लमजुङमा चुनावी चहलपहल राजनीतिक दल मतदाताको घरदैलोमा



लमजुङ।

आसन्न प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरे संगै राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुगेका छन् । मंसिर चार गते हुने प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनको तयारी संगै राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । राजनीतिक दलहरुले चुनाव चिन्ह प्राप्त गरे लगातै निर्वाचन केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन् ।

प्राय सुनसान रहने गाउँबस्तीहरु यतिबेला निर्वाचन केन्द्रित भएर नेता तथा कार्यकर्ताहरु पुगेसँगै गाउँघरको रौनक चुनावमय बनेको हो । आगामी मसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरु कार्यकर्तासहित गाउँगाउँ पस्न थालेपछि शहरबजार सँगै गाउँघरमा पनि चुनावी माहोल तातेको हो ।

दशै तथा तिहारको रौनकसँगै चुनावी चहलपहलका कारण गाउँघरको शुन्यता केहि समयका लागि हटेको छ । विभिन्न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारहरुको घरदैलो भेटघाटसँगै विभिन्न प्रकृतिमा आयोजना गरीएका कार्यक्रमहरुले चाड पर्व जस्तै रौनक दिएको ग्रामिण भेगका स्थानियले बताएका छन् ।

जिल्लामा क्रियाशिल राजनितिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले चुनावी अभियानलाई तिव्रता दिएका हुन् । निर्वाचन आयोगले कार्तिक १७ अघि चुनावी सभा सम्मेलन नगर्न निर्देशन दिएपनि राजनितिक दल तथा उम्मेदवारहरुले मतदाता भेटघाटको बहानामा विभिन्न कार्यक्रम आयोजना गर्दैै आएका छन् । सो पार्टीहरुले विभिन्न टोल बस्तीहरुमा पुगेर मतदाता भेटघाट र छलफललाई व्यापक बनाएका छन् ।

साविक समय शहर बजारमा बस्नेहरु पनि यतिबेला चुनाव लक्षित गरेर गाउँ फर्किएका छन् । अध्ययन र रोजगारका लागि गाउँ बाहिर रहेकामाध्ये विभिन्न राजनितिक दलमा आस्था राख्ने कार्यकर्ताहरु गाउँ फर्किएर आँफु सम्वद्ध पार्टीको पक्षमा मत माग्न उम्मेदारसँगै घरदैलोमा व्यस्त भएका छन् ।

चुनावी अभियानलाई तिब्रता दिदै राजनितिक दलहरुलेजिल्ला तथा नगर स्तरीय भेला, शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरु आयोजना गरी जनसम्पर्क बढाउन थालेका छन् । पार्टीका भेलाहरुले आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको परिणाम आँफु अनुकुल बनाउने विषयलाई प्राथमिकतामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्