शर्माको तेस्रो परीक्षा अग्निसँग



भद्रपुर । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर १ का मतदाताले दुईपटकसम्म सांसद बनाएनन् । २०७० सालको संविधानसभाको दोस्रो चुनावमा शर्मा एमालेका रविन कोइरालासँग उहाँ पराजित हुनुुभयो भने २०७४ सालको प्रतिनिधिसभाको चुनावका एमाले–माओवादी वाम गठवन्धनका तर्फबाट माओवादी उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा शर्मा तेस्रोपटक एमाले स्थायी समितिका सदस्य अग्नि खरेलसँग प्रतिस्पर्धा गर्र्दै हुनहुन्छ । उहाँले तीनपटकमा प्रतिद्वन्द्वी पनि तीनैथरी पाउनुभएको छ । २०७० मा मेचीनगरका तत्कालीन मेयर रविन कोइरालासँग ६ सय ८९ मतले पराजित हुँदा २०७४ सालमा राम कार्कीसँग २ हजार ८ सय ८३ मतले पछि पर्नुभएको थियो । अहिले उहाँको प्रतिस्पर्धा एमालेकै तर नयाँ अनुहार अग्नि खरेलसँग हुँदै छ ।

२०७० सालको एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा शर्मा स्थानीय उम्मेदवार कोइरालासँग थोरै मतान्तरले हार्दा २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार कार्कीसँग मतान्तर केही फराकिलो भयो । तर, शर्माले झापा–१ मा समानुपातिकमा नेपाली कांग्रेस पार्टीले पाएको मतभन्दा मत धेरै पाए पनि उहाँ दोस्रोपटक पराजित हुनुभयो । २०७४ को एमाले र माओवादीको वाम गठबन्धन अहिले फुटेर कांग्रेस माओवादीको संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनमा परिणत भएको छ ।

झापा गौरादहका अग्नि खरेललाई एमालेले उम्मेदवार बनाउँदा उहाँलाई ‘टुरिस्ट’ उम्मेदवारको ट्याग लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता हुनुभएका खरेलको पहिलो रोजाई झापा क्षेत्र नम्बर २ थियो । तर, त्यहाँ एमाले प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेले टिकट पाएपछि उहाँ एकाएक क्षेत्र नं १ मा धकेलिनुभएको हो । एमालेले झापामा राप्रपासँग गठबन्धन गर्दा झापा–१ को प्रदेश ‘ख’ राप्रपाको भागमा परेकाले समीकरण बिग्रिएको बताइन्छ ।

स्मरणीय कुरा के छ भने झापा क्षेत्र नं १ को प्रदेश ‘ख’ बाट एमालेले विष्णु प्रसाईंको श्रीमती लता प्रसाईंलाई चुनाव नलडाएकाले कोइरालालाई धोका हुने एकथरी एमालेजनमा डर भएकाले कोइरालालाई प्रतिनिधिसभामा टिकट नदिएको चर्चा परिचर्चा हुने गरेको छ । २०७४ सालको स्थानीय तहको चुनावमा एमालेले विष्णु प्रसाईलाई मेचीनगरको मेयरमा चुनाव लड्दा कोइरालाको असहयोगले चुनाव हारेको आरोप कोइरालामाथि एमालेले लगाउँदै आएको छ ।

कोइरालालाई संघमा टिकट दिँदा एमाले पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउनका लागि लता प्रसाईंलाई प्रदेश ‘ख’ मा टिकट दिए बल्ल विष्णु प्रसाईंको साथ कोइरालाले पाउने एमालेजनको बुझाइ रहेको बताइन्छ । तर प्रदेश ‘ख’ राप्रपाले पाएपछि एकाएक खरेलको आगमन झापा क्षेत्र नं १ मा भएको अड्कल लगाइएको छ ।खरेलको आगमनले एमाले क्षेत्र नं १ मा एमालेलाई एकठिक्का पारेको घाटा शर्मालाई छ भने स्थानीय कोइरालाभन्दा अर्को क्षेत्रको मान्छे आएर लड्दा उम्मेदवारको मतदातासँग सम्बन्ध कम हुने फाइदा शर्मालाई हुने देखिन्छ । अहिले गठबन्धनबाट माओवादीको भोट आफूलाई आउने र एमाले फुटेको फाइदा पनि हुने हिसाब निकाल्दा अंक गणित आफूतिर भएको बुझाइ शर्माको छ । तर, उहाँलाई आफ्नै पार्टीभित्रको अन्तरघातको ठूलो डर पनि साथसाथै छ ।

