यस्तो छ तिहारको सांस्कृतिक तथा पौराणिक महत्व



हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदै छौं । हिन्दू धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोवर्धन पूजा वा गोरुतिहार भनिन्छ । यस दिन गोवर्धन पर्वत र गोरुको पूजा गरिन्छ । अन्तिम दिन भाइटीका हो । यसपटक हामीले तिहारको महत्व र पाँच दिन के–के गरिन्छ भनेर केलाउने प्रयास गरेका छौं ।

के हो तिहार ?

पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । तिहारको पहिलो दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाड हो तिहार ।
पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।
यसरी रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस्, दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि छर्लंग पार्दछ ।

काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी कागतिहार मनाउने गरिन्छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रियभक्त पनि हो । त्यसैले यस दिन कागको पूजा गरी कागतिहार मनाउने गरिएको धार्मिक विश्वास छ ।

कुकुर तिहार

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक जनावरको रुपमा लिइन्छ । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा पनि हिजोआज कुकुरको प्रयोग गरिन्छ । कुकुरले घरको रेखदेख तथा चोरडाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसै गरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचनासमेत कुकुरले दिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई पूजा गरी मनाउँछौं ।
गाईतिहार-लक्ष्मीपूजा

गाई नेपालको राष्ट्रिय जनावर हो । यति मात्र होइन गाईलाई देवीका रुपमा पनि पुज्ने गरिन्छ । गाईको गहुँत र गोबर पनि हिन्दूधर्ममा पवित्र छ । यसर्थ पनि तिहारमा गाईको पूजा गरिएको हो । गाईलाई लक्ष्मीको प्रतीक मानिन्छ । गाईपूजा र लक्ष्मीपूजा एकैदिन मनाइन्छ । यसदिन साँझमा घरघरमा दीपावली गरिन्छ भने बेलुका भैलो खेल्ने गरिन्छ ।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठाचोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूपमा पनि मान्छन् । कार्तिककृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले छोपिदिने विश्वासका साथ घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिने गरिएको हो ।

अर्को एक भनाइ अनुसार यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुशी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो । यस्तै सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिककृष्ण औंसीका दिन माता लक्ष्मीको विशेषरूपमा पूजाआजा तिहारको तेस्रो दिनको विशेषता हो ।

गोरु तिहार

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा तिहारको चौथो दिन मनाइन्छ । पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहरनजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्थे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी पनि हुन्छन् । उनीहरु गोवर्धन पर्वतको पूजा पनि गर्छन् ।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराउँछन् । भगवान् कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानी इन्द्रले गल्तीको लागि कृष्णसमक्ष क्षमा माग्छन् । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । त्यस दिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसै दिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् । यस दिन बेलुका घरघरमा देउसी खेल्ने परम्परा छ ।

भाइटीका

भाइतिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने गरिन्छ । बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गरी आफ्ना दिदीबहिनी र दाजुभाइको सुख, समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गरिन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा भाइटीकालाई लिइन्छ ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लावाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन भने सयपत्री फूलको रंग कहिल्यै उडेर जाँदैन । दूबो लामो आयुको प्रतीक हो । यश, आरोग्य र दीर्घायुको कामना गर्दै निधारमा लगाइने सप्तरंगी टीकाको पनि त्यत्तिकै महत्व छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् ।

यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरी टीका लगाउने चलन पनि छ । यसरी तिहारका ५ दिन रमाइलो गरी मनाउने गरिन्छ । तिहारले हाम्रो सांस्कृतिक महत्व बचाइराखेको छ ।

प्रतिक्रिया दिनुहोस्