राजनीतिक दल र उम्मेदवारलाई आयोगको सातबुँदे निर्देशन



काठमाडौं ।

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बताउनुभयो ।

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तिहरूबाट निर्वाचन प्रचारप्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्नेलगायतका कार्य भएको पाइएकोलाई मध्यनजर गरी सो निर्देशन दिइएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न बाहेक आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । साथै प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने पनि उल्लेख छ ।

सो प्रावधानविपरीत कार्यहरू भइरहेको विषयमा उजुरी परेपछि आयोगले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचारप्रसार गर्ने, प्रचारप्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्न निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ– ‘सरकारी कामको सिलसिलामा यात्रा गर्दाबाहेक निर्वाचन प्रचारप्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदासमेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचारप्रसार गर्न जाँदासमेत उल्लिखित व्यवस्थाको पालना गर्ने ।’

प्रतिक्रिया दिनुहोस्