स्थानीय तहको चुनावमा कांग्रेसमा आन्तरिक किचलोका कारण मेचीनगरको मेयर फराकिलो मतान्तरले पराजित भएको तात्तातो पीडालगत्तै उहाँ अर्को चुनावको संघारमा हुनुहुन्छ । झापा क्षेत्र नं ३ बाट चुनाव लडिरहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरबाट अन्तरघातको डर उहाँमा छ । सिटौला खेमा परिवर्तन गरी राजनीतिक स्वार्थ पूरा गर्न आफ्नो खेमामा आएकाहरु मित्र भएर आएका छन् कि बैरी भएर आएका छन् भन्ने अर्को त्रास पनि शर्मामा विद्यमान छ ।

राप्रपासँग गठबन्धन गरी चुनावमा होमिएको एमालेले २०७४ सालको चुनावपछि थपिएका नयाँ मतदाता आफ्नो पक्षको बढी रहेको दाबी गरेको छ । एमालेको दाबीलाई स्थानीय तहको चुनावमा मेचीनगरमा एक्लै प्रतिस्पर्धा गर्दा पनि एमालेले पाएको मतले केही हदसम्म पुष्टि पनि गरेको देखिन्छ । २०७४ सालको स्थानीय तहको चुनावमा एक्लै लड्दा मेयर जितेको कांग्रेसले २०७९ सालको चुनावमा माओवादीको साथ पाउँदा पनि लज्जास्पद हार व्यहोरेको थियो ।

झापामा बसाइँसराइ गरी आउनेहरू अधिकांश इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, तेह्रथुम, भोजपुरलगायतका जिल्लाबाट आउने र ती जिल्लाहरू एमाले जनाधार बलियो भएका जिल्ला मानिन्छन् । यसले पनि कांग्रेस महामन्त्री शर्माको अंकगणित हलउन्मुख हुन सकेको देखिँदैन । मुख्य गरेर झापा कांग्रेसको कार्यवाहक सभापति समेत बनेका कृष्णप्रसाद सिटौलाका विश्वास पात्र केशवराज पाण्डे र उनका समूह स्थानीय तहको चुनावमा जस्तै गरी भिलेन बन्दिने हुन् कि भन्ने सर्वाधिक डरको सामना गरिरहेका शर्मालाई समग्रतामा २०७४ सालको प्रतिस्पर्धा भन्दा सहज अवस्थामा रहेको आँकलन भने जतासुकै छ ।

झापा क्षेत्र नं ५ मा विकास र समृद्धिको हिसाबले राजनीतिक हाइप्रोफाइल व्यक्तित्व एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउँदा समग्रतामा आम जनताले विकासको अवसर बढी पाएझैं विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री र कांग्रेसको भावी पार्टी सभापतिको प्रचुर सम्भावना भएको नेता भएकाले चुनाव जिते ठूलो बजेट झापा क्षेत्र नं १ को विकासमा पार्नसक्ने र त्यसको फाइदा सम्पूर्ण मतदाताले पाउने हुँदा शर्मालाई एमाले र राप्रपाको ठूलो मत क्रस हुनसक्ने आधारहरु पनि उत्तिकै देखिन्छ ।झापा क्षेत्र नं १ मा मेचीनगरका १५ वडा बुद्धशान्तिका ४, ५, ६, ७ र भद्रपुरका ९ र १० गरी २१ वडाहरूमा कुल १ लाख २० हजार ३ सय ७५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्