निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे



काठमाडौं । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ ।

निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो ।निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ । आयोगले मंगलबार आचारसंहिता उल्लंघन गर्ने विभिन्न पक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उम्मेदवार जोशीले पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको थियो ।कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोसिस गरेको भन्नेसमेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ ।आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।

उपरोक्त कानुनी व्यवस्था अनुसार तपाईंबाट भएको भनिएको विद्यालयमा कपी कलम वितरण गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको स्पष्टीकरणमा भनिएको छ । ‘तपाईंबाट कपी कलम वितरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट उक्त कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा प्रष्ट पार्न भनिएको छ ।

साथै यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । आयोगले सोही माविका प्रधानाध्यापकलाई पनि स्पष्टीकरण सोधेको थियो ।
त्यसै गरी आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक संलग्नताका विषयमा स्पष्टीकरण सोधेको थियो ।

शिक्षक तिवारीलाई नेपाली कांग्रेसको नवलपुर क्षेत्र नं. २(२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली कांग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेको उजुरी परेको थियो । त्यसै गरी पर्वतको कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

पर्वतकै जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागिएको छ । कुश्मा नगरपालिका वडा नं ९ का अध्यक्ष रामशर्मा भूमि आयोग पवर्तका अध्यक्ष उदय सुवेदीलाई स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्