्रुवीकरण भयो, त्यो ध्रुवीकरणमा मैले स्पष्टसँग भनेर हामीले उठाएका एजेन्डामा साथ दिने साथीहरु एक ठाउँमा ल्याउन प्रयास गरें । र, जो साथीहरुले मेरो एजेन्डामा साथ दिन चाहानुभउन उहाँहरुलाई सोही ठाउँमा रहेर पार्टी नेतृत्व गर्न छोडेको हो । त्यसो हुनाले पार्टी तहसनहस भएको छैन ।

तपाईंको आगमनले कतै राप्रपा पनि विवेकशिल साझा पार्टीकै हालतमा त पुग्दैन भन्ने संशय नागरिकमा उत्पन्न भएको छ । ती राप्रपाका शुभेच्छुकको चित्त कसरी बुझाउनुहुन्छ ?

राप्रपा भनेको ३०–३२ वर्ष पुरानो पार्टी हो । यो संस्थागत भइसकेको पार्टी हो । र यसको उच्चतहमा म भए पनि पार्टीकै नेतृत्वमा अरु नै हुनुहुन्छ म छैन । यसको नेतृत्वमा राजेन्द्र लिङ्देन हुनुहुन्छ । उहाँले अहिले पार्टी हाँकेर यहाँसम्म ल्याउनुभएको हो । उहाँहरु नेतृत्वमा आएपछि यो पार्टीमा ठूलो ऊर्जा पनि आएको छ । त्यस कारणले यो पार्टीमा भर्खर जोडिएका व्यक्तिले बिगार्ने भन्ने त कुरै आउँदैन । म त कुनै पनि हालतमा राप्रपाले अहिले गरिरहेको काममा होस्टेमा हैंसे गरेर राजनीतिक र आर्थिक रूपान्तरणको एजेन्डालाई कार्यान्वयन गर्नुपर्छ भनेर जोडिएको व्यक्ति हुँ ।

तपाईंलाई छोटो समयमा आफ्ना राजनीतिक एजेन्डा छोड्दै, परिवर्तन गर्दै जाने नेचरको व्यक्तिका रूपमा पनि कतिपयले चित्रण गर्न थालेका छन् । यो अस्थित राजनीतिले तपाईंलाई कहाँ पु-याउँछ ?

कतिचोटी फेरें मैले आफ्नो विचार ? एकचोटी फेरें होइन ? त्यो विचार मैले कुनै स्वार्थ भएर, कसैसँग साँठगाँठ भएर फेरेको हो र ? मेरो स्वविवेकले तपाईंको पुस्ताका लागि देशै बर्बाद हुन लाग्यो । यो देशलाई हरहिसाबले जोगाउनका लागि र यो देश तपाईंको पुस्ताका लागि रूपान्तरण गर्नका लागि मैले शुरुमा अंगिकार गरेको विचार ठीक छैन भनेर स्वविवेकबाट (कुनै स्वार्थले होइन) विचार परिवर्तन गरें । विचार परिवर्तन गरेपछि विचार मिल्नेसँग समायोजन गरें । के मैले ढाँटे ? फटाहा बोलें ? फटाहा बोल्ने नेताहरुलाई गएर सोध्नुस् न यो कुरा । म त ठीक ठाउँमा आइपुगेको छु ।

काठमाडौं–१ का नागरिकले तपाईंलाई नै भोट किन दिने ?

त्यो त स्पष्ट छ नि, हामीले जुन एजेन्डा बोकेका छौं, त्यो सामाजिक, राजनीतिक एजेन्डा बोकेका छौं । राजसंस्थाका बारेमा, संघीयता खारेजीका बारेमा धर्मनिरपेक्षता खारेजीका बारेमा जुन एजेन्डा बोकेका छौं, त्यो नै जनताको एजेन्डा हो । सँगसँगै देशको द्रुत आर्थिक रूपान्तरणको बाटोका बारेमा, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्य, सामाजिक सुरक्षाका कुरा र भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवाप्रवाहका बारेमा कुरा गरेका छौं । तीनै विषयहरुका आधारमा राप्रपालाई जनताले भोट दिनुपर्छ । यी विषयलाई कार्यान्वायन गर्न हामी साँच्चिकै इमानदारितार र क्षमताको धरतलमा यो देश र समाजको बुझाइको धरातलमा शिक्षाको धरातलमा, अन्तर्राष्ट्रिय, राष्ट्रिय राजनीतिक बुझेको छ कि छैन भन्ने धरातलमा राखेर हेर्दा हामीभन्दा अर्काे अब्बल उम्मेदवार हुन्छ भन्ने मलाई लाग्दैन । त्यस कारणले राष्ट्रियता जोगाउन, हिन्दू राज्यसहितको राजसंस्था स्थापना गर्न, देशको आर्थिक सामाजिक रूपान्तरण गर्न यहाँका जनताले मलाई भोट दिनुहुन्छ ।

चुनावी प्रचारका क्रममा आम नागरिकसँग पुग्दा उहाँहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ । र, तपाईंले चुनाव जित्ने आधार के हुन् ?

यस क्षेत्रका नागरिकसँग गरेको अन्तक्र्रिया एकदमै सकारात्मक छ । त्यस कारणले चुनाव जित्ने हाम्रो एउटा आधार एजेन्डा हो । दोस्रो आधार भनेको हाम्रो पृष्ठभूमि हो । तेस्रो आधार भनेको जनताले खोजेको परिवर्तनको चाहना हो । र, चौथो भनेको १५ वर्षदेखि यहाँ विकृतिको पुञ्ज बनेर जडकारूपमा बसेको छ । उनीबाट जसरी यो क्षेत्र ठगिएको छ, त्यो विकृतिको जडलाई संसद्मा योपटक प्रवेश गर्न नदिने हाम्रो योजना छ । हामीजस्तो योग्य क्षमतावान् र यो देश बनाउने प्रतिबद्धता बोकेका मान्छेहरु चाहिँ संसद्मा जानुपर्छ भन्ने मतदाताको धारणा मैले बुझेको छु । यिनै हुन् मेरो जित्ने आधार ।

१-अभिभावकीय भूमिकामा राजसंस्था हुनुपर्छ भनेर भनेका छौं । त्यसलाई संविधानले बाँधौं, संसद्ले बाँधौं, तर एउटा साझा संस्था राखौं भनेका छौं । जसले संकटका बेला यो देशलाई बचाउन सकोस् । संघीयता भनेको यो देशका लागि घाँडो हो । यसलाई खारेज गर्नुपर्छ ।

२- हामीजस्तो योग्य क्षमतावान् र यो देश बनाउने प्रतिबद्धता बोकेका मान्छेहरु चाहिँ संसद्मा जानुपर्छ भन्ने मतदाताको धारणा रहेकाले चुनाव जित्नेमा ढुक्क छु ।

प्रतिक्रिया दिनुहोस्